सुदूरपश्चिममा आज ओल्के पर्व (त्यार) मनाइदै

सुदूरपश्चिममा आज ओल्के पर्व (त्यार) मनाइदै

अर्थ चौतारी

सुदूरपश्चिममा आज ओल्के पर्व (त्यार) मनाइदै

A A- A+

धनगढीः सुदूरपश्चिममा आज ओल्के पर्व मनाइदैछ। काँक्रा, भाण्टा, मुला, दही, पिँडालुका पात र हरियो सागपात आफन्तजनलाई बाँडेर सुदुरपश्चिममा ओल्के पर्व उल्लासपूर्वक मनाइँदैछ।

साउन मसान्तसँगै सुदुरपश्चिममा ओल्के पर्वको रमझम सुरु हुन्छ। साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा सुदुरका पहाडि जिल्लामा ओल्के पर्व मनाउने चलन छ। साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्वका साथ ओल्के पर्व मनाइने परम्परा रहिआएको छ।

यसलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भनिन्छ। यसरी बनाइएको थुप्रोलाई असोज संक्रान्तिका साँझ गाउँका सबै जना ‘बूढी हालेको’ भेला भएर पोल्ने गर्छन। यसलाई ‘बूढी पोल्ने’ भनिन्छ। बूढी पोल्ने काम सकिएसँगै गाउँमा अनिष्ट एवं कुनै रोगको महामारी नआउने विश्वास पनि कतिपय समुदायको छ।

ओल्केको दिन डोटेली संस्कृतिमा फाँणो भात, गतानी डुब्का, भक्के रोटो खाने र रमाइलो गरी नाचगान गर्ने प्रचलन पनि रहेको छ । समग्रमा आसुरी (राक्षसी) प्रवृतिको विनास गरी सत्यको पक्ष स्वीकार गर्ने चलनको रुपमा सुदूरपश्चिमका पहाडी समुदायले ओल्के त्यार मनाउँदै आएको जोशीले बताउनुभयो ।

यो पर्वको दिन गाउँ नजिकै चौबाटोमा गइ सल्लाको लिङ्गो समेत गाँड्ने गरिन्छ । जसलाई बूढी हाल्ने भनिन्छ । ओल्केको दिन गाडिएको लिङ्गो कतै भाद्र मसान्त र कतै असोज १ गते जलाउने चलन छ । भदौ मसान्तमा जलाउने लिङ्गोलाई ‘बूढी पोल्ने’ भन्ने गरिन्छ । विगतमा वर्षा याममा दादुरा, झाडापखाला, लुतो, हैजा जस्ता रोग लाग्ने भएकाले त्यस्ता रोगबाट बाँचिएको खुशी साट्न ओल्के त्यार मनाउँदै आएको बताइएको छ ।

पौराणिक किंबदन्ती अनुसार यस पर्वमा बूढी अर्थात राक्षसी पुतनालाई भगवान श्रीकृष्णले मारेपछि उहाँका साथीहरु (ग्वालाहरु) ले पुतनाको शव दहन गरेको मान्यता अनुसार बूढी पोल्ने गरिन्छ । ओल्के पर्वलाई विभिन्न किसिमले मनाइने गरिए पनि यसको मूल सन्देश आपसी मित्रता र भाइचाराको गाँठो बलियो पार्नु रहेको कैलाली जनपुस्तकालयका अध्यक्ष डा. टीएन जोशीले उल्लेख गर्नुभयो ।

ओल्के प्रत्येक वर्ष सिंहसङ्क्रान्ति अर्थात भाद्र सङ्क्रान्तिका दिन मनाइने पर्व रहेको प्राध्यापक डा. जयराज पन्तद्वारा लिखित लेखमा उल्लेख छ । यो पर्व विशेषतः तल्लो वर्गका मान्छेका पर्व रहेको उहाँको ठहर छ । सबभन्दा तल्लो जात र वर्ग यो पर्वमा निकै उत्साहित देखिने गरेको उहाँको लेखमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?