अभिनय कार्यशाला सम्पन्न

अभिनय कार्यशाला सम्पन्न

अर्थ चौतारी

अभिनय कार्यशाला सम्पन्न

A A- A+

काठमाडौँ: नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सहकार्य र राईटर्स इन्टरनेशनल ग्लोबल कमिटीको आयोजनामा सञ्चालित १५ दिने अभिनय कार्यशाला असार १५ गते आइतबार सम्पन्न भएको छ। श्री फिक्कल नमुना मा.वि.मा सञ्चालित उक्त कार्यशालाको समापन समारोह प्रज्ञा–प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलको प्रमुख आतिथ्यमा भएको थियो। विद्यालयका प्रधानाध्यापक गंगा महतको अध्यक्षतामा सम्पन्न समारोहमा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र पनि वितरण गरियो।

कुलपति पोखरेलले अभिनयसम्बन्धी कार्यशालाका लागि सहकार्य गर्ने अवसर पाएकोमा आयोजकप्रति धन्यवाद व्यक्त गर्दै कार्यशालाबाट सिकेको ज्ञान र कलालाई सदुपयोग गरेर नाट्य विधामा अगाडि बढ्नका लागि प्रशिक्षार्थीहरूलाई शुभकामना दिनुभयो। उहाँले दुई हप्तासम्म सिकेको आधारभूत ज्ञानले भविष्यमा नाट्य विधामा अगाडि बढ्नका लागि प्रशिक्षार्थीहरूलाई उचित मार्गदर्शन हुने विचार पनि व्यक्त गर्नुभयो। कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ नाट्य निर्देशक सुनील पोखरेलले विद्यार्थी जीवनमै अभिनय कार्यशाला सिक्ने अवसर पाएका प्रशिक्षार्थीहरूले अभिनय विधालाई निरन्तरता दिए भविष्यमा ठूलो सफलता पाउन सक्ने भन्दै त्यो सम्भावनालाई साकार पार्न शुभकामना दिनुभयो। राईटर्स इन्टरनेशनल ग्लोबल कमिटीका स्थानीय संयोजक सुजन नेपालले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वरिष्ठ कवि बिमल वैद्य, सुमन पोखरेल र थुप्रै स्थानीय व्यक्तित्वको उपस्थिति थियो।

कार्यशालाका प्रमुख प्रशिक्षक नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य पुरू लम्साल रहनुभएको थियो। प्राज्ञ लम्सालले कार्यशाला रमाइलो र फलदायी रहेको अनुभव सुनाउँदै पन्ध्र दिनको कार्यशाला पर्याप्त नभए पनि अभिनयमा रुचि राख्नेहरूका लागि सिकाइको महत्त्वपूर्ण अवधि रहेको दाबी गर्नुभयो। कार्यशालामा कक्षा ६ देखि १० सम्मका २६ जना विद्यार्थीले सहभागिता जनाएका थिए। असार १ गते सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गाबहादुर बरालले उद्घाटन गर्नुभएको कार्यशाला समापनका क्रममा कार्यशाला अवधिमै तयार पारिएको नाटक ‘समयको मूल्य’ समेत मञ्चन गरियो। समापन समारोहका अध्यक्ष श्री फिक्कल नमुना मा.वि.का प्रधानाध्यापक गंगा महतले कार्यशाला आयोजना गर्न आफ्नो विद्यालयलाई छनोट गरिएकोमा आयोजक र प्रज्ञा–प्रतिष्ठानप्रति धन्यवाद व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?