धनराजमाथि अनुसन्धान गर्ने/नगर्ने विषयमा कांग्रेसभित्र दुईधार

धनराजमाथि अनुसन्धान गर्ने/नगर्ने विषयमा कांग्रेसभित्र दुईधार

अर्थ चौतारी

धनराजमाथि अनुसन्धान गर्ने/नगर्ने विषयमा कांग्रेसभित्र दुईधार

A A- A+

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि लागेको सहकारी ठगीबारे छानबिन गर्ने कि नगर्ने भन्नेमा पार्टीभित्र दुईधार देखिएको छ ।

ललितपुरको मितेरी सहकारीमा गुरुङकी श्रीमती ज्योति महाप्रवन्धक रहेकी थिईन् । उनी सञ्चालक रहेको सो सहकारीले बचतर्काको १५ करोडभन्दा धेरै रकम अपचलन गरेको सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन समितिले सो सहकारीले गरेको हिनामिनाबारे कांग्रेस उपसभापति गुरुङमाथि छानबिन गर्न सरकारलाई सिफारिस गरेको थियो । यद्यपी गुरुङले आफूले ४ वर्षअघिनै सम्बन्ध विच्छेद्ध गरेको दाबी गर्दै आएका छन् ।

सहकारीको झमेलाबाट उम्किन नक्कली डिभोर्स गरेको आरोप गुरुङमाथि लागेको छ । प्रश्न उठेपछि गुरुङले २०७६ फागुन २९ गते श्रीमती ज्योति गुरुङसँग डिभोर्स गरेको प्रतिनिधिसभाको बैठकमै बताएका थिए । गुरुङले संसदीय छानबिन समिति फेस गर्न पनि तयार रहेको बताएका थिए ।

‘वर्षौंदेखि सम्बन्ध बिग्रिएपछि २०७६ फागुन २९ गते सम्बन्धविच्छेद भयो । तर, यसलाई एक सांसदले नक्कली भनेर भन्नुभयो । माननीय सदस्यले भनेकोजस्तो नक्कली प्रमाणित गर्न चुनौती दिन्छु,’ धनराजले भदौ २५ गतेको प्रतिनिधिसभा बैठकमा भनेका थिए, ‘नक्कली कुरा गर्नेले अर्कोलाई नक्कली देख्ने हो । घरपरिवारमा दरार आएपछि १० वर्षीय बच्चालाई हुर्काउनुको पीडा म आफैंसँग छ । डिभोर्स भएपछि पूर्व श्रीमतीको जानकारी हुने कुरै भएन ।’

यता गुरुङमाथि थप अनुसन्धान गर्नुपर्ने आवाज उठ्दै जाँदा कांग्रेसको एउटा पक्ष भने तत्काल प्रक्रिया अघि नबढाउने पक्षमा देखिएको छ । कांग्रेसको संस्थापन इत्तर समूहका केही नेताहरु गुरुङको पक्षमा देखिएका छन् । धनराजलाई संस्थापन इत्तर समूहको नेतृत्व गरिरहेका सांसद शेखर कोइराला लगायतले साथ दिएका छन् ।

तर, गुरुङबारे पछिल्ला विवरण र समाचार आएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समेत दोषी भए कारबाही भोग्न तयार हुनुपर्ने बताइरहेका छन् ।

‘हाम्रो उपसभापतिबारे पनि प्रश्न उठेका छन्, उठ्छन् । उहाँ आफैंले पनि बोल्नुभएको छ । छानबिन होस् भन्नुभएको छ । समितिले पनि छानबिन गरेको छ । उहाँको विषयमा पनि थप अनुसन्धान गर भनेको छ,’ सभापति देउवा समेत उपस्थित कार्यक्रममा थापाले गत बुधबार भनेका थिए, ‘सरकारले थप अनुसन्धान गर्नुपर्छ । हामी दोषी उम्कन हुँदैन र निर्दोष फस्न हुँदैन भन्नेमा छौं ।’

लगत्तै महामन्त्री शर्माले पनि उपसभापतिमाथि छानबिन हुनुपर्ने र दोषी भए कारबाही भोग्नुपर्ने बताए । ‘हाम्रो उपसभापतिमाथि छानबिनको प्रक्रिया शुरू भएको छ । त्यो प्रक्रिया अवरुद्ध गर्न कांग्रेस कहीँ लागेन । कहीँ निर्णय गरेन । कहीँ दबाब दिएन । आज सीआईबीले छानबिन प्रक्रिया शुरू गरेको छ,’ शर्माले शनिबार झापा–काठमाडौं सम्पर्क समितिको कार्यक्रममा भने, ‘धनराज गुरुङमाथि छानबिन गर्दा निर्दोष देखिनुहुन्छ भने माला लगाउनुहुन्छ, कांग्रेसको नेतृत्व गरेर अगाडि जानुहुन्छ । दोषी देखिनुहुन्छ भने जेल जानुहुन्छ ।’

छानबिन समितिले दिएको सुझावको आधारमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी आइतबार पक्राउ परेका छन् । सोही प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई पनि पक्राउ गर्ने प्रहरीको तयारी छ। यस्तोमा गुरुङमाथि पनि कारबाही हुनुपर्ने आवाज अझै जोडतोडले उठ्न थालेको छ । सत्तारुढ दलका प्रभावशाली नेता भएकै कारण धनराजलाई उन्मुक्ति दिन नहुने आवाज उठिरहँदा कांग्रेसबाटै गृहमन्त्री रहेका रमेश लेखकले यसबारे कस्तो कदम चाल्छन् त्यो भने हेर्न बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?