समाज रुपान्तरणमा महिला कलाकर्मीको भूमिकामाथि गहन विमर्श सम्पन्न

समाज रुपान्तरणमा महिला कलाकर्मीको भूमिकामाथि गहन विमर्श सम्पन्न

अर्थ चौतारी

समाज रुपान्तरणमा महिला कलाकर्मीको भूमिकामाथि गहन विमर्श सम्पन्न

A A- A+

काठमाडौँ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आज 'समाज रुपान्तरणमा सङ्गीत, नृत्य र नाट्यकर्मी महिला' विषयक अन्तर्क्रिया तथा गोष्ठी कार्यक्रम आयोजना गरेको छ। नक्सालस्थित प्रतिष्ठानको सभाकक्षमा आयोजित उक्त कार्यक्रमको समुद्घाटन सङ्घीय संसद्का माननीय उपसभामुख इन्दिरा रानाले पानसमा दीप प्रज्ज्वलन गरी गर्नुभएको थियो। कार्यक्रममा सङ्गीत, नृत्य र नाट्य क्षेत्रका महिलाहरूको समाज रुपान्तरणमा रहेको भूमिकाबारे तीन महत्त्वपूर्ण कार्यपत्र प्रस्तुत गरिए। कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले नेपालको सामाजिक रुपान्तरणमा महिला कलाकर्मी र पुरुषको बराबरी योगदान रहेको बताउनुभयो। उहाँले नेपालका सबै खाले परिवर्तनमा नेपाली महिलाको निर्णायक सहभागिता रहेको चर्चा गर्दै, कुनै समय महिलाले नाच्न र हाँस्न नहुने अवस्थालाई महिला कलाकर्मीको निरन्तर योगदानले परिवर्तन गरेको स्पष्ट पार्नुभयो।

महिला कलाकर्मीले कलाका माध्यममार्फत चेतना जगाई सामाजिक रुपान्तरणमा अघि बढ्नुपर्ने र त्यसका लागि एक्लै नभई सँगसँगै यात्रा गर्नुपर्ने विचार पनि उहाँले व्यक्त गर्नुभयो। कार्यक्रमका विशेष अतिथि प्रतिनिधि सभा सदस्य पूर्ण घर्तीले अन्तर्क्रियाले विचार संश्लेषणसँगै इतिहासको अभिलेखीकरण समेत हुने भन्दै खुसी व्यक्त गर्नुभयो। उहाँले हरेक राजनीतिक आन्दोलनको उठान, सञ्चालन र बैठानमा कलाकर्मीको अत्यन्तै ठूलो योगदान रहेको इतिहास मेट्न खोजे पनि, कुनै पनि दिन सचेतताका साथ उत्खनन भएरै छाड्ने बताउनुभयो। कार्यक्रमका परिकल्पनाकार तथा संयोजक, प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव कुश्मा महरा ‘प्रगति’ले समाज रुपान्तरणमा भूमिका खेलेका संस्कृतिकर्मीको सम्मान, खोज र उचित मूल्याङ्कन हुनुपर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

स्वागत मन्तव्य राख्ने क्रममा नृत्य विभाग प्रमुख प्राज्ञ बखतबहादुर हमालले प्रज्ञा–प्रतिष्ठानले अन्तर्क्रियामा प्रस्तुत कार्यपत्र र टिप्पणीलाई पुँजीका रूपमा ग्रहण गर्दै अघि बढ्ने बताउनुभयो। गोष्ठीमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिए। डा. विन्दु शर्माले ‘समाज रुपान्तरणमा नाट्यकर्मी महिलाको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो। उहाँले मुक्तिको आकाङ्क्षाबिना नाटकमा प्रस्तुत महिलाको सक्रियता जमिनबिनाको उडानजस्तो बन्ने धारणा राख्नुभयो। वर्गीय, जातीय, लैङ्गिक, क्षेत्रीयलगायतका विभेदप्रति प्रतिरोधी एवम् कलाचिन्तनमा सचेत बनेर महिला नाट्यकर्मी अघि बढे नेपाली नाटकमा महिलाको आयाम अझै विविधतामय र भविष्य झन् सुन्दर हुने उहाँले विचार व्यक्त गर्नुभयो। उहाँको कार्यपत्रमाथि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. अशोक थापाले टिप्पणी गर्दै, नेपाली नाटकमा अन्य भाषाभाषी र आदिवासीका लोकनाटकलाई समेट्नुपर्ने तथा नेपालका राजनीतिक परिवर्तनले नाट्यकला र महिलामा पारेको प्रभावलाई गहिरो रुपमा विश्लेषण गर्नुपर्ने सुझाव दिनुभयो। यसैगरी, कल्पना राजचल श्रेष्ठले नृत्यकर्मी महिलाले समाज रुपान्तरणमा पारेको प्रभावबारे कार्यपत्र प्रस्तुत गर्नुभयो। उहाँले वि.सं. २००७ सालको राजनीतिक परिवर्तनपछि समाजको समग्र परिवर्तन र रुपान्तरणमा लैङ्गिक विभेदको विमर्श सुरु भएको उल्लेख गर्नुभयो। २०४६ सालको खुला राजनीतिक वातावरणपछि सांस्कृतिक आन्दोलन र विभिन्न सञ्चार माध्यममा महिला नृत्यकर्मीको संलग्नता बढ्दै गएको र अहिले नेपाली समाजले नृत्यकर्मी महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन देखिएको तर त्यो पर्याप्त नभएको उहाँले बताउनुभयो।

कार्यपत्रउपर नृत्यविज्ञ डा. लोकनाथ दुलालले टिप्पणी गर्दै, कार्यपत्र वैज्ञानिक र अनुसन्धान प्रणालीमा आधारित हुनुपर्ने र नृत्यकर्मी महिलाले समतामूलक समाज निर्माण, समावेशी प्रतिनिधित्व, निर्णय प्रक्रियामा सहभागिता, आर्थिक, शैक्षिक सशक्तीकरण र राजनीतिक सहभागिता आदि क्षेत्रमा के कस्तो भूमिका पुर्याउन सके, त्यसलाई पहिल्याउनुपर्ने सुझाव दिनुभयो। वरिष्ठ गायिका सिता आचार्यले सङ्गीतकर्मी महिलाको भूमिकाबारे कार्यपत्र प्रस्तुत गर्नुभयो। उहाँले नेपाली सङ्गीतकर्मीको समग्र प्रवृत्ति तीनवटा धारा पुँजीवादी, सुधारवादी र प्रगतिशील/प्रगतिवादी धारामा आधारित रहेको निष्कर्ष निकाल्दै, प्रगतिशील/प्रगतिवादी धाराका महिला सङ्गीतकर्मीको समाज रुपान्तरणमा ठूलो भूमिका रहेको दाबी गर्नुभयो। सशस्त्र जनयुद्धकालमा आफैँ पनि सांस्कृतिक मोर्चामा सक्रिय सहभागी गायिका आचार्यले नेपाली सङ्गीतको विकासक्रमको सविस्तार व्याख्या गर्दै समाज रुपान्तरणमा हिँडेका थुप्रै संस्कृतिकर्मी महिलाले जीवन आहुति दिएको तथ्यलाई बिर्सन नहुने जिकिर गर्नुभयो।

संस्कृतिकर्मी हेमराज आश्रमले कार्यपत्र प्रगतिवादी दृष्टिकोणबाट लेखिनु राम्रो भए पनि निष्पक्षतामा प्रश्न उठ्न सक्ने विचार व्यक्त गर्नुभयो। कार्यपत्रमाथि नृत्यविद् भावना कार्की, नाट्यविद् प्रवीण पुमा, विक्रम मैनाली, जनसांस्कृतिक महासङ्घका अध्यक्ष भीम कुमाखी, वरिष्ठ नाट्य निर्देशक वीरेन्द्र हमाल, नाट्यकलाकार रिमा रिमाललगायतले महत्त्वपूर्ण सुझाव दिएका थिए। कार्यक्रमका अध्यक्ष तथा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भू राईले सबैको सहयोगले अन्तर्क्रिया अत्यन्त फलदायी भएको भन्दै कार्यपत्र प्रस्तोता, टिप्पणीकर्ता, सुझाव दिने विज्ञ व्यक्ति र सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?