साफ यू–२० च्याम्पियनसिप फुटबल : भारत समूह विजेता, नेपालको प्रतिद्वन्द्वी भुटान

साफ यू–२० च्याम्पियनसिप फुटबल : भारत समूह विजेता, नेपालको प्रतिद्वन्द्वी भुटान

अर्थ चौतारी

साफ यू–२० च्याम्पियनसिप फुटबल : भारत समूह विजेता, नेपालको ...

A A- A+

काठमाडौँ — भारतलाई डर थियो, कतै माल्दिभ्सको जितसँगै आफू बाहिरिने त होइन ? साफ यू–२० च्याम्पियनसिप फुटबलको सेमिफाइनल पुग्न भारतलाई बराबरी नै पर्याप्त थियो । यी दुई फरक परिस्थितिको त्यतिबेला अन्त्य भयो, जतिबेला शुक्रबार खेलमा केही सेकेन्डमात्रै बाँकी थियो । पूरा खेल अवधिमा भारतले सुरुदेखि अन्त्यसम्म आक्रमणको शृंखला नै चलाएको थियो । तर गोल निस्कियो दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा ।

मंग्लेनथान किपगेनले माल्दिभ्सको पेनाल्टी एरियाको ठीक बाहिरबाट गरेको शक्तिशाली प्रहार निर्णायक गोलमा परिणत भएको थियो । यससँगै लिग चरणको सबै खेलमात्र सकिएको होइन, सेमिफाइनल समीकरण पनि पूरा भएको छ । भारत समूह ‘बी’ को विजेता रह्यो । दुई लगातार जितबाट टोलीको ६ अंक भएको छ । भुटान भने एक जितबाट ३ अंकसहित दोस्रोमा रह्यो । माल्दिभ्सविना कुनै अंक पुछारमा रह्यो ।

अब आइतबार हुने पहिलो सेमिफाइनलमा नेपालले भुटानको सामना गर्नेछ । भारतले भने बंगलादेशविरुद्ध खेल्नेछ । लिग चरण समाप्तिमा माल्दिभ्ससँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिने अर्को टिम रह्यो । त्यस अर्थमा सेमिफाइनलमा तिनै टिम पुगेका छन्, जसले यो बाटो तय गर्ने अपेक्षा गरिएको थियो । अब एक दिनको विश्रामपछि नकआउट चरणका खेल हुनेछन् । प्रतियोगिताको स्वाद र प्रवृत्ति दुवै फेरिने छन् ।

‘सेमिफाइनल पुगेका चारै टिम राम्रा छन् । यी टिमले राम्रो खेलेको हुनाले नै सेमिफाइनल पुगे । अब हाम्रो ध्यान बंगलादेशविरुद्धको सेमिफाइनलमा केन्द्रित हुनेछ । बंगलादेश पनि आफैंमा राम्रो टिम रहेको छ र हामीले टोलीलाई बलियो प्रतिद्वन्द्वी मानेका छौं,’ भारतीय टिमका प्रशिक्षक रञ्जन चौधरीले भने, ‘यो खेलमा हाम्रो प्रदर्शन पहिलो खेलको तुलनामा राम्रो रह्यो, गोलमात्र निस्कन नसकेको हो ।’

उनले फुटबलमा यस्तो हुने पनि बताए । उनको तर्क थियो, ‘हामीले माल्दिभ्सविरुद्ध लगातार आक्रमण बुने पनि गोल भने निस्केन । फुटबलमा यस्तो हुन्छ । तर, सबैभन्दा महत्त्वपूर्ण के छ भने हामीले जितसँगै ३ अंक प्राप्त गरेका छौं । आखिरमा ५ गोल गरेपछि ३ अंक नै हो, एक गोल गरे पनि ३ अंक नै हो । यसबीच पनि हामीलाई के राम्रोसँग थाहा छ भने आक्रमणलाई निर्णायक बनाउन हामीले अझै मिहिनेत गर्नुपर्ने हुन्छ । यसलाई सच्याउन काम पनि गर्नेछौं ।’

भारत सेमिफाइनल पुग्ने चार टिममध्ये सबैभन्दा कम गोल गर्ने टिम हो । यद्यपि भारत नै एकमात्र यस्तो टिम रहेको छ, जसले कुनै गोल पनि खाएको छैन । दुवै खेलमा क्लिनसिट राखेको छ । ‘मौसमको प्रतिकुलताका कारण हामीले पछिल्लो समय अभ्यास गर्न पाएका छैनौं । यसले पनि टिमको प्रदर्शनलाई गाह्रो बनाएको छ । काठमाडौंमा लगातार पानी परिरहेको हुनाले परिस्थिति पक्कै पनि गाह्रो छ । यसमा हामी कसैलाई दोष दिन सक्दैनौं ।’

माल्दिभ्सका लागि भने प्रतियोगिता निराशजनक रह्यो । तर, टिमका प्रशिक्षक अहमद सकिरले आफ्नो टिमले अन्तिम समयसम्म पनि प्रयास जारी राखेको हुनाले खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए । उनले भने, ‘हामी जुन परिस्थितिबाट यो प्रतियोगिता खेलेका छौं, त्यस आधारमा यो प्रदर्शन राम्रो हो । हाम्रा खेलाडीले धेरै सम्भावना देखाएका छन् । यो प्रतियोगिताबाट माल्दिभ्सका खेलाडीले धेरै सिक्ने अवसर पाएका छन् । त्यस अर्थमा प्रतियोगिता हाम्रा लागि सकारात्मक नै रह्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?