पछिल्लो १ महिनामा धेरै मानवीय क्षति गण्डकी प्रदेशमा

पछिल्लो १ महिनामा धेरै मानवीय क्षति गण्डकी प्रदेशमा

अर्थ चौतारी

पछिल्लो १ महिनामा धेरै मानवीय क्षति गण्डकी प्रदेशमा

A A- A+

काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरोमा परेर शुक्रवार कास्कीको पोखरा महानगरपालिका–१९ स्थित पुरनचौरमा एकै परिवारको ६ जनाले ज्यान गुमाए ।मध्यराति कुल बहादुर परियारको घरमा पहिरो खस्दा उनको परिवारका ६ जना र एक जना छिमेकीले ज्यान गुमाएका हुन् । मृत्यु हुनेमा ४६ वर्षीय कुल बहादुर परियार, ४३ वर्षीय मनु कुमारी परियार, ८५ वर्षीया लक्षिमा परियार, १५ वर्षीया प्रसना परियार छन् ।माइत गएकी कुल बहादुरकी छोरी २० वर्षीया प्रभा परियार, ज्वाइँ २५ वर्षका अस्मित परियारको पनि मृत्यु भएको गण्डकी प्रदेशका डीआईजी दुर्गा सिंहले बताइन् । घटनास्थलमा पोखरा–१९ तल्लाकोट टारी बस्ने वर्ष ५६ कि राधिका परियारको पनि मृत्यु भएको छ ।पहिरोमा परेर ३१ वर्षीय कुमार परियार र १७ वर्षका पवन परियार घाइते भएका छन् । पवन कुल बहादुरका छोरा हुन । उनी भागेर बाँच्न सफल भए ।पोखरा महानगरपालिका–३२ स्थित चैनपुरमा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अनिता ओझा,  ११ वर्षीया अनुष्का ओझा र ९ वर्षीय प्रतीक सुवेदी छन् । मादी गाउँपालिका वडा नम्बर–११ मा पहिरोका कारण एक जनाको मृत्यु भएको छ । गएराति १ बजेतिर तल्लो ताप्लेमा खसेको पहिरोका कारण माइती कुमारी गुरुङको मृत्यु भएको कास्कीका डीएसपी बसन्त शर्माले बताए । उनका छोरा  ५५ वर्षीय ओम बहादुर गुरुङ घाइते भएका छन् ।

गण्डकी प्रदेशमा पर्ने म्याग्दीको धौलागिरि गाउँपालिका–७ स्थित आरखोलामा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीया तुल प्रसाद न्यौपाने र उनकी पत्नी ४८ वर्षीया बालकुमारी न्यौपाने छन् ।

घर पुरिँदा उनको घटनास्थलमा नै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका एसएसपी रवीन्द्र रेग्मीले बताए । शुक्रवार बिहान मात्रै कास्की र म्याग्दीमा १३ जनाले ज्यान गुमाए ।

२८ जेठमा मनसुन सुरु भएयता सबैभन्दा धेरै मानवीय क्षति गण्डकी प्रदेशमा भएको छ । पछिल्लो १ महिनामा गण्डकीमा बाढी, पहिरो र चट्याङका कारण ३६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयको तथ्यांकबाट देखिन्छ ।

मनसुन सक्रिय भएपछि कोशी प्रदेशमा १९ जना र लुम्बिनीमा २३ जनाले ज्यान गुमाएका छन् । काठमाडौँ उपत्यकामा मनसुनको कारण एक जनाको मृत्यु भएको छ । मधेस प्रदेशमा ५ जना, बागमतीमा ६ जना, कर्णालीमा ४ जना र सुदूरपश्चिममा ७ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयको तथ्यांकबाट देखिन्छ ।

२८ जेठपछि हालसम्मको देशभरको तथ्यांक

Capture

झन्डै ३५ सय परिवार विस्थापित

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण ३ हजार ४७३ परिवार सङ्ख्या विस्थापित भएका छन् । ९ सय ६९ घरका ३ हजार ४७३ परिवार सङ्ख्या विस्थापित भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सुदूरपश्चिममा सबैभन्दा धेरै विस्थापित भएका छन् ।

वर्षासँगै आएको बाढीका कारण सुदूरपश्चिमका ५ जिल्लाको जनजीवन प्रभावित भएको छ । कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी र अछामका दुई हजार स्थानीय विस्थापित भएका हुन् । कैलालीमा ५७८ जना, कञ्चनपुरमा ५११ परिवारका १ हजार ७३८ जना, दार्चुलामा ९९ जना र बैतडीमा १८० जना विस्थापित भएका हुन् । उनीहरूलाई विद्यालय, सामुदायिक भवन र अस्थायी टेन्टबाट पुरानै थातथलोमा पुनर्स्थापित गर्ने प्रयास भइरहेको सरकारी अधिकारीहरू बताउँछन् ।

त्रिशूलीमा दुई वटा बस खस्दा ५५ यात्रुको अवस्था अज्ञात

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा दुई वटा डिलक्स गाडी त्रिशूलीमा खसेका छन् । नारायणगढ–मुग्लिङ सडक खण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स नदीमा खसेका हुन् ।

एन्जल वीरगन्जबाट काठमाडौँतर्फ र  गणपति काठमाडौँबाट रौतहटको गौर तर्फ जाँदै गरेको अवस्थामा शुक्रवार बिहान दुर्घटना भएको बागमती प्रदेशका डीआईजी विष्णु केसीले रातोपाटीलाई बताए ।

एन्जल डिलक्समा २४ जना यात्रु सवार रहेको थाहा भएको छ । प्रहरीका अनुसार टिकट काउन्टरका कर्मचारीले १७ जनाको नाम र ७ जनाको सङ्ख्या मात्रै इन्ट्री गरेर चढाएको भेटिएको छ । हराएका दुवै बस खोज्न सेना, सशस्त्र र प्रहरी परिचालन गरिएको छ ।

गणपति डिलक्समा चालक दलका सदस्य सहित ३१ जना यात्रु सवार थिए । सुरक्षा अधिकारीहरुहरुले अहिलेसम्म सो विवरणको आधिकारिकता पुष्टि गर्न सकेका छैनन् । गणपति डिलक्सबाट हाम फालेर निस्केका ३ जना प्रहरीको सम्पर्कमा छन् । उनीहरू हुन्, रौतहटको देवाही गोनाहि नगरपालिका–१ घर भएका ३० वर्षीय नन्द दास, राजदेवी नगरपालिका–९ घर भएका ४५ वर्षीय जोगेश्वर राय यादव र गण्डमाई नगरपालिका–३ घर भएका २६ वर्षीय सुरज गुप्ता ।दुई वटा बस त्रिशूलीमा खस्दा कम्तीमा ५५ यात्रुको अवस्था अज्ञात छ ।

रातोपाटी बाट साभार गरिएको।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?