‘सानो संसार’ ट्रेलरमा प्रतिक्रिया : ‘नेपाली समुदायको यथार्थ चित्रण’

‘सानो संसार’ ट्रेलरमा प्रतिक्रिया : ‘नेपाली समुदायको यथार्थ चित्रण’

अर्थ चौतारी

‘सानो संसार’ ट्रेलरमा प्रतिक्रिया : ‘नेपाली समुदायको यथार्थ चित्रण’

A A- A+

काठमाडौं । मध्यमवर्गीय परिवारको कथामा बनेको फिल्म ‘सानो संसार’ दशैंको छेको पारेर यही असोज ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । सहरमा कोठा भाडामा लिएर बस्ने एक परिवारले सपना पूरा गर्न खाने अनेकन हण्डर र ठक्करको कथा पेश गरेको फिल्मले गीत, टिजर र ट्रेलरबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । विशेषगरी ट्रेलरलाई युट्युबमा प्राप्त प्रतिक्रिया हेर्दा उत्साहजनक देखिन्छ ।

युट्युब रिलिजको ९ दिनमा ट्रेलरलाई ७ लाखभन्दा बढीले हेरिसकेका छन् भने २ सय बढी कमेन्टहरु लेखिएका छन् । र, ट्रेलरलाई लगभग शतप्रतिशत सकारात्मक प्रतिक्रिया प्राप्त छ । कमेन्टमा कतिले माटो सुहाउँदो फिल्म भन्दै प्रशंसा गरेका छन् भने कतिले नेपाली समुदायको यथार्थ चित्रण गरिएको प्रतिक्रिया जनाएका छन् । अर्गानिक फिल्म भन्दै प्रशंसा गर्नेहरु पनि धेरै देखिएका छन् ।

ट्रेलरलाई प्राप्त प्रतिक्रियाले निर्माण टिम उत्साहित बनेको छ । निर्माता अर्जुन कुमार ट्रेलरमा भन्दा अझ धेरै कुरा फिल्ममा रहेकाले दर्शकलाई मन पर्नेमा विश्वस्त देखिन्छन् । फिल्म राम्रो बनेको समेत उनको दाबी छ । उनी भन्छन्, ‘फिल्म साँच्चै नै राम्रो बनेको छ । राम्रो फिल्म चल्छ चल्छ । म यो हिसाबले आत्मविश्वासी छु कि हामीले फिल्म राम्रो बनाएका छौं । दर्शकले पक्कै साथ दिनुहुन्छ ।’

पहिला ‘सानो संसार’ नाममा सिरिज बनेको थियो । त्यसको केही भाग प्रशारण पनि भइसकेको थियो । यो सिरिज हेरेपछि निर्माता कुमारले यसमा फिल्म बनाउने निर्णय लिएका थिए । उनी भन्छन्, ‘यो सिरिज हेरेपछि मलाई आफैंले भोगेको कथा जस्तो लाग्यो । त्यसपछि मैले यसमा फिल्म बनाउनुपर्छ भनेर बाँकी एपिसोड रोक्न लगाएँ । र, त्यसमा केही थपेर र घटाएर हामीले यो फिल्म बनाएका हौं ।’

सिद्धार्थ पुडासैनीको निर्देशनमा बनेको फिल्ममा सीतादेवी तिमिल्सेना (कलाकार केदार घिमिरे ‘माग्ने बुढा’की श्रीमती), अनु दाहाल, राज पंगेनी शर्मा, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी लगायतको अभिनय छ । निर्देशकदेखि कलाकार सबैको यो पहिलो फिल्म हो । सरिष्मा खत्री र निर्देशक पुडासैनीको संयुक्त लेखन रहेको फिल्मको कार्यकारी निर्मातामा माधव वाग्ले रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?