मधेशमा पनि वर्षाको सम्भावना, काठमाडौं उपत्यकासहित ३६ जिल्लामा बाढीको जोखिम

मधेशमा पनि वर्षाको सम्भावना, काठमाडौं उपत्यकासहित ३६ जिल्लामा बाढीको जोखिम

अर्थ चौतारी

मधेशमा पनि वर्षाको सम्भावना, काठमाडौं उपत्यकासहित ३६ जिल्लामा बाढीको ...

A A- A+

काठमाडौं । मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालको नजिक सरेको छ । यसको प्रभावले कोशीदेखि लुम्बिनी प्रदेशसम्मका जिल्लाहरुमा अघिल्लो दिनको तुलनामा बढी पानी पर्ने पूर्वानुमान छ ।

सुक्खा खडेरीको मारमा परेको मधेश प्रदेशमा समेत हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद बिनु महर्जनका अनुसार आज राति मधेश प्रदेशका पूर्वी भूभागमा र भोलि राति पूरै मधेश प्रदेशभर हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।

मनसुनको अवधिमा समेत मधेश प्रदेशका जिल्लामा लामो समयदेखि पानी नपर्दा सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । पानी नपर्दा अधिकांश खेतमा धान रोपाइँ हुन सकेको छैन । रोपाइँ गरेका खेत पनि पानी अभावले चिरा परेका छन् । खानेपानीका मुहान समेत सुक्न थालेपछि मधेशमा पानीको हाहाकार छ ।

आज र भोलिको वर्षाले खडेरीमा हल्का राहत मिल्नसक्ने सम्भावना छ । यद्यपि कतिसम्म पानी पर्छ भनेर अहिले नै अनुमान गर्न भने गाह्रो रहेको मौसमविदहरु बताउँछन् ।मौसमविद महर्जनका अनुसार आज र भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाहरुमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भाना छ । यी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद महर्जनले जानकारी दिइन् ।

गएराति पनि ओखलढुंगाको मानेभञ्ज्याङ, सिन्धुलीको सिन्धुलीमाडी, पर्वतको पञ्चासे, अर्घाखाँची लगायतका वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको थियो ।काठमाडौं उपत्यकासहित ३६ जिल्लामा बाढीको मध्यम जोखिम

मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक सर्न थालेपछि बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित ३६ जिल्लामा बाढीको मध्यम जोखिम रहेको सूचना जारी गरेको छ ।महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बग्ने साना नदीहरुमा बहाव आकस्मिक रुपमा बढ्न सक्ने छ ।

महाशाखाले ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर र आसपासकका जिल्ला भई बग्ने साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउन सक्ने चेतावनी जारी गरेको छ ।यसैगरी इलाम, झापा, पाँचथर, तेह्रथुम, भोजपुर, ओखलढुंगा, खोटाङ, सिन्धुली, मकवानपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत जिल्लामा पनि बाढीको मध्यम जोखिम छ ।

बाढीको मध्यम जोखिम रहेका अन्य जिल्लाहरुमा लमजुङ, दाङ, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, अछाम, बझाङ, जाजरकोट, कालिकोट, बाजुरा, कैलाली, कञ्चनपुर, दार्चुला समेत छन् ।विभागले सूचना जारी गरी बाढीको जोखिम रहेका क्षेत्रहरुमा सतर्कता अपनाउन भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?