पाँच जिल्लाका कस्तुरी पालनको सरकारी योजना, के छ सम्भावना ?

पाँच जिल्लाका कस्तुरी पालनको सरकारी योजना, के छ सम्भावना ?

अर्थ चौतारी

पाँच जिल्लाका कस्तुरी पालनको सरकारी योजना, के छ सम्भावना ...

A A- A+

काठमाडौँ । सरकारले  बजेटमा पाँच जिल्लामा कस्तुरी मृग लगायतका वन्यजन्तु पालनको व्यावसायिक फर्म स्थापना गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट भाषणमा सो घोषणा गरेका हुन् । अर्थमन्त्रीले म्याग्दी, मुस्ताङ, मनाङ, गोरखा र धादिङ जिल्लाको हिमाली क्षेत्रमा कस्तुरी मृग लगायतका वन्यजन्तु पालन गर्ने व्यावसायिक फर्म स्थापना गरिने भनेका छन् । यो कार्य निजी क्षेत्र र स्थानीय समुदायको सहभागितामा गरिने अर्थमन्त्री पुनले दाबी गरेका छन् ।  मन्त्री पुनका अनुसार कृषि तथा पशुपक्षी विकास मन्त्रालयको लागि ५७ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो नयाँ योजना भए पनि यसको छलफल २०७६ सालमा पनि भएको थियो । २०७६ सालमा सरकारले कस्तूरी मृग पाल्न चाहनेलाई बीउ प्राणी उपलब्ध गराउन सरकारले मनाङ र जाजरकोटमा कस्तूरी प्रजनन केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाएको थियो ।  कश्मीर, अल्पाइन, कालो र हिमाली गरी चार प्रजातिका कस्तूरी नेपालमा पाइन्छन् । सुरुमा हिमाली र पछि कश्मीर प्रजातिलाई प्रजनन केन्द्रमा राखेर बीउ प्राणी जन्माइनेछ ।

कस्तूरी मृगका प्रजातिसमेत पाल्न सकिने गरी सरकारले कानुन बनाई पाल्न पाइने वन्यजन्तु, चरा, सर्प र भ्यागुतालगायत बीउ प्राणी र लाइसेन्सको दस्तुर समेत राजपत्रमा प्रकाशित गरिसकेको छ । लाइसेन्स र बीउ प्राणीको दस्तुरबारे २०७६ मङ्सिर २३ मा राजपत्र प्रकाशित भएको थियो  ।

कस्तूरी पालनको लाइसेन्स लिन एक लाख र एउटा बीउ प्राणीको ७५ हजार रुपैयाँ दस्तुर तोकिएको छ । जरायो, चित्तल, लगुना, रतुवा, नीलगाई, घोडा, गधा, खरायो, दुम्सी, बँदेल, भ्यागुता, पाहा, कछुवा, मयूर, कालिज, लुइँचे, मैना, सुगा, ढुकुर र तित्रालगायत बीउ प्राणी र लाइसेन्स दस्तुरसमेत तोकिएको छ । लाइसेन्सको १० हजारदेखि १ लाख र बीउ प्राणीको १ सयदेखि ७५ हजार रुपैयाँसम्म दस्तुर तोकिएको छ ।

  • चिनियाँ कम्पनीको पनि चासो 

सरकारले राजपत्रमा सूचना जारी गरेपछि २०७८ सालमा कस्तुरी पालनाका लागि चिनियाँ कम्पनीले चासो पनि दिएका थिए ।

दुई प्रमुख चिनियाँ परम्परागत औषधि कम्पनी ‘बेइजिङ टोङ रेन टाङ’ र ‘बेइजिङ सेङ सी सिनवेन’ कम्पनी लिमिटेडले नेपालमा वन्यजन्तु पालनमा संलग्न हुन कोसिस गरेका थिए । बेइजिङ टोङ रेन टाङ र बेइजिङ सेङ सी सिनवेन कम्पनी लिमिटेडले वन्यजन्तु पालनमा काम गर्ने रुची देखाउँदै नेपालका प्रधानमन्त्रीलाई पत्र पठाएको  कुरा सार्वजनिक भएको थियो । ती कम्पनीहरूले गण्डकी प्रदेश सरकारसँग पनि कस्तुरी मृगको पालन गर्नेबारे छलफल गरेका थिए।

पश्चिमी नेपालको मनाङ जिल्लामा निर्माणाधीन आफ्नो कस्तूरी मृग पालन केन्द्रमा लगानी गर्ने उद्देश्यले बेइजिङ सेङ सी सिनवेनले राष्ट्रिय प्रकृति संरक्षण कोषका अधिकारीहरूसँग छलफल पनि गरेका थिए ।

अत्तरको उत्पादन र परम्परागत चिनियाँ औषधिमा प्रयोग गरिने कस्तूरी ग्रन्थिलगायत आफ्ना शारीरिक अङ्गहरूको सिकार र वासस्थानको क्षतिका कारण जोखिममा परेको प्रजाति कस्तूरी मृग हो ।

सन् १९५८ देखि सुरु भएको कस्तूरी मृगको पालन गर्ने चलन चीनमा  स्थापित छ ।  चीनमा २० हजारभन्दा बढी कस्तूरी मृग पालिएका छन् । तर विनाका लागि उनीहरूको सिकार र वासस्थानमा भएका ह्रासका कारण तिनीहरूको जङ्गली सङ्ख्या घटिरहेका छन् । नेपालमा चीनमा लैजाँदै गरिएको अवस्थामा कस्तूरी विना बारम्बार पक्राउ पर्ने गरेका छन् ।

चिनियाँ कम्पनी र सरकारी एजेन्सीहरूले नेपालमा वन्यजन्तु पालन विशेष गरी कस्तूरी मृग पालनमा देखाएको रुची नयाँ भने होइन । सन् २००९मा मनाङ जिल्लामा कस्तूरी मृग फार्म स्थापना गर्न चीनको सम्भावित सहयोगबारे छलफल गर्न नेपालस्थित चिनियाँ दूतावास र राष्ट्रिय प्रकृती संरक्षण कोषबीच बैठक भएको पनि थियो ।तर त्यसमा खासै कुनै उपलब्धि भने भएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?