‘ज्वाइँ साब’ गीतः बत्तीको कसम खाँदै नीतिसँग रोमान्टिक जितु

‘ज्वाइँ साब’ गीतः बत्तीको कसम खाँदै नीतिसँग रोमान्टिक जितु

अर्थ चौतारी

‘ज्वाइँ साब’ गीतः बत्तीको कसम खाँदै नीतिसँग रोमान्टिक जितु

A A- A+

काठमाडौं– आगामी असोज २४ गते (फूलपाती)देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ज्वाइँ साब’को पहिलो गीत सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ‘कसम बत्तीको’ बोलको गीतलाई विवाहको परिवेशमा तयार पारिएको छ । जसमा फिल्मका मुख्य अभिनेता जितु नेपाल र अभिनेत्री नीति शाह दुलहा र दुलहीको भेषमा आकर्षक नृत्य गर्दै प्रस्तुत छन् ।

यो गीतमा निशान भट्टराई र समीक्षा अधिकारीको युगल गायन, यादव लम्सालको शब्द रचना र अर्जुन पोखरेलको संगीत छ । हिन्दू परम्पराअनुसार बिहेपछि केटाको घरमा केटी भित्रिने चलन छ । तर, ‘कसम बत्तीको’ गीतमा जुत्ता लुकाएको पैसा बेहुला पक्षलाई बेहुली (नीति)ले दिएकी छन् भने बेहुला (जितु) डोली चढेर बेहुलीको घर गएका छन् । यसले फिल्मको कथा रोचक रहेको देखाउँछ ।

बसन्त निरौलाको निर्देशनमा तयार भएको फिल्ममा जितु र नीतिसहित बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे, दीपक अधिकारी, राजेन्द्र नेपाली, सीपी पौडेल, विश्व मुखिया, सुमन राई, रोशन नेपाल, सुनिल तामाङ, नविन काफ्ले, शिवु पाण्डे लगायतको पनि अभिनय छ ।

विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको फिल्ममा अर्जुन पोखरेलसहित महेश ताम्राकारको संगीत, सञ्जय थापाको द्वन्द्व निर्देशन, श्याम तामाङको छायांकन तथा सन्देश शाहको सम्पादन छ । रेड आई फिल्मस्को प्रस्तुति र मौसम फिल्मस्को सहकार्यमा फिल्म बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?