रुसी राष्ट्रपति पुटिनले आगामी साता मङ्गोलियाको भ्रमण गर्ने, आईसीसीद्वारा पुटिनलाई पक्राउ पुर्जी जारी

रुसी राष्ट्रपति पुटिनले आगामी साता मङ्गोलियाको भ्रमण गर्ने, आईसीसीद्वारा पुटिनलाई पक्राउ पुर्जी जारी

अर्थ चौतारी

रुसी राष्ट्रपति पुटिनले आगामी साता मङ्गोलियाको भ्रमण गर्ने, आईसीसीद्वारा ...

A A- A+

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी साता मङ्गोलियाको भ्रमण गर्ने क्रेमलिनले बिहीबार बताएको छ ।

मङ्गोलिया अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को सदस्य राष्ट्र हो । आईसीसीले पुटिनलाई पक्राउ पुर्जी जारी गरेको छ ।

हेगस्थित आईसीसीले युक्रेनी बालबालिकाको अवैध निर्वासनमा सन् २०२३ मार्चमा पक्राउ पुर्जी जारी गरेपछि राष्ट्रपति पुटिनले आईसीसीको स्थापना सन्धि र रोम विधानलाई अनुमोदन गरेको मुलुकको भ्रमण गरेको यो पहिलो पटक हुनेछ ।

आईसीसी सदस्य राष्ट्रहरूले रुसी नेताले आफ्नो भूमिमा पाइला राखे पक्राउ पर्ने अपेक्षा गरिएको छ । मङ्गोलियाले सन् २००० मा रोम विधान सन्धिमा हस्ताक्षर गरेको थियो र सन् २००२ मा यसलाई अनुमोदन गरेको थियो ।

पुटिनले सेप्टेम्बर ३ मा ‘खल्खिन गोल नदीमा जापानी सैन्यवादीहरूमाथि सोभियत र मङ्गोलियाली सेनाको संयुक्त जितको ८५औँ वार्षिकोत्सव’ मनाउन छिमेकी मङ्गोलियाको भ्रमण गर्नुहुने क्रेमलिनले बताएको छ । उक्त लडाइँ सन् १९३९ मा जापानीहरूले नजिकैको मन्चुरिया कब्जा गर्दा भएको थियो ।

पुटिन र मङ्गोलियाली राष्ट्रपति उखना खुरेलसुखले द्विपक्षीय सम्बन्ध तथा ‘वर्तमान अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दामा विचार आदान प्रदान’ गर्ने क्रेमलिनले उल्लेख गरेको छ । यो भ्रमण अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको मङ्गोलिया भ्रमणको एक महिनापछि हुनेछ । वासिङ्टनले भूपरिवेष्ठित मुलुक मङ्गोलियासँग घनिष्ठ सम्बन्ध खोजेको छ ।

क्रेमलिनले आईसीसीको पक्राउ पुर्जीलाई ‘निरर्थक’ भनेको छ ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनविरुद्ध पूर्णस्तरको आक्रमण सुरु गरेपछि पुटिनले आफ्नो विदेश भ्रमणलाई कम गरेका छन् । आईसीसीले पक्राउ पुर्जी जारी गरेपछि उनले भ्रमणलाई अझ सीमित बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?