एकीकृत समाजवादीमा झलनाथ गुट सकियो, घनश्याम गुट उदायो !

एकीकृत समाजवादीमा झलनाथ गुट सकियो, घनश्याम गुट उदायो !

अर्थ चौतारी

एकीकृत समाजवादीमा झलनाथ गुट सकियो, घनश्याम गुट उदायो !

A A- A+

काठमाडौं- नेकपा एकीकृत समाजवादीले गत असारमा दशौं महाधिवेशन गरेर हलबाटै अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई निर्विरोध निर्वाचित गरेको थियो । उपाध्यक्ष, सचिवलगायत २१ सदस्यीय पदाधिकारीमा भने मंगलबार आन्तरिक निर्वाचन गरिएको छ । यसक्रममा उपाध्यक्ष उठेकी चर्चित युवा नेता रामकुमारी झाँक्री पराजित भएकी छिन् ।

एकीकृत समाजवादीको महाधिवेशनबाट ९३ जना केन्द्रीय सदस्यको नाम घोषणा गरिएको थियो । साउन १६ मा बसेको केन्द्रीय कमिटीको बैठकले ३४४ सदस्यीय केन्द्रीय कमिटीको नाम टुंग्याएको थियो । भदौ ११ अर्थात मंगलबार ३४४ केन्द्रीय सदस्यमध्येबाट पदाधिकारीहरु छानिएका हुन् ।

एकीकृत समाजवादीको पदाधिकारीमा सम्मानित नेता झलनाथ खनालसहित २१ जना रहन्छन् । यीमध्ये तीनजना महाधिशेनबाटै निर्विरोध चुनिएका थिए भने मंगलबार बरिष्ठ उपाध्यक्षमा पनि राजेन्द्रप्रसाद पाण्डे निर्विरोध निर्वाचित भए । बाँकी १७ जना पदाधिकारीमा मतदान भयो । मतदानमा ३४४ केन्द्रीय सदस्यले भाग लिन पाउने व्यवस्था गरिएको थियो ।

निर्वाचनबाट महिला उपाध्यक्षमा जयन्तीदेवी राई निर्वाचित भइन् । उनले रामकुमारी झाँक्रीलाई हराइन् । मधेसी उपाध्यक्षमा धर्मनाथप्रसाद शाह निर्वाचित भए भने खुल्ला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भए ।

जयन्ती राई र रामकुमारी झाँक्री।

उपमहासचिवमा खुलातर्फ गरिमा शाह, राजेन्द्र राई, रामकुमार भट्टराई, मेटमणि चौधरी निर्वाचित भए । सचिवमा गणेश बिक (दलिततर्फ), बलदेब चौधरी (आदिवासी–जनजाति) र खुलातर्फ श्रीनाथ बराल, सावित्रा भुसाल, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे, चन्द्रबहादुर शाही विजयी भए ।

पदाधिकारीमा उठेर पराजित हुनेहरुमा रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, डा. विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, रामचन्द्र झा, रामचन्द्र यादव, ललितबहादुर बस्नेत क्षेत्री, साध्यबहादुर भण्डारी, उर्वादत्त पन्त, बलराम सापकोटा, महेश रेग्मी, लक्ष्मण केसी, देउमान सम्वाहाङ्फे, नागेन्द्र चौधरी, अम्बर बहादुर थापा, लक्ष्मण पौडेल, शत्रुघन महतो र हरिप्रसाद पराजुली, निरुदेवी जैरु, बंशीधर मिश्र लगायतका घघडान नेताहरु छन् ।

आखिर, एकीकृत समाजवादीको पदाधिकारीमा भएको चुनावले के सन्देश दिएको छ ? यसका केही सन्देशहरु छन् ।

झलनाथ गुट सकियो, घनश्याम गुट उदायो !

महाधिवेशनका बेला पार्टी अध्यक्षमा माधवकुमार नेपाल र झलनाथ खनाल (जेएन) वीच प्रतिस्पर्धा हुने चर्चा थियो । घनश्याम भुसाल (जीबी) ले पनि अध्यक्षमा दाबी प्रस्तुत गरेका थिए । तर, अन्तिममा सहमति भयो र अध्यक्षमा माधव नेपाललाई नै समर्थन गर्दै झलनाथ खनाल ‘ब्याक’ हुन राजी भए । तर, महासचिवमा झलनाथ खनालको समेत रोजाइमा परेका घनश्याम भुसाल निर्विरोध चुनिए ।

पार्टीभित्र देखा परेको झलनाथ खनाल र माधवकुमार नेपाल नेतृत्वको दुईवटा विचार समूहमध्ये महासचिव भुसाल सापेक्षितरुपमा खनालसँग नजिक मानिन्छन् । तर, एकीकृत समाजवादीमा अहिले घनश्याम भुसालको आफ्नै समूह छ, जुन झलनाथको भन्दा बलियो छ ।

मंगलबारको निर्वाचनबाट पदाधिकारी टिममा झलनाथ खनाल निकट कोही पनि नेता नचुनिएका समाजवादीका एक नेताले दाबी गरे । उनले भने, ‘पदाधिकारीमा अध्यक्ष बलियो देखिनुभयो । झलनाथजीको कोही पनि आएनन् बरु भुसालजीको समूहबाट पदाधिकारीमा ७ जना चुनिए । यो हिसाबले हर्दा एकीकृत समाजवादीभित्र अब माधव र झलनाथ समूह होइन, माधव र घनश्याम समूह भन्नुपर्ने स्थिति आएको छ ।

सूत्रका अनुसार २१ पदाधिकारीमध्ये भुसाल समूहबाट घनश्याम भुसाल, जयन्ती राई, प्रकाश ज्वाला, धर्मनाथ साह, भानुभक्त जोशी, गरिमा शाह र बलदेव चौधरी छन् । बाँकी सबै माधव नेपाल पक्षका हुन् ।

रामकुमारी किन हारिन् ?

एमाले अखिलमा रहँदादेखि नै चर्चित रहेकी रामकुमारी झाँक्री एकीकृत समाजवादीकी पूर्वसचिव एवं युवापुस्तामा चर्चित मानिन्थन् । तर, उनी माहिला कोटाको उपाध्यक्षमा जयन्ती राईसँग पराजित भइन् ।

यसअघि झलनाथ खनाल र घनश्याम भुसालसँग नजिक मानिँदै आएकी झाँक्री यसपटक माधव नेपालको प्यानलमा परेकी थिइन् । महासचिव भुसालको समूहले जयन्ती राईलाई सघाएको थियो । तर, अध्यक्ष नेपालको साथ पाउँदा पनि रामकुमारी पदाधिकारीमा पर्न सकिनन् ।

जयन्ती राई

पार्टी बाहिरसमेत चर्चित रहेकी रामकुमारी पराजित हुनुको कारण के हो ? यसबारे जिज्ञासा राख्दा एकीकृत समाजवादीका एक केन्द्रीय सदस्यले  भने, ‘पछिल्लो समय रामकुमारीजी अराजनीतिक रुपमा प्रस्तुत हुन थाल्नुभयो । एकीकृत समाजवादीमा बस्ने तर आफ्नो पार्टीभन्दा एमालेलाई राम्रो देख्ने, महिलाका मुद्दामा नकारात्मक रुपमा प्रस्तुत हुने अनि पार्टीभित्र अरु कसैलाई नगन्ने प्रवृत्ति उहाँमा बढ्न थालेको थियो, त्यसैको परिणाम मंगलबारको नतिजामा देखियो ।’

यता एमालेमा रहँदादेखि नै चर्चित रहँदै आएकी जयन्ती राईलाई घनश्याम भुसाल समूहले आफ्नो प्यानलमा राखेर साथ दियो, जसले गर्दा रामकुमारीको हार भयो ।

कस्तो बन्ला कार्यालय ?

पदाधिकारीको निर्वाचनबाट रामकुमारी लगायत केही अगुवा नेताहरुको हारले गर्दा महासचिव र उपमहासचिवहरुको टिम रहने केन्द्रीय कार्यालय झूर बन्ने देखिएको सो पार्टीकै कतिपय नेताहरु बताउँछन् ।

जस्तो– डा. विजय पौडेल, जीवनराम श्रेष्ठजस्ता नेताहरु हारेका छन् भने रामकुमार भट्टराई, चन्द्रबहादुर शाही र मेटमणि चौधरीजस्ता नेताहरुले जितेका छन् ।

यस्तो अवस्थामा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय वैचारिक भन्दा पनि निजी स्वार्थकेन्द्रित हुने खतरा बढेको एक केन्द्रीय सदस्यले  बताए । उनले भने, ‘हाम्रा कतिपय साथीहरु यस्ता पनि छन् कि विचार निर्माण गर्ने भन्दा पनि अरु नै कुनै स्वार्थले यो पार्टीमा बसेका छन् ।

मुख्य चुनौती एमाले र माओवादी 

अन्ततः एकीकृत समाजवादीले महाधिवशेसन सफलतापूर्वक सकेको छ र पदाधिकारीहरु पनि चयन गरिसकेको छ । अब यो पार्टीको दायित्व भनेको पार्टी संगठनलाई बलियो बनाउने, एमालेबाट गरिएको विद्रोहको औचित्य सावित गर्ने, देशमा आफ्नो दलको अलग्गै औचित्य सावित गर्ने र वर्तमान राजनीतिक मुद्दाहरुमा सही कार्यनीति र कार्यदिशा अनुसार अगाडि बढ्ने ।

के यो बाटोमा अब माधव नेपाल नेतृत्वको पार्टी खरो सावित हुन सक्ला ? सो पार्टीसामु खडा भएको मुख्य चुनौती नै यही हो ।

व्यवहारतः माधव नेपालको पार्टी यतिबेला नेकपा एमाले र नेकपा माओवादी केन्द्रको दोहोरो पेलाइमा परेको छ । माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि माधव नेपाललाई फकाइरहेका छन् भने एमालेले भित्रभित्रै कार्यकर्तालाई भड्काउने र आफूतिर तान्ने रणनीति लिएको छ ।

भर्खरै मात्र एकीकृत समाजवादीका काठमाडौंका नेता बटुकृष्ण थापा नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी एकीकृत समाजवादीको नेतृत्वमा आदर्श पनि नरहेको र आशा पनि गर्ने ठाउँ नभएकाले एमालेमा फर्केको बताउँदै एमालेमा छिरेका हुन् ।

थापा त एउटा प्रतिनिधि पात्र मात्र हुन् । एकीकृत समाजवादीमै बसेर ‘यो पार्टी काम लाग्दैन’ भन्ने नेताहरु धेरै छन्, जसको फाइदा एमालेले उठाइरहेको छ ।

अर्कोतिर आफ्नो दलको संकट टार्नका लागि माओवादी अध्यक्ष प्रचण्डले ‘पार्टी एकता गरौं’ भन्दै माधव नेपाल र झलनाथ खनाललाई तारन्तार दबाव दिइरहेको एकीकृत समाजवादीका नेताहरु बताउँछन् । यो अवस्थामा अब माओवादीसँग पार्टी एकता गर्ने या आफ्नो दललाई स्थापित गर्न राजनीतिक मुद्दाहरुलाई लिएर जनतामा जाने ? अध्यक्ष माधव नेपालसामु चुनौती छन् ।

पार्टी पदाधिकारी तहका एक नेताले  भने, ‘हामी अब जनताका अहम मुद्दाहरुलाई लिएर सडकमा जानुको विकल्प छैन । माओवादीसँग तत्काल एकताको सम्भावना छैन तर मोर्चा बनाएर सहकार्य गर्न सकिन्छ । नेकपा एमाले पनि अबको विकल्प बन्न सक्दैन । एमालेकै साथीहरु निराश हुनुुहुन्छ, बरु उहाँहरु चाहिँ हामीतिर आउने स्थिति बन्न सक्छ ।’

पदाधिकारीको निर्वाचन परिणाम-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?