अमेरिकामा आइतबार बिहान बन्धुकधारी लुटेरा समूहको आक्रमणबाट रूकुमका दीपक वली मारिएका छन्। रुकुम बाँफिकोट गाउँपालिका वडा नम्बर १० सेचेका ३० वर्षी वली अमेरिकाको टेक्सासको ग्यास स्टेसनमा काम गर्थे। उनी त्यहीँ आक्रमणका परेका हुन्। बन्धुकधारीले गोली हानी उनको हत्या गरेको राप्ती समाज अमेरिकाका अध्यक्ष सुरेश हमालले बताए। उनकाअनुसार आइतबार बिहान करिब ५ बजेतिर वलीमाथि गोली प्रहार भएको थियो। त्यतिबेला उनी टेक्सासको वेको सिटी नजिक हाइवे ३५ को एक्जिट ३४६ मा रहेको ग्यास स्टेसनमा काम गरिरहेका थिए। ‘गोली लागेर वलीको घटनास्थलमै मृत्यु भएको रहेछ,’ उनले भने। बाफिकोट गाउँपालिकाका अध्यक्ष जनककुमार बाठा मगरले पनि सेजेका दीपक वलीको अमेरिकामा लुटेरा समूहले गोली हानेर हत्या गरेको भन्दै खबर आएको बताएका छन्। बाफिकोट वडा नम्बर १० का अध्यक्ष हरिबहादुर चन्दले पनि दीपकको हत्याबाट गाउँ नै शोकाकुल बन्न पुगेको जानकारी दिए।‘दीपकको हत्याको खबर सुनेपछि आफन्त, परिवारजन शोकमा हुनुहुन्छ, उहाँहरूलाई सम्झाइबुझाइ गर्ने स्थिति छैन, गाउँका सबैले पिर मान्नुभएको छ,’ वडाध्यक्ष चन्दले भने ।वडाध्यक्ष चन्दका अनुसार हत्या गरिएका दीपकका बुवा ५६ वर्षीय लिलाराम वली रुकुम पश्चिममा बाख्रा पालन गर्दै आएका छन्। लिलारामको परिवारमा ७ जना छन्। मृतक दीपककी श्रीमती २६ वर्षीया बिमला बुढाथोकी वली भने ५ वर्षीया छोरी पढाउन दाङ झरेकी छिन्। उनी तुलसीपुरमा बसेर छोरीको पठनपाठन गर्दै आएको वडाध्यक्ष चन्दले बताए। दीपकका भाइ दिनेश वली पनि वैदेशिक रोजगारीमै छन्। उनी अहिले कोरियामा रहेको वडाध्यक्षले बताए। मृतकका भाइसँग आफूले कुरा गरिरहेको वडाध्यक्ष चन्दको भनाइ छ। चन्दका अनुसार दीपक एक वर्षअघि मात्र अमेरिका पुगेका थिए। उनी तल्लो बाटो हुँदै अमेरिका पुगेका हुन्। ‘२०२३ को जुलाइमा तल्लो बाटोबाट अमेरिका पुगेका रहेछन्। अमेरिका पुगेको वर्ष दिनमै दीपकको हत्या भएको खबरले गाउँमा सन्नाटा छाएको छ,’ उनले भने। दीपकका माइला बुवा ४० वर्षीय खिमबहादुर वलीका अनुसार सोमबार बिहान २ बजेतिर अमेरिका बस्दै आएका सेजे गाउँकै विवेक वलीले दीपकको हत्या बारे जानकारी दिएका थिए।‘गाउँकै विवेकले घर–परिवारलाई सामाजिक सञ्जालमार्फत सम्पर्क गरी दीपकलाई लुटेराले गोली हानेर हत्या गरेछन् भनेर जानकारी दिएका रहेछन्, ‘खिमबहादुरले भने, ‘त्यो अप्रत्यासित खबर सुनेपछि हाम्रो कुल, घर परिवारमा रुवाबासी चलिरहेको छ।’ खिमबहादुरका अनुसार दीपक लिलारामका जेठी श्रीमतीका एक्ला छोरा थिए। पहिलो श्रीमतीको मृत्यपछि उनकै बहिनी ४१ वर्षीया प्रतिभालाई लिलारामले दोस्रो श्रीमतीको रूपमा घर भित्र्याएका थिए। हाल दक्षिण कोरियामा रहेका दिनेश र अर्का १८ वर्षीय जनक कान्छीका तर्फबाट पैदा भएका सन्तान हुन्। जनक अध्यनको सिलसिलामा काठमाडौंमा रहेको खिमबहादुरले बताए। खिमबहादुरका अनुसार अमेरिका पठाउने गिरोहको सम्पर्कमा पुगेका दीपकले २०७९ मंसिरमा घर छाडेका थिए। ‘उसले घर छोडेर हिडेको अब आउने मंसिरमा ठिक तीन वर्ष पुग्छ,’ खिमबहादुरले भने, ‘अबैध मार्गबाट जाँदा उसले धेरै कष्ट पायो। बल्ल कमाउन थालेको थियो, त्यस्तो खबर आइहाल्यो!, स्वदेशमै रोजगारी भइदिएको भए, लालाबाला छाडेर कष्ट छिचोल्दै अवैध बाटाबाट किन अमेरिका जाँदो हो!’ अमेरिका सपना पछ्याउँदै हिडेका दीपकले झन्डै डेढ वर्ष बाटामै बिताएका थिए। दीपक ८० लाख भन्दा बढी रुपैयाँ खर्च गरेर अमेरिका गएको पनि खिमलालले बताए। ‘गिरोहको आश्वासनमा परी अमेरिका पुग्ने सपना पछ्याउँदै हिडेको भतिज दीपकले बाटोमा असाध्यै दुःख पाएको सुनाउँथ्यो,’ खिमबहादुरले भने ‘यत्रो दुःख, कष्ट सहँदै पैसाको खोला बगाएर अमेरिका आउनु ठिक होइन रहेछ भन्थ्यो।’ परिवारको थाप्लामा अहिले दीपकलाई अमेरिका पठाउँदा लागेको ऋणको बोझ छ। दीपकमारिएपछि घरमा रुवाबासी चलेको छ। परिवारलाई सम्झाइबुझाइ गर्नु त छँदैछ। अमेरिका जाँदा लागेको ऋण कसरी चुक्ता गर्ने भन्ने अर्को पिर थपिएको खिमबहादुरले बताए। ‘अमेरिका जाँदा लागेको ८० लाख ऋणमध्ये आधा मात्रै तिर्न सकेका रहेछन्। अझै ४० लाख बुझाउन बाँकी छ भनेर दाजु पिर मानिरहनुहुन्छ,’ खिमबहादुरले भने। खिमबहादुरका अनुसार दीपकको शव अहिले पोष्टमार्टमका लागि अस्पताल राखिएको छ। टेक्सासमा सेजे गाउँका अरू युवा पनि छन्। उनीहरूसँग दीपकको परिवार सम्पर्कमै छ। शवको परीक्षण भइनसकेकाले नेपाल ल्याउने प्रक्रिया के हुने टुंगो लाग्न नसकेको खिमबहादुरले बताए। -सेतोपाटीबाट
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच