एक महिनाका लागि ‘ह्याङ्गर’ मागेर पोखरा जाँदै थियो सौर्य एयरलाइन्सको विमान

एक महिनाका लागि ‘ह्याङ्गर’ मागेर पोखरा जाँदै थियो सौर्य एयरलाइन्सको विमान

अर्थ चौतारी

एक महिनाका लागि ‘ह्याङ्गर’ मागेर पोखरा जाँदै थियो सौर्य ...

A A- A+

पोखरा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान दुर्घटनामा परेको सौर्य एयरलाइन्सको विमान नियमित मर्मतका लागि पोखरा जाने क्रममा थियो । २ वर्षमा गर्नुपर्ने नियमित मर्मतका लागि प्राविधिक र कर्मचारीसहितको टोली लिएर विमान काठमाडौँबाट पोखराका लागि उडेलगत्तै दुर्घटना भएको हो ।एयरलाइन्स कम्पनीले जुलाई २४ देखि १ महिनाका लागि पोखरा विमानस्थलमा ‘ह्याङ्गर’ मागेको थियो । पोखरामा नागरिक उड्डयन प्राधिकरणको ‘ह्याङ्गर’ छ, जहाँ तीन वटासम्म विमान राखेर मर्मत गर्न सकिन्छ ।विमानस्थलले मंगलबार उक्त ‘ह्याङ्गर’ एक महिनासम्म प्रयोगका लागि अनुमति दिएको थियो । ‘काठमाडौँमा भएको ह्याङ्गर बुद्ध एयरको निजी हो । उसकै विमान राख्दा अरूलाई दिन सक्दैन । पोखरामा ३ वटा विमान अटाउने ह्याङ्गर छ,’ पोखरा विमानस्थलका प्रबन्धक योगेन्द्र कुँवरले भने, ‘यसअघि नै यती एयरलाइन्सको एउटा विमान यसरी नै मर्मतका लागि राखिएको छ ।’

उनका अनुसार नेपालगञ्जमा पनि नागरिक उड्डयन प्राधिकरणको ‘ह्याङ्गर’ छ । तर नेपालगञ्ज टाढा पर्ने भएकाले सबैले पोखरा रोज्छन् ।‘नेपालगञ्जमा पनि ह्याङ्गर छ तर टाढा पर्ने भएकाले मर्मतमा पनि महँगो हुन्छ । पोखरा नजिक भएको हुँदा कम खर्च हुन्छ,’ उनले भने, ‘ह्याङ्गरको शुल्क त अन्तर्राष्ट्रिय विमानस्थलकै अनुसार हो । अरू खर्च कम हुने भएर पोखरा ल्याइन्छ ।’‘ह्याङ्गर’ उपलब्ध गराइदिन हप्ता दिन अघि सौर्य एयरलाइन्सले पत्र पठाएको थियो । विमान ‘सी चेक’का लागि पोखरा ल्याउन लागिएको थियो । ‘सी चेक’ नियमित मर्मत सम्भार अन्तर्गत पर्छ ।‘सी–चेस भन्नाले विमान बिग्रिएको वा उडाउनै नमिल्ने भन्ने होइन, नियमित मर्मत सम्भारका लागि ल्याउन लागिएको थियो । त्यसैले त्यसमा चालक दलबाहेक अन्य स्टाफ पनि सवार भएको कुँवरले बताए । ‘आएका सबै इन्जिनियरिङ टिम नै हो । पहिले पनि आउँदा यसरी आउँथे । धेरै काम हुन्छ, जनशक्ति पनि धेरै चाहिन्छ,’ उनले अघि थपे, ‘सिट पूरै खोल्नुपर्ने, पार्ट खोल्ने र जोड्ने गर्न मान्छे चाहिन्छ । धेरै मान्छे आएपछि छिटो काम सकिन्छ ।’

नर्मल कन्डिसनमा रहेकै कारण विमान उडाइएको उनको भनाइ छ । ‘यो मर्मत र त्यो दुर्घटनामा कुनै साइनो हुँदैन,’ उनले भने । विज्ञका अनुसार विमानको मर्मत ४ प्रकारका हुन्छन् । ‘ए’ देखि ‘डी’सम्म विभिन्न प्रकृतिका मर्मत गरिन्छन् । ‘सी चेक’ डेढदेखि २ वर्षको अन्तरमा अनिवार्य गर्नुपर्ने हुन्छ । यसमा विमानका पार्टपुर्जाको सूक्ष्म मर्मत गरिने जानकारहरू बताउँछन् ।वायर, प्रणाली र संरचनाको सूक्ष्म निरीक्षण गरेर बिग्रेको भए मर्मत गर्ने र आवश्यक परे नयाँ सामान फेर्ने काम ‘सी चेक’मा हुन्छ ।दुर्घटनामा परेको विमान यही जाँचका लागि प्राविधिक र कर्मचारीको टिम लिएर पोखराका लागि उडेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?