डा शाक्यलाई ‘आइपियु’को दिगो विकास स्थायी समिति सदस्यमा जिताउन सभामुखको आग्रह

डा शाक्यलाई ‘आइपियु’को दिगो विकास स्थायी समिति सदस्यमा जिताउन सभामुखको आग्रह

अर्थ चौतारी

डा शाक्यलाई ‘आइपियु’को दिगो विकास स्थायी समिति सदस्यमा जिताउन ...

A A- A+

काठमाडौँ, २२ चैत । सभामुख देवराज घिमिरेले राष्ट्रियसभा सदस्य डाक्टर अञ्जान शाक्यलाई अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु) को दिगो विकास स्थायी समितिको सदस्य पदमा जिताउन पहल गरेका छन्। घिमिरेले समितिमा रहेका ३५ देशका सभामुखलाई पत्र लेख्दै शाक्यको समर्थनका लागि आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरे र सांसद डा शाक्यसहितको प्रतिनिधिमण्डल अन्तरव्यवस्थापिका सङ्घको १५०औँ वार्षिकसभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन आजै उज्वेकिस्तानको राजधानी ताश्केन्ट प्रस्थान गरेको छ ।

अन्तरव्यवस्थापिका सङ्घको १५०औँ वार्षिकसभा र असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलन चैत २३ देखि २७ गतेसम्म ताश्केन्टमा हुँदैछ । सांसद शाक्यले त्यहाँ महिला सांसदहरूको मञ्चमा सहभागिता जनाउने कार्यक्रम छ । शाक्यले त्यहाँ दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रका तर्फबाट उम्मेदवारी पनि प्रस्तुत गर्ने कार्यक्रम छ ।

उनी राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति सदस्य तथा सोही समितिको दिगो विकास उपसमिति संयोजकसमेत हुन् । शाक्यकै नेतृत्वमा ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१’ प्रतिवेदन तयार गरी राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिलाई बुझाएको छ । उनी संयोजक रहेको उपसमितिले पटक–पटक विभिन्न मन्त्रालय, सरोकार भएका निकाय र निजी क्षेत्रसँग छलफल गरी उक्त प्रतिवेदन तयार गरेको थियो ।

दिगो विकासको क्षेत्रमा गहिरो अनुभव हासिल गरेकी शाक्यले अन्तरराष्ट्रिय मञ्चमा नेपालका तर्फबाट सशक्त भूमिका निर्वाह गर्न सक्ने अपेक्षा सभामुखले पनि लिएको उनको सचिवालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?