अन्तरजातीय प्रेम बिवाहा गर्दा गाउँ छोड्न बाध्य, काठमाडौंमै बिते ६ वर्ष 

अन्तरजातीय प्रेम बिवाहा गर्दा गाउँ छोड्न बाध्य, काठमाडौंमै बिते ६ वर्ष 

अर्थ चौतारी

अन्तरजातीय प्रेम बिवाहा गर्दा गाउँ छोड्न बाध्य, काठमाडौंमै बिते ...

A A- A+

मिन बहादुर खड्का काठमाडौं : भनिन्छ चोखो माया गर्नेलाई दुनियाँ त के भगवानले पनि छुटाउन सक्दैनन् । साँचो प्रेम गर्नेहरू जस्तोसुकै परिस्थितिमा एक भएरै छोड्छन् । यसैको एक उढारणीय प्रेम जोडी हो बाजुराको बुढीनन्दा नगरपालिका १० का दिपक लुवार प्रमिला बोहरा । दिपक दम्पती हाल काठमाडौंको कृतिपुर नगरपालिका स्थित चार धारामा तीनको टहरामा विगत ६ वर्ष देखि बस्दै आइरहेका छन् ।अन्तरजातीय प्रेम बिवाहा गरेपछि समाजले स्वीकार नगर्ने र आफूहरुलाई अलग अलग छुट्याईदिन्छन् भन्ने त्रासले उनीहरू ६ वर्ष अघि भागेर राजधानी काठमाडौं आईपुगेका थिए । अन्तरजातीय प्रेम बिवाहा गरेर गाउँ छोडेको यो दम्पतीको प्रेम सम्बन्ध प्रेणादायी छ । जति प्रेणादायी छ त्यो भन्दा बढी पिडादायी पनि छ । दिपक र सोही वडाकी प्रमिला बोहरा बीच सानै उमेर देखि प्रेम सम्बन्ध थियो । उनीहरू पढ्ने बिद्यालय एउटै थियो । बिद्यालय मात्रै एउटै थिएन उनीहरू एक अर्काको घर पनि दुरीका हिसाबले नजिक थिए। बिद्यालय बाहेकका समय पनि मेलापातमा पनि उनीहरू संगसंगै हुन्थे। समय बित्दै गयो। यसरी उनीहरूका तीन वर्ष बितिसकेका थिए । घर मात्रै नजिक थिएनन् उनीहरूका भावनात्मक सम्बन्ध पनि बिस्तारै नजिक हुँदै गयो। उनीहरुको प्रेम सम्बन्ध थप प्रगाढ हुँदै गयो। झण्डै तीन वर्ष पछिको प्रेम सम्बन्धलाई उनीहरूले बिवाहमा परिणत गर्ने निधो गर्छन् । उनीहरूलाई थाहा थियो । आफ्नो अन्तरजातीय प्रेम बिवाहलाई परिवार र समाजले स्विकार्दैनन् । तर एक अर्काबीचको भावनात्मक, प्रगाढ प्रेम सम्बन्ध र आपसी बिश्वास,समझदारीले उनीहरू एक अर्काबाट छुट्यिएर अलग अलग बस्न नसक्ने परिस्थितिमा उनीहरू पुगे। उनीहरूले प्रेम सम्बन्धमा हुँदा नै संगै जीवन बिताउने, जिन्दगीका हरेक सुखदुःखमा संगै सहयात्रा गर्ने बाचा कसम खाईसकेका थिए। एक अर्कालाई निस्वार्थ प्रेम गर्ने उनीहरूले एक अर्कालाई दिएको बाचा बन्धन समाजको अबरोधका बीच पनि तोड्न उचित ठानेनन् बरु जसरी हुन्छ एक हुने अठोट सहित २०७५ साल मङ्सिर २ गते गाउँबाट अबको बाँकी जीवन संगै सहयात्रा गर्ने अठोट सहित गाउँबाट हिँडे ।पछिल्लो दिन सदरमुकाम मार्तडी पुगे। सोही दिन काठमाडौं झरेका थिए। काठमाडौंको बस चढेपछी दिपकले आफ्नो सपना पूरा भएको महसुस गरे। उनले भने" मैले बिवाहा गरे घर लिएको भए, घरमै आएर उनीहरूले लगिहाल्थे,त्यतीमात्रै होईन एक जना साथिको त पसल नै भत्काईदिएका थिए, त्यसैले मैले भगाएर काठमाडौं ल्याएको थिए"

बाजुराबाट हिँडिसकेपछि दिपकको मन हलुका भयो।उनीहरूको प्रेम सम्बन्धलाई त्यो समाजले बन्धक बनाएर राखेको थियो । जुन समाजले बिवाहा त टाढाको कुरा हो प्रेम सम्बन्ध समेत अस्विकार गरेको थियो । त्यहीँबाट मुक्ति पाएको आभास उनलाई भयो। जब उनी काठमाडौं पुगे। गाउँबाट भगाएर ल्याउन सफल भएका दिपक काठमाडौंको किर्तिपुरको नगाउँ भन्ने ठाउँमा कोठा भाडामा बसिरहेका थिए। प्रेम सम्बन्धमा हुँदा नै छुटाउन हरप्रयास गरेका प्रमिलाको परिवार र आफन्तले बिवाह गरेपछि थप सक्रियता बढाए। बिवाहा गरेर काठमाडौं भगाएर लिएपछि थाहा नपाउलान् भन्ने सोचमा रहेका दिपकको जिन्दगी माथि अर्को बज्रपात सुरु भयो। निकै कठिन संघर्ष गरेर आफुले माया गरेकी प्रमिलालाई काठमाडौं ल्याएर आएका दिपक दम्पती कोठामा बसिरहेका थिए। तर उनीहरु त्यहाँ बस्ने ठाउँ पत्ता लगाएर प्रमिलाका आफन्त कोठामै पुगे। प्रहरी समेत आफन्त संगै आए। संगै आएका प्रहरीले आफुहरुलाउउ नियन्त्रणमा लिएर प्रहरी बृत किर्तिपुर लगेको दिपकले बताएका छन् ।

आफन्तको साथमा आएका प्रहरीहरु माइती पक्षकै आफन्त रहेको उनको दाबी छ । उनका अनुसार प्रहरीले झण्डै दुई घण्टा लामो छलफल पछि आफन्तको जिम्मा लगाए। प्रमिलालाई उनका आफन्तले बागबजार लगे। प्रमिलालाई गाउँबाट भगाउन सफल हुँदा युद्ध जिते जस्तै खुसी महसुस गरेका दिपकको खुसी धेरै दिन टिक्न सकेन । सबै आशाहरु प्रमिला खोसिए संगै एकाएक निराशामा परिणत भए। आफू बिक्षिप्त भएको दिपक विगत समरण गर्दै सुनाउन्छन् । प्रमिलालाई उनीबाट आफन्तले खोसेर लगेपछि उनी हाँगाबाट खसे जस्तै भए। भरखरै सुरु भएको जिन्दगीको एक अध्याय सोही दिनबाट समाप्त भएको महसुस भएको दिपक बताउन्छन् ।

उनीहरूलाई अन्ततः एक अर्काबाट अलग गराउन सफल भए । उनीहरूले प्रमिलालाई दिपकबाट खोसेर लगे। कोठा भित्रै प्रमिला माथी निर्घात कुटपिट गरे। आफुलाई पनि कुटपिट गरेको दिपक बताउन्छन् । " बाजुराबाट हिँडेपछि अब ढुक्क भयौं भनेर काठमाडौंमा कोठा भाडा लगेर बसिरहेका थियौँ, तर जातकै कारण हामी माथिको अन्याय रोकिएन, कोठामै आएर कुटपिट भयो, उनीहरू जसरी पनि हामीलाई छुट्याउन चाहान्थे। तर हामी एक भएरै छोड्यौँ। त्यतिबेला प्रहरी सहित लिएर कोठामै आउने हालका बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक बोहराकी आमा राधिका बोहरा हुन् । उनले नै प्रहरी लगाएर आफुहरु माथि धरपकड गरेको दाबी छ । नगर प्रमुख बोहरा प्रमिलाका नातेदार हुन् । आफूहरुको प्रेम सम्बन्ध छुटाउन, जात नमिलेकै कारण अलग-अलग गराउन सिङ्गो समाज नै लागिपरेको दिपक सुनाउन्छन् ।

आफूहरु बीच प्रेम सम्बन्ध पछि नै बिवाह भएको प्रमिला बताउन्छिन् । परिवार र समाजले अहिलेसम्म पनि स्वीकार नगरेका कारण आफू ६ वर्ष देखि गाउँ नगएको उनले सुनाईन् । आफ्नो परिवार भन्दा पनि समाजले बढी पीडा र यातना दिएको प्रमिलाको भनाई छ । " उनले भनिन्, सानै उमेर थियो,एक अर्काबीच माया बस्यो, अहिलेको जस्तो परिपक्क उमेर नै थिएन, धेरै सोचिएन,अन्ततः बिवाहा गर्ने निर्णयमा पुग्यौं तर जात नमिलेकै कारण अहिले सम्म कोही बोल्दैनन्, समाजले पनि अपहेलना गर्छन् , समाजले नै बढी पिडा दिएको छ"

प्रमिलालाई सुरुमा त अहिले आबेगमा जे भनेपनी बिस्तारै स्वीकार गर्छन् भन्ने अपेक्षा थियो । तर त्यो अपेक्षा ६ वर्ष बित्दा पनि पूरा नभएपछि अब आश नै मरिसकेको उनले बताइन् । उनले एकपटक घरमा फोन गर्ने प्रयास गरेकी थिइन् तर परिवारबाट गाली सुन्न पर्यो। त्यसपछि उनले कहिँले फोन गर्ने प्रयास समेत गरेकी छैनन् । अन्तरजातीय प्रेम बिवाहा गरेकै कारण उनले अहिलेसम्म नागरिकता समेत पाएकी छैनन् । उनले बनाउन नचाहेकी होइनन् तर परिवारले नै बनाईदीदैनन् । प्रमिलाले भकानिदै सुनाइन् "एकपटक नागरिकता बनाईदिन पर्यो भनेर फोन गरेकी थिए, घरबाट नराम्रो संग गाली गरे, बनाईदिदैनौँ भने, त्यसपछि अहिले फोन गरेको पनि छैन। अन्तरजातीय बिवाहा गरेकै कारण अहिले सम्म नागरिकता बनेको छैन। बिवाहा दर्ता पनि छैन, अब परिवार र समाजले स्वीकार गर्छ भन्ने त आश पनि छैन तर अरु नागरिक सरह नागरिकता पाइदिए हुन्थ्यो "

प्रमिलाको नागरिकता नहुँदा छोराछोरी सेवासुबिधाबाट बन्चित:

आफ्नो श्रीमानले नागरिकता पाउनुपर्ने माग श्रीमान दिपकको पनि छ । परिवार नै नागरिकता दिन तयार नभएपछि आजसम्म नागरिकता नपाएको उनको भनाई छ । अहिले उनका एक छोरा र एक छोरी छन् । जेठो छोरा ५ वर्षका पुगिसकेका छन् । उनको जन्मदर्ता स्वास्थ्य कार्डको आधारमा बनाईएको भएपनि कान्छो छोराको जन्मदर्ता भने अझै बनेको छैन। आमाको नागरिकता नभएकाले आमा छोरा र छोरी राज्यबाट पाउनुपर्ने सबै सेवासुबिधाबाट बन्चित छन् । समाजले स्वीकार नगर्ने भएकै कारण अपमानित भएर बस्नु भन्दा यतै बस्न उचित हुने ठहर सहित गाउँ नगएको उनीहरू बताउन्छन्। १६ वर्ष उमेर पुगेपछि नेपाली नागरिकताको प्रमाण पत्र पाउने अधिकारबाटै प्रमिला बन्चित छन् । दिपक भन्छन्,अहिले पनि हामी माथि आक्रमण हुन सक्छ, त्यो बेला नै ज्यान मार्ने धम्की सम्म उनीहरू दिएका थिए, अहिले पनि घर जान हामीले असुरक्षित महसुस गरिरहेका छौँ, नागरिकता बनाउन जान पनि आट आएको छैन, स्थानीय सरकारले हामीलाई नागरिकता दिलाउन पहल गरोस् "

काठमाडौंमा कृषि व्यावसाय गर्दैं दिपक, महिनामै कमाउन्छन् लाखौं :

दलितको छोरा भएकै कारण उपल्लो जात भनिने क्षत्रीको छोरी बिवाहा गरेपछि गाउँ छोडेर राजधानी काठमाडौंमा बसिरहेका दिपकको अहिले आफ्नै कृषि फर्म छ। उनले अहिले चार वटा जर्सी गाई पालिरहेका छन् । काठमाडौंअम सुरुमा धेरै दु:ख गर्नुपर्यो। सानै उमेरका थिए उनीहरू । न त कामले न त दिमागले परिपक्क भएका थिए उनीहरू । सुरुवातीमा काठमाडौंमा गरेको संघर्ष र भोगेको दु:ख कति धेरै थियो त्यो सुनाएर साध्य नै नहुने दिपक सुनाउन्छन्। उनले एक वर्ष सम्म ज्याला मजदुरी गरेर खर्च व्यवस्थापन गरे । त्यसपछि उनीहरूले कृषि व्यावसाय सुरु गरे।

दूध बेचेर जिबिकोपार्जन गर्न सुरु गरेका दिपक र पर्मिलालाई समाजले हेला गरेपनि अन्ततः निरन्तरको कठोर संघर्ष र मिहिनेतले सम्मानजनक जीवन बाँच्ने परिस्थितिको निर्माण गरिदियो। अहिले उनले सञ्चालन गरेको व्यावसायबाटै उनीहरू महिनामै लाखौंको आम्दानी गर्छन् जेठो छोरालाई बोडिङ स्कुल पढाईरहेका छन् । घर खर्च धान्न कुनै समस्या छैन । परिवार र समाजको अपहेलना र तिरस्कारबाट पीडित पर्मिला अहिले दिपक जस्तो जीवन साथी पाउनु नै आफ्नो सौभाग्य ठान्छिन् ।

मृत दलितको शब बोकेर चर्चा बटुलेका नगर प्रमुख जीउँदा दलित माथिको अन्यायमा किन मौन ?

केही दिन अगाडि यहीँ अन्तरजातीय प्रेम जोडीकै गृह नगरका नगर प्रमुख जनक बोहराले एक दलित महिलाको मलामी गएर शब बोकेको तस्बिर सार्वजनिक भयो। नगर प्रमुख बोहराका समर्थकले नै उक्त तस्वीर सार्वजनिक गरे। यो संगै नगर प्रमुख बोहराको चौतर्फी प्रसंशा भयो। धेरैले उनको यो पहिलो प्रयास भन्दै सामाजिक सञ्जाल मार्फत अरुले पनि सिक्नुपर्ने धारणा राखे । कतिपयले आलोचना पनि गरे । केही दलित अधिकारकर्मीहरुले नगर प्रमुख बोहराले देखावटी स्टण्डबाजि गरेकै आरोप नै अगाए। तर नगर प्रमुख बोहरा भने आफ्ना लागि यो पहिलो घटना नभएको दाबी गर्छन् । तर नगर प्रमुख बोहरा माथि त्यहाँका दलित समुदायका व्यक्ति माथि भएको जातीय विभेदका घटनामा चाँसो नदेखाएको आरोप समेत लाग्यो । प्रमिला र दिपक पनि उनकै वडाका स्थानीय बासिन्दा हुन् । नगर प्रमुख बोहराकी आमाले नै आफुहरुलाई च्रम यातना दिएको दिपक दम्पतीको दाबी छ ।

आफ्नै वडा भित्रका नागरिकहरु अन्तरजातीय बिवाहा गरेकै कारण गाउँ बस्ने वातावरण छैन तर यसमा स्थानीय सरकारको ध्यान छैन । दिपक संगै अन्तरजातीय प्रेम बिवाहा गरेर भारतको मुम्बईमा बसिरहेका उनका साथी पनि गाउँ आएका छैनन् । यी र यस्ता घटाउनहरु प्रती बेखबर बोहराले मृत दलित महिलाको शब बोक्दै गरेको सार्वजनिक भएको तस्बिर र उनको प्रसंशा गर्नुको कुनै औचित्य नरहेको अन्तरजातीय बिवाहा गरेकै कारण गाउँ छोड्न बाध्य दिपक दम्पती बताउन्छन्। नगरपालिकाले अन्तरजातीय प्रेम बिवाहा गर्ने जोडीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने ठाउँमा आफ्नै वडा भित्रका घटना बारे समेत नगर प्रमुख बेखबर हुनु लज्जास्पद बिषय भएको उनीहरूको बुझाई छ ।

के भन्छन् नगर प्रमुख बोहरा : 

यो बिषयमा यता नगर प्रमुख जनक बोहरालाई सोध्दा उनले यो समस्या लिएर आफू कहाँ अहिलेसम्म कुनै जानकारी नआएको जिकिर गरेका छन् । उनले मिडियामा आइरहेको गुनासो अनुसार उनिहरु माथी अन्याय भएको भए कानुनी प्रक्रियामा जान समेत अनुरोध गरेका छन् । पीडितले भनेका कुरामा आफुलाई कुनै जानकारी नभएका बोहराले नागरिकता बनाउनका लागि उनिहरुले नै पहल नगरेको बताएका छन् । तपाइँको आमाले नै उहाँहरुलाई छुटाउन प्रयास गरेको च्रम यातना दिएको कुरा के हो भन्ने प्रश्नमा गलत गर्ने सबैलाई कानुनी कारबाही हुनुपर्ने बताउदै अन्याय नै भएको भए कानुनी कारबाहीमा जान भनेका छन् । यतिमात्र होईन मिडियामा बोलेर मात्रै समस्या समाधान नहुने जिकिर समेत गरे। उहाँहरुले गाउँ जान असुरक्षित महसुस गरिरहेको बताईरहनुभएको छ पालिकाले उहाँहरुलाई नागरिकता दिलाउन के भुमिका खेल्न सक्छ भन्ने प्रश्नमा गाउँनै आउन नदिने परिस्थिति हो भने पनि कानुनी बाटो रोज्न सुझाब दिएका छन् । बोहराले मिडियामा भनेका कुरा सबै सहि नभएको पनि जिकिर गरेका छन् भने सामाजिक सञ्जालमा बोलेर समस्या समाधान नहुने पनि बताएका छन् ।

पालिकाले खेल्न सक्ने भुमिकामा भने कुनै प्रतिक्रिया दिएका छैनन् । उनले आफू कहाँ यो समस्या नआएकाले यो बिषयमा धेरै नबोल्ने समेत बताए। बोहराले सुरुमा यो बिषयमा जवाफ दिन समेत आनाकानी गरेका थिए। बरु आजका मितिसम्म नागरिकता नपाउनुमा दोष पीडित अन्तरजातीय जोडीको नै भएको जिकिर गरेका छन् । तर यता पीडित दिपक लुवार दम्पतीले भने गाउँमा जान अझै पनि असुरक्षित महसुस गरिरहेको बताउन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?