राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा

राहदानी वितरण बुझ्दै सेवाग्राही नेपाली लिस्बन (पोर्चुगल), २८ मङ्सिरः फ्रान्सस्थित नेपाली दूतावासको टोलीले बिहीबारदेखि पोर्चुगलको राजधानी लिस्बनमा सुरु गरेको विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण घुम्ती शिविरमा राहदानी लिँदै सेवाग्राही नेपाली । फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईको नेतृत्वमा पोर्चुगल आएको दूतावासको टोलीले बिहीबारदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गर्न सुरु गरेको छ।तस्बिरः भरत प्रधान ÷रासस

राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा

अर्थ चौतारी

राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा

A A- A+

लिस्बन– नेपाली दूतावास फ्रान्सको टोलीले बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुरु गरेको छ । फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईको नेतृत्वमा पोर्चुगल आइपुगेको उक्त टोलीले राजधानी लिस्बनबाट ई–पासपोर्ट वितरण सुरु गरेको हो । टोलीले लिस्बनस्थित ओलाइसमा घुम्ती शिविर सञ्चालन गरेको छ ।

गत अगस्टमा लिस्बनमा सञ्चालित घुम्ती सेवा शिविरबाट राहदानी बनाउन आवेदन दिएका आवेदकहरूको तयार भएको राहदानी वितरण गर्न शिविर सञ्चालन गरिएको दूतावासले जनाएको छ ।

शिविरमा राहदानी लिने नेपालीको भीड लागेको छ । बिहीबार पहिलो दिन एक सय ४७ वटा ई–पासपोर्ट वितरण गरिएको टोलीले जनाएको छ । पोर्चुगलमा रहेका नेपालीको सहजताका लागि लिस्बनमै आएर राहदानी वितरण सुरु गरिएको राजदूत भट्टराईले बताए । छ दिनसम्म सञ्चालन हुने घुम्ती शिविरबाट दुई हजार पाँच सय ५४ वटा ई–पासपोर्ट वितरण गरिने तयारी छ ।

‘हामीले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा राहदानी वितरणका लागि टोली पठाउने तयारी गरिरहेका थियौँ । युरोप भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्रीले पोर्चुगलमा तत्कालै राहदानी वितरणको व्यवस्था मिलाउन भन्नुभयो’, उनले भने, ‘मन्त्रीको निर्देशन बमोजिम हिजोदेखि लिस्बनमा राहदानी वितरण गर्न सुरु गरेका छौँ ।’ टोलीले आज र भोली दुई दिन राहदानी वितरणसहित अधिकृत वारेसनामा प्रमाणीकरणको सेवा प्रदान गर्ने उनले जानकारी दिए ।

राहदानी विभाग काठमाडौँबाट राहदानी तयार भएको इमेल प्राप्त गरेका सेवाग्राहीलाई समय तालिकाअनुसार शिविरमा आई राहदानी बुझ्न राजदूत भट्टराईले आग्रहसमेत गरेका छन् ।

राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोलीले गत अगस्टमा राजधानी लिस्बनमा सञ्चालन गरेको ‘घुम्ती सेवा शिविर’ बाट ३ हजार आठ सय २९ नेपालीको ई–पासपोर्टका लागि जैविक तथ्याङ्क सङ्कलन गरेको थियो । जसमा करिब नौ सय ४० वटा राहदानी पेरिसबाटै वितरण भइसकेको दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?