असुरक्षित भवनबाट सेवा दिँदै इलाका प्रशासन कार्यालय

असुरक्षित भवनबाट सेवा दिँदै इलाका प्रशासन कार्यालय

अर्थ चौतारी

असुरक्षित भवनबाट सेवा दिँदै इलाका प्रशासन कार्यालय

A A- A+

भैरहवा (रुपन्देही), २४ भदौ । तत्कालीन मर्चवारको १८ गाविसलाई सेवा दिने उद्देश्यले २०४६ सालमा स्थापना गरिएको थियो, इलाका प्रशासन कार्यालय मझगावा । अहिले पनि उक्त कार्यालयले रुपन्देहीको दक्षिणी क्षेत्र कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रदान गरिरहेको छ । तीन वटा पालिकालाई सेवा प्रदान गर्ने इलाका प्रशासन कार्यालयको भवन भने जीर्ण बनेको छ ।

सिँचाइ कार्यालयको भवनबाट सेवा दिइरहेको यो भवनमा चार कोठा रहेको छ । राष्ट्रिय परिचयपत्रको लागि फोटो खिच्ने कोठामै स्टोर रुम बनेको छ । एका तिर विभिन्न कबाड रहेको छ भने सोही कोठाको अर्को तिर राष्ट्रिय परिचय बनाउनेको चाप हुन्छ । नागरिकता बनाउने कोठामा बिजुलीको तारमा पङ्खा झुण्डिरहेको छ । सुस्त गतिमा चलिरहेको पङ्खा गति बढाए कर्मचारीमाथि खस्ने जोखिम छ ।

अझ कार्यालय प्रमुखको कोठामा सेवाग्राही घाइते बनाउने गरी छतबाट इँट्टाका टुक्रा झर्ने गरेको छ । इँट्टाको छत रहेकाले पटक पटक इँट्टा खस्ने गरेको कार्यालय प्रमुख शोभा पाण्डे बताउँछन् । “गृहमन्त्रीदेखि यहाँका तीन वटै पालिकालाई मर्मतको लागि अनुरोध गरेँ, कतैबाट सहयोग भएन”, पाण्डेले भने, “अहिले जोखिममै बसेर डराउँदै काम गरिरहेका छौँ ।”

इलाका प्रशासन कार्यालय मझगावामा सेवाग्राहीको चाप पनि उस्तै छ । नागरिकता र नागरिकताको प्रतिलिपि मात्र गरी दैनिक ६० वटाभन्दा बढी बन्ने गरेको छ । कार्यालय भवन साँघुरो मात्र छैन, यहाँ सेवाग्राहीका लागि प्रतिक्षालयसमेत छैन । सेवाग्राहीहरु घाममै बसिरेहका हुन्छन् । एक मात्र शौचालय छ जसलाई सेवाग्राही र कर्मचारीले प्रयोग गर्छन् ।

यस्तो अवस्थामा आफूले चाहेको जस्तो सेवा दिन नसकेको कार्यालय प्रमुख शोभा पाण्डे बताउँछन् । कार्यालयमा एक जना सुब्बा र एक जना अधिकृत तथा एक जना कम्प्युटर अपरेटर छन् ।

मर्चवारको तीनवटै पालिकालाई जीर्ण भवन मर्मत एवं प्रतिक्षालय निर्माणका लागि आग्रह गरिए पनि कसैले नसुनेको पाण्डेले बताए । “नयाँ बजेट बन्ने समयमै हामीले सबै पालिकालाई इलाका प्रशासन कार्यालयको लागि भन्दै बजेट छुट्टयाउन आग्रह गरेका थियौँ”, उनले भने, “तर अहिले बुझ्दा कुनै पनि पालिकामा बजेट विनियोजन भएको हामीले थाहा पाएनौँ ।”

कार्यालयमै भेटिनुभएका सेवाग्राही विशेश्वरप्रसाद हरिजनले भवन जीर्ण रहेकाले कार्यालय आउँदा असुरक्षित महसुस गरेको बताए । उनले भवन जीर्ण भइसकेको कारण यसलाई मर्मत गर्नुको सट्टा नयाँ कार्यालय भवन बनाउनुपर्ने बताए ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?