हराउँदै तिजको मौलिकता

हराउँदै तिजको मौलिकता

अर्थ चौतारी

हराउँदै तिजको मौलिकता

A A- A+

घोडाघोडी (कैलाली), भदौ १४ गते । हिन्दु महिलाले मनाउने तिज पर्व मनाउने तरिकामा सहरदेखि गाउँसम्म परिवर्तन देखिएका छन् । तिज आउनु हप्तौँअघि नै मन मिल्ने समूह बनाउने र होटेलमा दर खाने कार्यक्रम सुरु भइसकेको छ । भड्किलो बन्दै गएको तिज सामान्य महिलाका लागि ‘मन अमिलो’ बन्ने पर्व हुन थालेको छ । तिज पर्व भड्किलो र विकृति भित्रिँदै गएको भन्दै कैलालीको घोडाघोडी नगरपालिकाका महिलाले गौरा तथा तिज मिलन कार्यक्रम आयोजना गरी पर्वको मौलिकतामा जोड दिएका छन् ।

घोडाघोडी महिला सञ्जाल गठन गरी पछिल्लो समय घोडाघोडीका महिला विकृति र विसङ्गतिविरुद्ध एक हुन थालेका हुन् । सञ्जालका अध्यक्ष रमा आचार्यले घोडाघोडी नगरपालिकाका सबै वडाका महिलालाई सञ्जालमा जोड्दै महिला हिंसा, विकृति, विसङ्गतिविरुद्धको अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले तिजको मौलिकता जोगाउन नगर क्षेत्रका ६० जना महिला एकजुट भई मादलको तालमा जनचेतनामूलक तथा मौलिक तिज गीतमा रमाएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला पहिला तिज आउनुभन्दा एक महिनाअघि गाउँका महिला दिनभरिको काम गरी साँझ एक ठाउँमा जम्मा भई मादलको तालमा आफ्ना दुःखसुख तिजका गीतको भाकामा घन्काइन्थ्यो, हिजोआज एक महिनाअघि नै होटेलमा दर खाने होडबाजी चलेको छ ।”

अध्यक्ष आचार्यले होटलमा दर खाने र डिजेमा नाच्ने प्रचलनले तिजको मौलिकता हराउँदै गएको बताउनुभयो । सञ्जालको आयोजनामा घोडाघोडी मन्दिरनजिक रहेको वनभोज स्थलमा मादलको तालमा महिलाले विभिन्न तिजका भाकामा रमाउँदा कतिपयले वर्षौंपछि यसरी रमाउन पाएको बताए । घोडाघोडी नगरपालिका–२, साँडेपानीकी रेखा देवकोटा मादल बजाउन सिपालु  हुनुहुन्छ । उहाँले आफूले विद्यालय पढ्दै गर्दा सिकेको मादल बजाउने सिप सञ्जालले आयोजना गरेको मौलिक तिज मिलन कार्यक्रममा तिजका भाकासँगै बजाउन पाउँदा खुसी लागेको बताउनुभयो ।

दिनभर मादलको तालमा रमाउन पाएकोमा धेरै महिलाले तिजको दिनमा समेत मादलकै तालमा मौलिक तिज कार्यक्रम गर्नुपर्ने धारणा राखेका थिए । घोडाघोडी नगरपालिका–७ की पार्वती तिवारीले पुराना तिजका गीतसमेत भुलिसकेको अवस्थामा मौलिक तिज कार्यक्रमले पुराना तिजका भाकासँगै चेतनामूलक गीत बनाएर मादलको तालमा गाउन उत्प्रेरणा दिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?