हुरीले छानो उडाएपछि स्कुलको धुरी चढेका ‘म्याडमहरु’ !

हुरीले छानो उडाएपछि स्कुलको धुरी चढेका ‘म्याडमहरु’ !

अर्थ चौतारी

हुरीले छानो उडाएपछि स्कुलको धुरी चढेका ‘म्याडमहरु’ !

A A- A+

काठमाडौं । जेठ १७ गते आएको हावाहुरीले तनहुँको बन्दीपुर गाउँपालिका–३ मा रहेको सरस्वती आधारभूत विद्यालयको टिनको छानो उडायो । हावाहुरीले स्कुलको छानो उडाएपछि प्रधानाध्यापक सरस्वती भट्टराईले पालिकामा खबर गरिन् ।पालिकाले अर्को दिन त्रिपाल पठायो । तर, त्यो त्रिपाललाई पनि १८ गतेको हावाहुरीले च्यातचुतमात्रै पारेन, उडाएरै लग्यो । त्यसको केही दिनपछि पानी पर्न थाल्यो, कक्षा कोठामा विद्यार्थी राखेर पढाउन सक्ने स्थिति नै बनेन ।‘पानी परेको पर्‍यै गरेर विद्यार्थीको त बिजोग भयो । कक्षामा पानी चुहिएर पढाउनै नसक्ने स्थिति आयो’, प्रधानाध्यापक भट्टराईले अनलाइनखबरसँग भनिन्, ‘छेउको अर्को भवनको चाहिँ हावाले छानो उडाएन । त्यही भवनमा अफिस र विद्यार्थी एकै ठाउँ राखेर पढाइराखेका छौं । त्यो भवन पनि जीर्ण छ ।’पालिकाले छानो छाउन केही समय लाग्ने जवाफ पठाएको भट्टराई सुनाउँछिन् । ५ सम्म पढाइ हुने उक्त स्कुलमा ३१ जना विद्यार्थी पढ्छन् । पालिकाले पनि छानो छाउन केही समय लाग्ने जवाफ पठायो ।सबै कक्षाका विद्यार्थी र कार्यालय एकै ठाउँमा राखेर पढाउन सकस भएपछि सोमबार त्यहाँ ३ जना शिक्षिका आफैं धुरी चढे र हावाले उडाएको टिन ठाकठुक पार्न थाले । धुरीमा त्यही स्कुलमा कार्यरत वन्दना भट्टराई, शुभकामना कुँवर र निर्मला राना चढेर मर्मत गरेका थिए ।‘उहाँहरु माथि चढेर टाल्न थाल्नुभयो । हामी तलबाट सहयोग गर्‍यौं । विद्यार्थीलाई त पढाउनुपर्‍यो नि !’ भट्टराईले भनिन्, ‘पालिकालाई खबर गर्दा ढिलो हुने भनेपछि आफैं काम गरेका हौं ।’सरस्वती आधारभूत विद्यालयमा ७ जना शिक्षक छन् । विद्यालयका २ वटा भवन छन् तर, दुवै जीर्ण भइसकेका छन् । हावाहुरी र वर्षातको समयमा छना चुहिँदा पढाउन निकै सास्ती खेप्नुपर्ने बाध्यता रहेको भट्टराईले गुनासो पोखिन् ।बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा १७ गतेको हावाहुरीले पालिकाका एक सयभन्दा बढी घरको छाना उडाएको जानकारी दिए । हावाहुरीले क्षति पुर्‍याएका घरपरिवारलाई राहत बाँड्ने काम भइरहेको र पहिलो प्राथमिकता नै स्कुललाई दिइएको उनले बताए ।‘हावाहुरीले छानो उडाएको भोलिपल्टै पालिकाबाट त्यहाँ त्रिपाल पठाएको हो । त्यसको छानो छाउनका लागि प्राविधिकको टोली पठाएर स्टिमेट ल्याउन भनिएको छ’, अनलाइनखबरसँग उनले भने, ‘स्टिमेट आएपछि के गर्ने तय हुन्छ ।’ उनले पालिकाभरि धेरैको घरमा क्षति पुगेकाले अहिले राहत वितरणमै समय दिइरहेको सुनाए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?