‘लाज शरणम्’को अर्थपूर्ण पोस्टर : गम्भीर कथामा कमेडीको संकेत

‘लाज शरणम्’को अर्थपूर्ण पोस्टर : गम्भीर कथामा कमेडीको संकेत

अर्थ चौतारी

‘लाज शरणम्’को अर्थपूर्ण पोस्टर : गम्भीर कथामा कमेडीको संकेत

A A- A+

चर्चित हास्य सिरियल ‘सक्किगोनि’ समूहले निर्माण गरेको पहिलो फिल्म ‘लाज शरणम्’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा बुधबार सार्वजनिक तीनवटा पोस्टरले फिल्मको कथासार बुझाउँछ । तीनमध्ये दुई पोस्टरमा कफिन (शव राख्ने बाकस) देखिन्छ । यसले वैदेशिक रोजगारीमा जानुपर्ने देशको स्थिति र त्यसले निम्त्याएको कहालीलाग्दो कहर बोल्छ ।

एक पोस्टरमा कफिनबाट अर्जुन घिमिरे (पाँडे), हरिस निरौला (क्रकोज), विजय बराल र सागर लम्साल (बले)ले आश्चर्य र खुसी मिश्रित भावमा केही हेरिरहेका छन् । अर्जुन ‘सक्किगोनि’को चर्चित पात्र पाँडेकै हुलियामा देखिएका छन् । दोस्रो पोस्टरमा सुनको विस्कुट र यार्सा जोखिएको तराजु लिएर एक पात्र अर्धनग्न अवस्थामा कफिनमाथि उभिएका छन् ।

तेस्रो पोस्टरमा भने अनुहार खरानीले पोतेको, शिरमा कालो फेटा बाँधेको, लट्टा परेको लामो कपाल, सेतै फुलेको लामो दाह्री, घाँटीमा रुद्राक्षको माला लगाएर शिवको अवतारमा देखिएका हरिसको ढाडमा चढेर विजयले हड्डीको शंख फुकिरहेको देखिन्छ । सम्पत्तिको लोभ र बाध्यताले मान्छे कसरी मृत्युसम्म पुगिरहेको छ भन्ने भाव दर्शाउन सार्वजनिक पोस्टरहरु अर्थपूर्ण छन् । फिल्मले हास्य शैलीमा गम्भीर कथा भन्ने पोस्टरले संकेत गर्छ ।

महाशिवरात्रिको अवसर पारेर आगामी फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् । यसमा मुकुन्द श्रेष्ठ, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, कमलमणि नेपाल, माला लिम्बू लगायतको अभिनय छ । सुदीप बरालको छायांकन रहेको फिल्मको निर्मातामा नवीन श्रेष्ठ तथा सह-निर्मातामा राम नरेश शाह र सृजना खड्का छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?