विश्वकै पहिलो मोडुलर क्रिकेट स्टेडियम जहाँ टी–२० विश्वकपका आठ खेल खेलाइँदैछ

विश्वकै पहिलो मोडुलर क्रिकेट स्टेडियम जहाँ टी–२० विश्वकपका आठ खेल खेलाइँदैछ

अर्थ चौतारी

विश्वकै पहिलो मोडुलर क्रिकेट स्टेडियम जहाँ टी–२० विश्वकपका आठ ...

A A- A+

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । अमेरिकाका लागि क्रिकेट खासै चर्चित खेल होइन । अमेरिकामा क्रिकेटको विश्वकप आयोजना हुन लागेको पनि यो पहिलो पटक हो ।

आगामी टी–२० विश्वकपका खेलहरू वेस्ट इन्डिजका ६ र अमेरिकाका तीनवटा स्टेडियममा खेलाइने भएको छ । आगामी विश्वकपका लागि तयार पारिएको अमेरिकाको तीनमध्ये एउटा स्टेडियमको चर्चा यतिबेला निकै चुलिएको छ ।

न्यु योर्कस्थित नासाउ काउन्टी क्रिकेट स्टेडियम विश्वकै पहिलो मोडुलर क्रिकेट स्टेडियम भएकाले पनि यसले निकै चर्चा पाएको हो । यो स्टेडियम आगामी टी–२० विश्वकपलाई ध्यानमा राखेर मात्र तयार पारिएको हो । यो अस्थायी प्रकृतिको क्रिकेट स्टेडियम हो ।

नवौँ टी–२० विश्वकपमा दुई चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबिचको खेल पनि यही स्टेडियममा खेलाइने छ । भारत र पाकिस्तानबिचको खेल जुन ९ तारिखमा हुनेछ । यो स्टेडियममा उद्घाटन मे २१ तारिखमा विश्वकै सर्वाधिक तीव्र गतिका धावक उसेन बोल्टले गरेका थिए ।

आठ पटकका ओलम्पिक स्वर्ण पदकधारी धावक बोल्टले यो स्टेडियमको उद्घाटनका क्रममा ब्याटिङ पनि गरेका थिए । उद्घाटन समारोहमा वेस्ट इन्डिजका प्रभावशाली क्रिकेटर कर्टनी वाल्सको पनि उपस्थिति रहेको थियो । यसका अतिरिक्त अन्य केही चर्चित क्रिकेटर पनि उद्घाटन समारोहमा उपस्थित थिए ।

यो स्टेडियम तयार पार्न करिब चार अर्ब रुपैयाँ खर्च भएको बताइएको छ । यो स्टेडियममा अस्ट्रेलियामा तयार पारिएको पिचको प्रयोग गरिएको छ । दर्शकलाई बस्नका लागि भने फर्मुला–वन को स्ट्यान्ड प्रयोगमा ल्याइएको छ ।

टी–२० विश्वकपको नवौँ संस्करण सकिए लगत्तै यो स्टेडियमलाई पुनः पार्कमा परिणत गरिने छ । यो स्टेडियम तयार पार्न स्टिल र सजिलै हटाउन सकिने धातुहरूको प्रयोग गरिएको छ । यो स्टेडियममा फुटबल र बेसबल स्टेडियममा प्रयोग गरिने बरमुडा घास पनि लगाइएको छ ।

यो अस्थायी प्रकृतिको स्टेडियम भएकाले विश्वकप क्रिकेट सकिएपछि यसमा अन्य खेल गतिविधि पनि सञ्चालन गर्न सकिने छ । विश्वकपका लागि पूर्वाधार तयार पार्न समयको कमी र पर्यावरणको मुद्दाका कारण स्थायी प्रकृतिको संरचना तयार नपारेर मोडुलर क्रिकेट स्टेडियम बनाइएको समाचारमा जनाइएको छ ।

टी–२० विश्वकपका लागि ६ महिनाभित्र न्यु योर्कमा नयाँ स्टेडियम बनाउनु पर्ने बाध्यता थियो । यति कम समयमा अस्थायी प्रकृतिको रंगशाला बनाउनुको विकल्प थिएन । अस्थायी प्रकृतिको स्टेडियम बनाउँदा यसले पर्यावरणमा पनि कुनै असर पुर्‍याउने सम्भावना थिएन ।

नवौँ विश्वकप सकिएपछि यो स्टेडियमलाई पहिलेकै अवस्थामा ल्याएर स्थानीय समुदायलाई हस्तान्तरण गरिने बताइएको छ । पछिल्लो समय जुन सहरमा खेलकुदका ठुला गतिविधि निकै कम हुन्छन्, त्यस्तो स्थानमा अस्थायी प्रकृतिको रंगशाला उपयुक्त विकल्पको रूपमा देखिन थाले को छ ।

नासाउ काउन्टी क्रिकेट स्टेडियमको दर्शक क्षमता ३४ हजार रहेको छ । अस्थायी प्रकृतिको भए पनि यो स्टेडियममा सामान्यदेखि विशिष्ट दर्शकका लागि समेत उपयुक्त व्यवस्था गरिएको छ । यसका अतिरिक्त सञ्चारकर्मीका लागि आवश्यक सम्पूर्ण सुविधासमेत उपलब्ध गराइएको छ ।

नासाउ काउन्टी क्रिकेट स्टेडियममा ड्रप–ईन पिचको प्रयोग गरिएको छ । यो स्टेडियमका लागि १० वटा पिच अस्ट्रेलियाको एडिलेड सहरमा तयार पारिएको थियो । करिब ३० टन भारी ती पिच गत डिसेम्बरमा पानी जहाजमार्फत अमेरिकाको फ्लोरिडा ल्याइएको थियो ।

त्यसपछि फ्लोरिडामा पाँच महिनासम्म पिचको हेरचाह गरी अझ उत्कृष्ट बनाइएको थियो । त्यसपछि त्यो पिच नासाउ काउन्टी क्रिकेट स्टेडियम ल्याएर जडान गरिएको थियो । १० वटा पिचलाई फ्लोरिडाबाट सडक मार्ग हुँदै न्युयोर्क पुर्‍याउन करिब चार दिन समय लागेको थियो ।

फ्लोरिडाबाट पिचलाई नासाउ काउन्टी क्रिकेट स्टेडियमसम्म पुर्‍याउन ३० टन क्षमताभन्दा बढी भार वहन गर्न सक्ने ट्रक र कन्टेनरको प्रयोग गरिएको थियो । पिच ओसार्ने क्रममा सर्वसाधारणका लागि केही समय सडक पनि अवरुद्ध गरिएको थियो ।

न्यु योर्कको मौसम पिच तयार पार्न उपयुक्त नरहेकाले अस्ट्रेलियाबाट ल्याएपछि पिचलाई पाँच महिनासम्म फ्लोरिडामा राखिएको जानकारी आईसीसीका ईभेन्ट प्रमुख क्रिस टेटलीले बताएका छन् । उनका अनुसार, अस्ट्रेलियाबाट सिधै न्यु योर्क ल्याइएको भए चिसोका कारण पिचमा समस्या देखिन सक्थ्यो ।

क्रिकेट विश्वकपमा लगातार दोस्रो पटक ड्रप–ईन पिचको प्रयोग गरिएको हो । यसअघि सन् २०२२ मा अस्ट्रेलियामा सम्पन्न टी–२० विश्वकपमा पनि यस्तै पिचको प्रयोग गरिएको थियो । त्यतिबेला अस्ट्रेलियाको एडिलेड ओभल मैदानमा यस्तो पिच प्रयोग गरिएको थियो ।

यसैगरी आईसीसी एकदिवसीय विश्वकपमा पनि ड्रप–ईन पिच प्रयोगमा ल्याइसकिएको छ । सन् २०१५ मा सम्पन्न विश्वकपका क्रममा न्युजिल्यान्डस्थित अकल्यान्ड स्टेडियममा यस्तो पिच प्रयोगमा ल्याइएको थियो ।

नासाउ काउन्टी क्रिकेट स्टेडियममा नवौँ विश्वकपको कुल आठ खेल खेलाइने छ । जुन ३ तारिखमा दक्षिण अफ्रिका र श्रीलंकाबिच यो स्टेडियममा विश्वकपको पहिलो खेल खेलिने छ । यही स्टेडियममा जुन १ तारिखमा भारत र बंगलादेशबिच अभ्यास खेल पनि खेलिने कार्यक्रम छ ।

विश्वकप क्रिकेटमा मोडुलर स्टेडियम प्रयोगमा ल्याइएको यो पहिलो पटक हो । तर, फर्मुला–वन, मोटो जीपी, ओलम्पिक, बेसबल, फुटबलजस्ता विश्व चर्चित खेलमा भने यसअघि पनि मोडुलर स्टेडियमको प्रयोग हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?