तिहारको देउसी-भैलो किन र कसरी खेलिन्छ ?

तिहारको देउसी-भैलो किन र कसरी खेलिन्छ ?

अर्थ चौतारी

तिहारको देउसी-भैलो किन र कसरी खेलिन्छ ?

A A- A+

काठमाडौँ । तिहार नेपालीहरूको महान चाँड हो । तिहार पाँच दिन मनाइन्छ जसलाई यमपन्चक पनि भनिन्छ । तिहार खास गरि रङ, फूलको झिलिमीली, प्रकृति पूजन र बत्तीहरुको पर्व हो ।

यसमा काग, कुकुर, गाई गोरु र भाईको धुमधामसँग पूजा र अर्चना गरिन्छ। औशीको दिन धनधान्यकि देवि लक्ष्मीको पूजा गरिन्छ।लक्ष्मी पूजा गरिसकेपछी किशोरीहरुले भैलो खेल्ने गर्छ्न् । भोलीपल्ट गोरु-गोवर्धन पूजा गरेपछी देउसी खेल्ने देउसीहरु देउसी गीत गाएर रमाइलो गर्छन । बुढाँपाकाहरु पुरानो भाकाले देउसी भट्याउछ्न् भने युवायुवतीहरु पुरानो र नयाँ भाका मिश्रित गरि आ-आफ्नै भाकाले देउसी खेल्छ्न् ।

भैलो

समुहमा मिलेर केटीहरूले गाउने गीत भैलो हो जुन तिहारको औशीको दिन लक्ष्मिको पूजा गरिसकेपछी घर घर गएर गाइन्छ । हिमाल, पहाड र तराई भएको देश नेपालको यो एउटा पुरानो संस्कृति पनि हो जसमा किशोर किशोरीहरु जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर भैलो गीत गाउँछन ।

यो गीत गाउँदा साधारणत: एक जना मुख्य भैलेनी हुन्छन् र समूहका अरू ब्यक्तिहरू मुख्य ब्यक्तिको भैलेनी भन्दै गीतको अन्त सम्म अनुसरण गर्छन् । भैलो खेलेको घरवाट दान, सिधा र दक्षिणा दिन्छ्न् । त्यसपछि मुख्य ब्यक्तिले भैलो गीतको अन्तमा घरका सबै जनालाई शुभकामना र आशिष दिन्छ र समुहका मान्छेहरू भैलो भन्दै गर्छन ।

भैलो गीतको एउटा नमूना यस्तो छ:

भैली गीत

भैलिनी आईन आगन,बढारी कुडारी राखन

हे ! औसी को बारो,गाई तिहारो भैलो

हरियो गोबरले लिपेको,लक्ष्मी पूजा गरेको

हे ! औंसीको बारो,गाई तिहारो भैलो

भैलिनी आईन आगन, गुनिया चोलो माँगन

हे ! औसीको बारो, गाई तिहारो भैलो

हामी त्यसै आएनौँ, बलि राजाले पठाको

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

अरुदिन आउने जोगिनी, आज आउने भैलेनी

हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको

हे ! औंसीको बारो, गाई तिहारो भैलो

भैलिनी आईन आगन, गुनिया चोलो मागन

हे ! औसीको बारो, गाई तिहारो भैलो

घरबेटी आमा बोल्दै छिन्, सूनको दैलो खोल्दै छिन्

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

छाना माथि घिरैला, के - के दिन्छिन हेरौँला

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

लक्ष्मी पूजाको राती भैलीका मुखमा सन्तोषी

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

यो घरकी आमा कस्ति छिन्, लक्ष्मी माता जस्ती छिन् ।

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

कति दिऊ के दिऊ भन्दैछिन, रुपैया पैसा गन्दै छिन

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

धमीराको ताती, हामीलाई भो राती

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

घोडा बान्ने तवेला, हामीलाई भयो अबेला

हे ! औंसीको बारो, गाई तिहारो भैलो।

दिने भए सिधा देउ, नदिने भए बिदा देउ

हे ! औंसीको बारो, गाई तिहारो भैलो ।

जसले दिन्छ मानो, उसको सूनको छानो

जसले दिन्छ पाथी, उसको सुनको छात्ती

जसले दिन्छ मूरी, उसको सूनको धुरी ।

.........................................................

आशिष् यसरी पनि दिन्छ्न्:

आहै, भन मेरा संगी हो- भैलेनी, आहै भट्याउनेको- भैलेनी आहै, सोरैमा ढाकी- भैलेनी, आहै रामरी भन्- भैलेनी, आहै, आशिष दिनु- भैलेनी, आहै, यसैमा घरको -भैलेनी, आहै, भडारमा- भैलेनी, आहै लक्ष्मीले - भैलेनी, आहै, बासै गरून्- भैलिनी, आहै ढुङ्गामा छुदा- भैलेनी, आहै, द्रव्य होस- भैलेनी, आहै, माटोमा छुदा - भैलेनी, आहै अन्न बनोस- भैलेनी, आहै, पानीमा छुदा भैलेनी, आहै तेलमा बनोस - भैलेनी, आहै, यसैमा घरका - भैलेनी, आहै घरबेटी बाबा - भैलेनी, घरबेटी आमा - भैलेनी, लाला र बाला - भैलेनी, केटा र केटी - भैलेनी, आहै, बरपिपल जस्तै- भैलेनी,आहै, तपि रहुन - भैलेनी, आहै, दुवोमा जस्तो - भैलेनी, आहै, मौलाइ रहुन्- भैलेनी, आहै, नाम र किर्ति - भैलेनी, आहै, फैलिमा रहोस- भैलेनी, आहै, यसै घरमा-भैलेनि, आहै, सुख र शान्ति-भैलेनी, आहै, सधैमा रहोस्- भैलेनी...............आहै, लेकको काने- भैलेनी, आहै औलाको माने- भैलेनी, आहै, आशिष दिन- भैलेनी, आहै, यतिकै जाने- भैलेनी ।

यति भनिसकेपछि भैलेनीहरु हाँसी मजाक गर्दै रमाइलो गर्दै फेरि अर्को घरमा भैलो खेल्न जान्छ्न् ।

तिहार नेपालीहरुको एउटा पुरानो साँस्कृतिक पर्व हो। तिहारको हलि तिहार र भाइ तिहारको दिन पुरुषहरू जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर देउसी गीत गाउँछन र देउसी खेल्छ्न्। रमाइलो गर्छ्न् । खासमा ‘देउसिरे’ देव श्री रामबाट अपभ्रङ्श भएर आएको हो भन्ने परम्परागत मान्यता रहेको छ ।

देउसी खेल्न युवा र केटाकेटी मात्रै होइन, प्रौढ र पाका उमेरका मान्छेहरु पनि निकै रमाइलो मान्छन् । टोली नाइकेले भट्याउनेले लय हालेर नाटकीय शैलीले भट्टयाउने र सहभागीहरुले देउसीरे घन्काउँदै सामूहिक रुपमा नाँच्ने चलन नेपालको मौलिक विशेषता हो । नाँच्ने क्रममा यस घरको मन ठूलो छ, दान पनि ठूलै हुन्छ, देउसे भैलोलाई मुठीखोलेर दान दिन्छन्, मिठामिठा परिकार दिन्छन्, भनिन्छ। त्यसै क्रममा हामी त्यसै आएका हैनौं, बलिराजाले पठाएको भन्ने गरिन्छ ।

यो गीत गाउँदा साधारणत: एक जना मुख्य:- भट्याउने हुन्छन् र मण्डली समूहका अरू ब्यक्तिहरू मुख्य ब्यक्तिको देउसिरे भन्दै गीतको अन्त सम्म अनुसरण गर्छन।

 

देउसी गीत

देउसी टोलीको मुख्यले भन्छ - "आहै झिलिमिली झिलिमीली"

मण्डली समूह: देउसिरे !

भट्याउने: "आहै के को झिलिमीली"

मण्डली समूह - देउसिरे!

भट्याउने"आहै फूलको झिलिमिली"

समूह - देउसिरे!

भट्याउने:"आहै बत्तीको झिलिमिली"

समूह - देउसिरे!

भट्याउने:"आहै, भन मेरा भाइ हो"

समूह - देउसिरे!

भट्याउने " हे राम्ररी भन"

समूह - देउसिरे!

भट्याउने - "आहै,स्वर मिलाई भन"

समूह - देउसिरे!

भट्याउने "आहै, भन न भन"

समूह - देउसिरे!

भट्याउने "आहै देउसीरे खेल्न"

समूह: देउसिरे!

भट्याउने"आहै आएका हामी"

समूह: देउसिरे!

भट्याउने:"आहै,बर्षमा दिनको"

समूह - देउसिरे!

भट्याउने:आहै,चाड र वाड"

समूह - देउसिरे!

भट्याउने:"आहै,मनाउन भनी"

समूह - देउसिरे!

भट्याउने:आहै आएका हामी"

समूह - देउसिरे!

भट्याउने:"आहै रातो माटो"

समूह - देउसिरे!

भट्याउने:"आहै, चिप्लो बाटो "

समूह - देउसिरे!

भट्याउने:"आहै, लड्दैमा पढ्दै "

समूह - देउसिरे!

भट्याउने:"आहै, आएका हामी"

समूह - देउसिरे!

भट्याउने:"आहै, भनभन भाइ हो"

समूह - देउसिरे!

भट्याउने:"आहै, राम्ररी भन "

समूह - देउसिरे!

भट्याउने:आहै, तीन दिन तिहार"

समूह - देउसिरे!

भट्याउने:"ए, पाँच दिन पन्चक"

समूह - देउसिरे!

भट्याउने:"मनाउनैं पर्छ"

समूह - देउसिरे!

भट्याउने:आहै, हामी त्यसै"

समूह - देउसिरे!

भट्याउने: "आहै,आएका हैनौ"

समूह - देउसिरे!

भट्याउने:बलिराजाले पठाएको"

समूह - देउसिरे!

भट्याउने:"आहै, भन मेरा भाइ हो"

समूह - देउसिरे!

भट्याउने: " हे राम्ररी भन"

समूह - देउसिरे!

भट्याउने:"आहै,आखाम बाखम"

समूह - देउसिरे!

भट्याउने:"सेलरोटि चाखम"

समूह - देउसिरे!

भट्याउने:आहै, भन मेरा भाइ हो"

समूह - देउसिरे!

....................................

यस्तै प्रक्रिया चल्दै गएपछि देउसी खेल्न गएको घरबाट नाङ्लोमा दियो, कलस, फूल, अगरबत्ती, चामल, रुपैया पैसा, सेलरोटी, फलफूल आदि विभिन्न प्रकारका चीजहरु ल्याएर आँगन वा कौसीमा राखि दिन्छन् ।

मुख्य ब्यक्ति लगाएत देउसे त्यसैको वरिपरि घुम्दै देउसी खेल्दै नाँच्छन्। देउसिको मुख्य ब्यक्ति भट्याउनेले गएको घरका सबै जनालाई देउसी गीतबाटै शुभकामना र आशिस दिन्छ र समुहका अरु मान्छेहरू देउसुरे देउसुरे भन्दै गर्छ्न् । र दक्षिणा फलफूल सेलरोटी आदि लिएर देउसे अर्को घरतिर लाग्छ ।

तिहार सांगीतिक तथा झिलीमिलीको पर्व पनि हो । यतिबेला नाचगान गर्ने परम्परा छ । रमाइलो त के भने तिहारको आफ्नो विशिष्ट देउसी -भैलो गीत छ । त्यसलाई पेश गर्ने कौसल पनि आफ्नै किसिमको छ । आफ्नै भाका र लय छ ।

तिहारको अझ भनौ गाईतिहारको दिन लक्ष्मी पूजीसकेपछी महिलाहरु घर-घरमा गएर ‘भैलिनी आइन् आँगन’ भन्दै एकै स्वरमा लय हाल्दै भैली खेल्छ्न् ।

तिहारको गोरु तिहार र भाइटीका का दिन खासगरी पुरुषहरूले देउसी खेलेर खुव रमाइलो गर्छ्न्। भाइटिकाको दिन दिदिबहिनीले दाजुभाइलाई निधारमा सप्तरङी टीका र फूलको माला लगाउँदै आशीर्वाद दिन्छ्न् ।

यसरी तिहारले प्रकृति पूजा, प्राणीहरुको पूजा गरि एक आपसी मेलमिलाप, सद्भाव, माया, प्रेम, स्नेहको पर्वको रुपमा भब्य रुपले मनाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?