एसइईमा ३५ प्रतिशत नम्बर नल्याउनेलाई ननग्रेड

एसइईमा ३५ प्रतिशत नम्बर नल्याउनेलाई ननग्रेड

अर्थ चौतारी

एसइईमा ३५ प्रतिशत नम्बर नल्याउनेलाई ननग्रेड

A A- A+

राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको यस पटकको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा आउँदो असारको दोस्रो साता प्रकाशन गर्ने तयारी गरिरहेको जनाएको छ।

बोर्डले यस पटक लिएको परीक्षामा विद्यार्थीले प्रत्येक विषयमा ३५ प्रतिशत अंक नल्याए शैक्षिक योग्यताको प्रमाणपत्रमा ननग्रेड लेखेर आउनेछ। यसको अर्थ विद्यार्थी फेल भएको मानिनेछ। ग्रेडिङ प्रणालीबाटै नतिजा प्रकाशन गरिने भएकाले शैक्षिक योग्यताको प्रमाणपत्रमा फेल वा पास लेख्न नमिल्ने भएकाले ननग्रेड लेखिने बोर्डले बताएको हो।

विद्यालय तहको शिक्षामा शैक्षिक गुणस्तर कायम गर्न र विद्यार्थीलाई अध्ययनशील र शिक्षकलाई जिम्मेवार बनाउन यस पटकदेखि बोर्डले विद्यार्थी पास हुने कटअफ पोइन्ट प्रत्येक विषयमा अनिवार्य ३५ प्रतिशत अंक व्यवस्था गरेको कक्षा १० तर्फका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए। यति मात्र होइन, यस पटकदेखि विद्यार्थीले दुई विषयमा ३५ प्रतिशतभन्दा काम अंक प्राप्त गरे पूरक ग्रेडवृद्धि परीक्षा दिनुपर्ने समेत व्यवस्था बोर्डले गरेको नियन्त्रक पौडेलले बताए।

‘दुई विषयमा ३५ प्रतिशतभन्दा कम अंक प्राप्त गर्नेलाई भने पूरक परीक्षा दिलाई ग्रेड वृद्धिको व्यवस्था गरिएको छ। तर तीन र तीनभन्दा बढी विषयमा ३५ प्रतिशतभन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीले ननग्रेड प्राप्त गरेका विषयको परीक्षा अर्को वर्ष मात्र दिन पाउने व्यवस्था गरिएको छ,’ नियन्त्रक पौडेलले भने।

यसअघि विद्यार्थीले कम ग्रेड प्राप्त गरेको हरेक विषयमा ग्रेड वृद्धिको परीक्षा सोही वर्ष दिन पाउने व्यवस्था थियो भने कक्षा ११ मा पढ्न योग्य हुने कटअफ ग्रेड १.६ मात्र कायम गरिएको थियो।

यसअघिको ग्रेडिङ प्रणालीद्वारा प्रकाशित नतिजामा १.६ ग्रेड प्राप्त गर्ने विद्यार्थीले सहज रूपमा कक्षा ११ मा भर्ना हुन पाउँथे भने आफूले प्राप्त गरेको राम्रो ग्रेड छानेर सोहीअनुसार कक्षा ११ मा विषय छनोट गरी पढ्थे।

कमजोर ग्रेडमै पढ्ने रुचि नभए पुनः ग्रेड वृद्धिका लागि परीक्षा दिएर अघि बढ्ने अवसर थियो। तर अहिले प्रत्येक विषयमा ३५ प्रतिशत अंक नल्याएमा शैक्षिक प्रमाणपत्रमा ननग्रेड लेखिने हुनाले त्यस्ता विद्यार्थी कक्षा ११ मा भर्ना हुन पाउँदैनन् अर्थात् फेल भएसरह नै हुन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?