सहकारी ठगी प्रकरण: रवि र जीबीका व्यापारिक साझेदार जोशीलाई म्याद थप गर्न अदालत लगिँदै

सहकारी ठगी प्रकरण: रवि र जीबीका व्यापारिक साझेदार जोशीलाई म्याद थप गर्न अदालत लगिँदै

अर्थ चौतारी

सहकारी ठगी प्रकरण: रवि र जीबीका व्यापारिक साझेदार जोशीलाई ...

A A- A+

काठमाडौं । गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समितिका सदस्य छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदैछ। आइतबार काठमाडौंको शंखमुलबाट पक्राउ गरी जोशीलाई राति नै बुद्ध एयरको जहाबाट पोखरा लगिएको थियो।

जोशीलाई सोमबार म्याद थप गर्न जिल्ला अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कार्यालय समय भएपछि आवश्यक प्रक्रिया सकेर म्याद थपका लागि अदालत उपस्थित गराउने प्रहरीको भनाइ छ ।

कास्की प्रहरीले उनी भागेर विदेश जान लागेको भन्ने गोप्य सूचनापछि पक्राउ गरिएको जनाएको छ। उनलाई सुर्यदर्शन सहकारीको बचत अपचलनसम्बन्धी विषयमा पक्राउ गरिएको हो।

यसअघि जोशीको घरबाट प्रहरीले सहकारीसम्बन्धी डाटा रहेको सफ्टवेयर पनि बरामद गरेको थियो। उनीसँग सहकारीसम्बन्धी संसदीय छानबिन समितिले सोधपुछसमेत गरेको थियो।

ग्यालेक्सी टेलिभिजन सञ्‍चालन गर्ने संस्था गोर्खा मिडियामा जोशीको ३५ प्रतिशत सेयर थियो। टेलिभिजन सञ्चालन भएको केही समयपछि उनले गोर्खा मिडिया छाडेका थिए। उनले छाडेपछि उक्त सेयर पनि अध्यक्ष जिबी राईकै नाममा रहेको थियो । जोशीमाथि सहकारीको बचत अपचलनबारे सिआइबीले पनि अनुसन्धान गरेको थियो।

संसदीय छानबिन समितिको प्रतिवेदनमा विभिन्न सहकारीबाट गोर्खा मिडियामा बचत रकम आएकोबारे आफू अनविज्ञ रहेको जोशीले बयान पनि दिएका थिए। गोर्खा मिडियामा पोखराको सुर्यदर्शन लगायत सहकारीबाट बचत रकम आएको संसदीय छानबिन समितिको प्रतिवेदनको निष्कर्ष छ।

गृहमन्त्री रमेश लेखकले आइतबार प्रहरी प्रधान कार्यालयलाई संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका थिए। उक्त निर्देशन दिएको केही समयमै जोशी पक्राउ परेका हुन्।

सहकारीसम्बन्धी संसदीय छानबिन समितिले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई पनि कारबाही सिफारिस गरेको थियो। उनी हालसम्म् पक्राउ परेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?