काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको संलग्नताको प्रमाण भएकाले नै संसदीय समितिमा बयान दिनुपरेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्नताको प्रमाण रहेको बताएका हुन्। उनले आफूहरुसँग भएको प्रमाण छानबिन समितिलाई दिएको र सोही प्रमाणका आधारमा लामिछानेमाथि बयान लिइएको उल्लेख गरे।
उनले ९ मिनेटमा सबै बताउँछु भनेर लामिछानेले भन्ने गरेको भन्दै ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था प्रमाणकै कारण आएको दाबी गरे।
उनले भने, ‘केही दिनदेखि संसदमा केही साथीहरुले प्रमाण खोई? प्रमाण खोई? भनेर खोजिराख्नु भएको पाएँ। त्यत्रो तथ्य, प्रमाणहरु भएरै त होला यत्रो संसदमा संघर्ष गरेर संसदीय समिति हामीले बनाएका छौँ। त्यो संसदीय समिति हामीले लडेर बनाएको हो नि। त्यसको टिओआर हामीले लेख्न लगाएको हो। नाम लेख्न लगाएको हो। कम्पनीको नाम लेख्न लगाएको हो। अनि त्यो तथ्य, प्रमाणहरु दिएनौँ होला हामीले? हामीसँग भएको तथ्य, प्रमाणहरु पुगेन होला समितिमा? हाम्रा साथीहरुले बोकेर जानु भएको छैन होला? अनि यसमा ख्याल गर्नु भएन? नौ मिनेटमा चट् भनेको ठाउँमा ९ घण्टासम्म अस्ति बयान दिनुपर्ने अवस्था त्यही तथ्य प्रमाण भएकोले आएको होइन होला?’
उनले लामिछानेलाई सफाइ पाएको नभइ बयान दिएको कुरा स्मरण गर्न आग्रह गरे। उनले फैसला आउन बाँकी रहेको भन्दै फैसलासम्म कुर्न आग्रह पनि गरे।
उनले थपे, ‘बरु साथीहरु झुक्किनु भयो कि भन्ने लागेको छ मलाई। बयान हो बयान। सफाइ होइन। फैसला त आउनै बाँकी छ। त्यसैले म त फैसला कुरेर बसिरहेको छु। तथ्य, प्रमाणको आधारमा फैसला आउँछ भनेर बसिरहेको छु। त्यो समितिमा बस्ने प्रत्येक साथीमाथि विश्वास छ मलाई। तर रास्वपाका साथीलाई अलि अफ्ठ्यारो पर्ला कि? किनकि कालोलाई सेतो कसरी भन्नु? त्यसैले दिन गनौँ। राम्रोसँग गनौँ। औँला भाँचेर गनौँ। लेखेर गनौँ। खरिले, मसिले जेले गने पनि हुन्छ। फैसला आउने दिन गनौँ। फैसला आएपछि सँगै बसौँला।’

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच