एक वर्षमा भित्रियो साढे १४ खर्ब रेमिट्यान्स, महँगी ५.४४ प्रतिशतमा सीमित

एक वर्षमा भित्रियो साढे १४ खर्ब रेमिट्यान्स, महँगी ५.४४ प्रतिशतमा सीमित

अर्थ चौतारी

एक वर्षमा भित्रियो साढे १४ खर्ब रेमिट्यान्स, महँगी ५.४४ ...

A A- A+

काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १४.५ प्रतिशतले बढेर १० अर्ब ८६ करोड पुगेको देखिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

यो वर्ष महँगी सीमाभित्र राख्न सरकार सफल भएको छ । गत आवमा वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत थियो । त्यस्तै आव २०८०/८१ मा चालू खाता २ खर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष चालू खाता ४६ अर्ब ५७ करोडले घाटामा थियो ।

शोधान्तर स्थिति पनि ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा छ । अघिल्लो वर्ष शोधान्तर स्थिति २ खर्ब ८५ अर्ब ८२ करोडले बचतमा थियो । आर्थिक वर्ष २०८०/८१ मा कुल विदेशी विनिमय सञ्चिती ३२.६ प्रतिशतले बढेर २० खर्ब ४१ अर्ब १० करोड कायम भयो । आर्थिक वर्ष २०८०/८१ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिन्छ ।

मुलुकको वैदेशिक सम्पत्ति २१ खर्ब ७६ अर्ब ९८ करोड तथा दायित्व १८ खर्ब ९० अर्ब ६० करोड रहेको छ । फलस्वरुप खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति २ खर्ब ८६ अर्ब ३८ करोडले बचतमा छ । २०८० असारमा खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति १ खर्ब ७७ अर्ब २ करोडले घाटामा थियो ।

यस्तै सरकारको वित्तीय घाटा (बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति) ३ खर्ब ८२ अर्ब ८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति ४ खर्ब ९१ अर्ब ७८ करोडले घाटामा थियो ।

२०८१ असार मसान्तमा सरकारको कुल तिर्न बाँकी ऋण २४ खर्ब ३३ अर्ब २४ करोड पुगेको छ । जसमध्ये बाह्य ऋण १२ खर्ब ५२ अर्ब ३४ करोड र आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा कुल सार्वजनिक ऋणको कुल गार्हस्थ उत्पादनसँगको अनुपात ४२.६५ प्रतिशत पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?