कोसीमा मन्त्रालय बढाउन कांग्रेसको दबाब, प्रदेशसभा बैठक डाक्न माओवादीको माग

कोसीमा मन्त्रालय बढाउन कांग्रेसको दबाब, प्रदेशसभा बैठक डाक्न माओवादीको माग

अर्थ चौतारी

कोसीमा मन्त्रालय बढाउन कांग्रेसको दबाब, प्रदेशसभा बैठक डाक्न माओवादीको ...

A A- A+

विराटनगर । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै कोसी प्रदेशमा नेकपा (माओवादी केन्द्र)ले सरकार छाडेको २० दिन बितिसकेको छ । अरू प्रदेशभन्दा ढिलो गरी कोसीमा माओवादीतर्फका मन्त्रीले राजीनामा दिएका थिए । तर, तीन साता बित्न लाग्दा समेत मन्त्रिपरिषद् विस्तारको तयारी छैन ।

गएको असार ८ गते स्थगित प्रदेशसभा बैठक पनि अझै अनिश्चित छ । बजेट पारित गरिएयता प्रदेशसभा बैठक बसेको छैन ।

माओवादी बाहिरिएलगत्तै नेपाली कांग्रेस सरकारमा सामेल हुने अनुमान थियो । कांग्रेसको आन्तरिक किचलोका कारण सरकार विस्तारमा ढिलाइ भएको छ । पार्टीको गुटगत विवाद र मन्त्रिपरिषद्‌मा को–को सामेल हुने भन्ने टुंगो नलाग्दा सरकार विस्तार हुन सकेको छैन ।

कोसीका मुख्यमन्त्री हिक्मत कार्कीले आफू कांग्रेसबाट सरकारमा सामेल हुने मन्त्रीको प्रतिक्षामा रहेको बताए । उनले भने, “उहाँहरू आउनासाथ सरकार विस्तार गर्छु । तर, ढिलो गरिरहनुभएको छ ।”

कोसीमा मुख्यमन्त्रीसहित नेकपा (एमाले)ले पाँच र कांग्रेसले चार मन्त्रालय लिने वर्तमान गठबन्धनबीच सहमति छ । तर, कांग्रेसका धेरै सांसदले मन्त्री पद मागेका कारण मुख्यमन्त्री कार्की मन्त्रालय बढाउनुपर्ने दबाबमा छन् ।

मन्त्रालय बढाउन दबाब
गठबन्धनको सहमतिअनुरूप नौ सदस्यीय मन्त्रिपरिषद् हुने मुख्यमन्त्रीले जिकिर गरिरहेका छन् । तर, त्यो संख्या बढ्न सक्ने कांग्रेसका एक सांसदले बताए । “मन्त्रालय बढाएर भए पनि कांग्रेस सरकारमा सामेल हुने हो,” ती सांसदले भने, “कम्तीमा ११ मन्त्रालय हुन सक्छन् ।”

केही दिनअघि सञ्चारकर्मीसँग मुख्यमन्त्री कार्कीले ‘मन्त्रालय बढाउने मनस्थितिमा आफू नरहे पनि कार्यबोझ र बजेटको आकारका कारण भौतिक पूर्वाधार मन्त्रालय फुटाउन सकिने’ बताएका थिए । मन्त्रालयको संख्या बढाउनुपर्ने भन्ने कांग्रेसबाट औपचारिक प्रस्ताव नआएको उनको भनाइ थियो ।

कोसी प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले पनि मन्त्रालय बढाउनेबारे छलफल नभएको बताए । “सबै सहमति र निर्णय केन्द्रीय र प्रदेशस्तरीय छलफलबाट नै तय हुने हो,” उनले भने ।

मुख्यमन्त्री कार्कीले आफ्नो अघिल्लो कार्यकालमा ११ बाट घटाएर मन्त्रालयको संख्या नौ बनाएका थिए । संविधानतः सांसद संख्याका आधारमा कोसीमा १३ सदस्यीय मन्त्रिपरिषद् बनाउन सकिन्छ ।

कांग्रेसबाट मन्त्री बन्न समूहगत रूपमै दाबी छ । डा. शेखर कोइराला समूहका दुई, संस्थापन पक्षबाट दुई र नेता कृष्णप्रसाद सिटौलानिकट एक मन्त्री हुनुपर्ने गुटगत दाबीपछि टुंगो लगाउन सकस भएको हो । मन्त्रीको नाम टुंगो लगाउन कांग्रेस कोसी संसदीय दलका नेता छलफलका निम्ति काठमाडौं पुगेको दुई साता भएको छ ।

प्रदेशसभा बैठक अनिश्चित
कांग्रेस सरकारमा सामेल भएपछि मात्र प्रदेशसभा बैठक बोलाउने तयारी गरेको छ । सभालाई सरकारले योपटक प्रशस्तै ‘बिजनेस’ दिने तयारी गरेको मुख्यमन्त्री कार्कीले बताए ।

निजामती सेवासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक सभामा दर्ता गरिएको छ । यसबाहेक एक महिनाभित्र सात विधेयक अघि बढाउने गरी सरकारले बिजनेस तयार गरेको उनले जानकारी गराए । “कम्तीमा सातवटा कानुन बनाउन सक्ने गरी हामीले विधेयक तयार गरेका छौँ,” उनले भने ।

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले चाँडै प्रदेशसभा बैठक डाक्न माग गरेको छ । माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले बाढीपहिरो र विपद्जन्यसहित जनताका समस्या उजागर गर्ने सभाको बैठक स्थगित हुँदा राहत, उद्धारजस्ता काम अघि नबढेको बताए । “बहाना नगरी प्रदेशसभा बैठक सुचारु गराउन हामीले सरकारको ध्यानाकर्षण गरिरहेका छौँ,” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?