५५ वर्षदेखि निरन्तर रामबहादुरको सारंगी र्‍याइँर्‍याइँ

५५ वर्षदेखि निरन्तर रामबहादुरको सारंगी र्‍याइँर्‍याइँ

अर्थ चौतारी

५५ वर्षदेखि निरन्तर रामबहादुरको सारंगी र्‍याइँर्‍याइँ

A A- A+

गण्डकी । पाँच वर्षको उमेरदेखि बुवा धनबहादुर गन्धर्वको पछि लागेर सारंगी रेट्दै हिँडेको सम्झना रामबहादूरका स्मृतिमा अझै ताजै छन् । बुवाकै पाइला पछ्याउँदै उनी ५५ वर्षदेखि सारंगीकै धुन वरिपरि छन् ।

पोखरा महानगरपालिका–३२ छुचीका ६० वर्षीय रामबहादुर लोप हुँदै गइरहेको आफ्नो पुर्ख्यौली पेसालाई निरन्तरता दिइरहेका छन् । पितापूर्खाले गाउँगाउँ डुल्दै गीत गाएरै जीविकोपार्जन गरेको परम्परा लोप हुने अवस्थामा पुगेको उनी बताउँछन् । भन्छन्, ‘गन्धर्व जातिको प्राचीन संस्कार र संस्कृति अधिकांश स्थानमा हराइसकेको छ । पछिल्लो पुस्तामा यस पेसाप्रतिको आकर्षण छैन ।’ परापूर्व कालदेखि समाजमा भए गरेका घटनालाई गीतको माध्यबाट मानिसको मन छुनेगरी र्‍याइँर्‍याइँ सारंगी रेट्दै सूचना दिन घरघरमा डुल्ने गन्दर्भ जातिको यो संस्कृति मौलिक लोक संस्कृति हो । पुर्ख्यौली पेसाका रुपमा वर्षैदेखि अँगाल्दै आएको यो पेसा संरक्षणको अभावमा अहिले लोप हुने अवस्थामा पुगेको हो ।

पहिलेपहिले गाउँमा अहिले जस्तो सडक तथा यातायातको सुविधा थिएन । गन्धर्वहरु सारंगी रेट्दै गीत गाएर गाउँलेले दिएको नून, चामल, दाल, तरकारीले जीविकोपार्जन गर्दथे । यो संस्कृति तत्कालीन समयमा सामाजिक संस्कृतिको रुपमा थियो । बाउबाजे कास्कीकै बडहरेबाट छुचीमा बसाइँ सरेर आएको बताउँदै रामबहादुरले आफ्ना बुवाहरू लाले, काले र गोरे सबैले आफ्नो जीवनपर्यन्त यही पेसालाई अँगालेको स्मरण गरे । गाइने पेसाबाटै तीन छोरी, एक छोराको पालपोषण र शिक्षादिक्षा दिने कामसमेत गरे ।

आफूलाई अझै यस पेसाप्रति गौरव लाग्ने बताउँदै उनी भन्छन्, ‘गन्धर्व समूदायमा बुढापाकाले आफ्ना सन्ततिलाई गन्दर्भ पेसा छोडे पनि घरको मूल धुरी खाँबोमा सारंगी राख्न भने नछोड्नु है भन्दै आएका छन् ।’

जीवनको सर्वस्व नै सारंगी भएको बताउँदै उहाँले आफूले बालबच्चा र परिवार पाल्ने गैरी खेतका रुपमा लिने गरेको बताउँछन् । ‘यो पेसा भगवानको समयदेखि अस्तित्वमा आएको पेसा हो’, उनले भने, ‘त्यस समयमा गन्धर्वहरूले गाउने, अप्सरा नाच्ने र देवतालाई मनोरञ्जन प्रदान गर्ने संस्कृति हाम्रा धर्मग्रन्थमा पाइन्छ ।’

नयाँ पुस्ता भने यसतर्फ आकर्षित नहुँदा पेसा लोप हुने हो कि भन्ने चिन्ताले भने रामबहादुरलाई पिरोलिरहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?