एक वर्षको अबधिमा २७ सय विदेशी काम गर्न नेपाल आए

एक वर्षको अबधिमा २७ सय विदेशी काम गर्न नेपाल आए

अर्थ चौतारी

एक वर्षको अबधिमा २७ सय विदेशी काम गर्न नेपाल ...

A A- A+

काठमाडौं । ठूलो संख्यामा नेपालीहरू वर्षेनी रोजगारी खोज्दै विदेश जाने गर्छन् । गत आर्थिक वर्ष २०८०/८१ मात्र श्रम स्वीकृति लिएर ७ लाख ४१ हजार २९७ जना नेपाली वैदेशिक रोजगारी खोज्दै विश्वका १४९ देश पुगेका थिए । रोजगारी खोज्दै जसरी नेपाली विदेश जाने गर्छन्, त्यसरी नै विदेशी पनि नेपालमा आउने गर्छन् । रोजगारी खोज्दै विदेश जाने नेपालीको तुलनामा नेपालमा आउने विदेशीको संख्या निकै सानो छ । तर यो बढ्दो क्रममा देखिन्छ ।

पछिल्लो एक वर्षमा २ हजार ६८५ जना विदेशी नागरिक श्रम स्वीकृति लिँदै नेपालमा काम गर्न आएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार, गत आर्थिक वर्ष २०८०/८१ मा उक्त संख्यामा विदेशी श्रम स्वीकृति लिएर नेपालमा काम गर्न आएका हुन् । २०८० साउन १ गतेदेखि २०८१ असार मसान्तसम्म १ हजार २० जना विदेशीले नयाँ श्रम स्वीकृति र १ हजार ६६५ जना विदेशीले श्रम स्वीकृति नवीकरण गरेको विभागले जनाएको छ ।

गत असार महिनामा मात्र ३४९ जना विदेशीले नेपालमा काम गर्न श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कले देखाउँछ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा २ हजार ९९४ जना विदेशीले श्रम स्वीकृति लिई नेपालमा काम गरेका थिए । विभागका अनुसार, आर्थिक वर्ष २०७८/७९ मा २ हजार १८१ जना विदेशी र आर्थिक वर्ष २०७७/७८ मा २ हजार ३९० जना विदेशीले श्रम स्वीकृति लिई नेपालमा काम गरेका थिए । पछिल्लो चार वर्षमा अर्थात् आर्थिक वर्ष २०७७/७८ देखि २०८०/८१ सम्मको अवधिमा नेपालमा काम गर्न विभागबाट कुल १० हजार २५० जना विदेशीले श्रम स्वीकृति लिएको देखिन्छ । यसमा श्रम स्वीकृति नलिई नेपालमा काम गर्ने भारतीय कामदारको संख्या जोडिएको छैन ।

पछिल्लो साढे सात वर्षको अवधि (२०७३ पुस देखि २०८१ असार) मा विश्वका १०८ देशका १३ हजार ४०९ जना विदेशी नागरिकले श्रम स्वीकृति लिएर नेपालमा काम गरेको विभागको तथ्याङ्कले देखाउँछ । यसरी काम गर्न आउनेमा ११ हजार ८७१ जना पुरुष र १ हजार ५३८ जना महिला छन् । बितेको साढे ७ वर्षमा श्रम स्वीकृति लिई नेपालमा काम गर्न आउने विदेशीमा सबैभन्दा ठूलो संख्या चिनियाँको छ । उक्त अवधिमा ९ हजार ५२५ जना चिनियाँले नेपालमा काम गरेका छन् । त्यही समयमा बेलायतका ५७५, अमेरिकाका ४२४, दक्षिण कोरियाका ३१९, जापानका २८५, भारतका २५८, अष्ट्रेलिायका १५२, श्रीलंकाका १३६, जर्मनीका १२२, फ्रान्सका १०५ र फिलिपिन्सका १०२ जना नागरिकले श्रम स्वीकृति लिई नेपालमा काम गरेको देखिन्छ । नेपालमा काम गर्न उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप, अफ्रिका, एसिया र अष्ट्रेलिया महादेशमा रहेका कुनै न कुनै राष्ट्रका नागरिकले श्रम स्वीकृति लिएका छन् ।भारतीय नागरिकलाई नेपालमा काम गर्न श्रम स्वीकृति लिनुनपर्ने भएपनि केही भारतीयले भने श्रम स्वीकृति लिएर काम गरिरहेका छन् । नेपालका ठूला बैंक र संस्थामा काम गर्ने भारतीयले श्रम स्वीकृति लिने गरेका छन् । विभागका अनुसार, हालसम्म नेपालमा श्रम स्वीकृति लिई काम गर्ने विदेशीको संख्या २० हजार ९७१ रहेको छ । यसमा १८ हजार ४४७ जना पुरुष र २ हजार ५२४ जना महिला छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?