कोरोना बीमाको साढे ११ अर्ब बक्यौता भुक्तानी दिने तयारीमा सरकार

कोरोना बीमाको साढे ११ अर्ब बक्यौता भुक्तानी दिने तयारीमा सरकार

अर्थ चौतारी

कोरोना बीमाको साढे ११ अर्ब बक्यौता भुक्तानी दिने तयारीमा ...

A A- A+

काठमाडौँ । दुई ठुला राजनीतिक दलको साझेदारमा बनेको गठबन्धन सरकारले कोरोना बीमाको बक्यौता अघि बढाउने भएको छ । सन् २०१९ देखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको सम्भावित प्रभावलाई नजर अन्दाज गर्दै बीमा प्राधिकरणले बीमा गरेको थियो । कोरोना बीमाको बक्यौता रकम भुक्तानी गर्ने उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुष्टि गरेका हुन् ।

असार १७ गते राती नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता साझेदारीको सम्झौता भएको थियो । सो सम्झौता बमोजिम प्रधानमन्त्री बनेको केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने तय भएको छ । यही मन्त्रीमण्डलमा अर्थ मन्त्रालयको जिम्मेवारी पाएका पौडेलले कोरोना बीमा बापतको बक्यौता रकम भुक्तानी अघि बढाउने जानकारी दिएका हुन् ।

अर्थ मन्त्रालयको तथ्यांकअनुसार १ लाख २९ हजार ४६४ जनाको बीमा दाबी भुक्तानी गर्न बाँकी छ । ती व्यक्तिको ११ अर्ब ३२ करोड रुपैयाँ दाबी भुक्तानी बाँकी रहेको अर्थमन्त्री पौडेलको भनाई छ । यसअघि सरकारले कोरोना बीमा बापतको दाबी भुक्तानीका लागि डेढ अर्ब रुपैयाँ विनियोजन गरिसकेको छ ।

सुरुमा नेपालमा कोरोना महामारीबाट ठुलो प्रभाव नपर्ने बीमा कम्पनीहरूको आकलन थियो । सोही कारण मौकाको फाइदा उठाउँदै कम्पनीहरूले प्राधिकरणको नेतृत्वमा महामारीको बीमा गरे । जबकि, विश्वव्यापी मान्यताअनुसार प्राकृतिक प्रकोप र महामारीको बीमा गर्ने प्रचलन छैन ।

चीन लगायत विश्वव्यापी रूपमा कोरोना महामारीको प्रभाव ‘पिक’ मा पुग्दा नेपालमा फाट्टफुट्ट मात्रै देखा परेको थियो । त्यसपछि २०७६ सालको अन्त्यदेखि नेपालमा फैलन सुरु गरेको कोरोना बीमाको बीमालेख २०७७ वैशाख ७ देखि जारी गरिएको थियो ।

बीमा प्राधिकरण र बीमा कम्पनीहरूको महामारीको बीमा गर्ने लहडलाई सरकारले समेत समर्थन गरेको थियो । आर्थिक वर्ष २०७७÷७८ को बजेट वक्तव्यमार्फत सरकारले कोरोना बिमामा ५० प्रतिशत अनुदान दिने र निजामती कर्मचारीको निःशुल्क कोरोना बीमा गर्ने घोषणा ग¥यो ।

तर विश्वमा परेको प्रभाव जस्तै नेपालमा समेत बिस्तारै कोरोनाको प्रभाव फैलँदै गयो । त्यसपछि बीमा कम्पनीहरू त्रसित बने । सुरुमा ६०० रुपैयाँ बुझाएपछि १ लाख रुपैयाँ बीमा भुक्तानी पाउने गरी कम्पनीहरूले प्रचार गरे । लोकप्रियतालाई ध्यानमा राखेर सरकारले पनि यो नीतिलाई समर्थन गर्दै सरकारी कर्मचारीको नै बीमा गरिदियो ।

तर, कोरोना लागेका बिरामीलाई सरकारी खर्चमा उपचार गरिदिने र बीमा बापतको रकम क्यास दिने नीति सरकारले लियो । जबकि, बीमितको उपचार गरेबापत लाग्ने रकम सोही बीमाको रकमबाट कटौती गर्नुपर्ने थियो । यही कारण कोरोना बीमा बापतको रकम भुक्तानीमा नै समस्या पर्ने गरी दायित्व सृजना भइसकेको छ ।

अर्थमन्त्री पौडेलले कोरोना बीमाको रकम भुक्तानी गर्ने बताए पनि महालेखा परीक्षकले भने यसलाई बेरुजुको शीर्षकमा राखेको छ । हालसम्म सरकारले दिएको डेढ अर्ब रुपैयाँलाई महालेखाको प्रतिवेदनमा बेरुजुको शीर्षकमा राखिएको छ । महालेखाका अनुसार कोरोना बीमाको रकम सरकारले भुक्तानी गर्न मिल्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?