दसैंमा फिल्मको चाप, कुन–कुनले तोके प्रदर्शन?

दसैंमा फिल्मको चाप, कुन–कुनले तोके प्रदर्शन?

अर्थ चौतारी

दसैंमा फिल्मको चाप, कुन–कुनले तोके प्रदर्शन?

A A- A+

असोज महिनामा आधा दर्जन बढी नेपाली फिल्म प्रदर्शनमा आउने देखिएको छ। दसैंलाई लक्षित गर्दै फिल्मले असोजका लागि रिलिज मिति तोकेका हुन्। अहिलेसम्म सातवटा फिल्मले असोजलाई प्रदर्शन मिति घोषणा गरिसकेका छन्।असोज ३ गतेका लागि 'ह्रस्वदीर्घ', 'खुस्मा' र 'आउट लः दफा २१९' ले प्रदर्शन मिति तोकेका छन्। जसमध्ये 'ह्रस्वदीर्घ' नीता ढुंगाना र हरिहर अधिकारीको जोडीको फिल्म हो। चन्द्र पन्तको निर्देशन रहेको फिल्ममा थुप्रै नेपालीसँगै भारतीय कलाकारको समेत अभिनय छ। त्यस्तै 'खुस्मा' धिरज मगर र उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको फिल्म हो। यसलाई अशोक थापा मगरले निर्देशन गरेका हुन्। अर्को फिल्म 'आउट लः दफा २१९' मा सुशील श्रेष्ठको मुख्य अभिनय छ। फिल्मलाई विक्की महर्जनले निर्देशन गरेका हुन्।असोजको दोस्रो साताका लागि अहिलेसम्म कुनैपनि फिल्मले प्रदर्शन मिति घोषणा गरेका छैनन्। असोज १७ गते (घटस्थापना) का लागि दुईवटा फिल्मले प्रदर्शन मिति घोषणा गरेका छन्। स्वस्तिमा खड्का र निश्चल बस्नेतको निर्माण रहेको फिल्म 'बेहुली फ्रम मेघौली' र अर्जुन कुमार निर्मित फिल्म 'सानो संसार' उक्त मितिमा आउने भएका हुन्। साजन काफ्ले र आकाश बरालको लेखन एवं निर्देशन रहेको 'बेहुली फ्रम मेघौली' मा स्वस्तिमा र निश्चल नै मुख्य भूमिकामा छन्। त्यस्तै सिद्धार्थ पुडासैनीको निर्देशन रहेको 'सानो संसार' मा अधिकांश नयाँ कलाकार छन्। सितादेवी तिमिल्सिना, राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर सिवाकोटी लगायतले यो फिल्ममा अभिनय गरेका छन्। असोज २४ गते फूलपातीको दिनलाई दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म 'छक्कापञ्जा ५' ले रिलिज मिति तोकेको छ।हाल छायांकन अन्तिम चरणमा पुगेको यो फिल्ममा दीपकराजसँगै केदार घिमिरे र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन्। फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्।विराज भट्टको फिल्म '१२ गाउँ' ले पनि दसैंलाई प्रदर्शन मिति घोषणा गरेको छ।गतसाता फस्टलुक सार्वजनिक गरिएको यो फिल्मबाट विराजका छोरा समीर भट्टले डेब्यु गर्दैछन्। साथमा विराज स्वयंसँगै न्यान्सी खड्का, सनिशा भट्टराई, मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के लगायतको अभिनय रहनेछ। यो फिल्मको छायांकन अन्तिम चरणमा छ। फिल्म दसैंमा आउने भनिए पनि रिलिज डेट भने तोकिएको छैन। सन्तोष सेनको फिल्म 'बलिदान' ले पनि दसैंमा आउने घोषणा सुरुमै गरेको थियो। तर अहिलेसम्म छायांकन सुरू नभएकाले फिल्म दसैंमा आउने सम्भावना कम रहेको सेनले बताए।असोजमा केही प्रतीक्षित विदेशी फिल्म समेत प्रदर्शनमा आउनेछन्। बिदा लामो हुने र उत्सवको माहोल हुने हुँदा दसैं निर्माता–निर्देशकको रोजाइमा पर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?