मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

अर्थ चौतारी

मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

A A- A+

काठमाडौं–  घुस डिलसम्बन्धी अडिओमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्।मन्त्री गुप्ताले मंगलबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्। आफूले राजीनामा दिइसकेको मन्त्री गुप्ताले बताए।‘विगत केही दिनअघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई जानकारीनै छ। कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ, अब लागेको आरोप अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु,’ मन्त्री गुप्ताले भनेका छन्।

साथै उनले प्रविधिको प्रयोगको शिकास आफू भएको र अब कोही पनि यस्तो शिकार नबनुन भन्ने अपेक्षा गरेको उल्लेख गरेका छन्। ‘अब फेरि एकपटक देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाका साथ पूरा गर्ने प्रतिबद्धताको साथ जनताको घरदैलोमा आउने प्रण गर्दछु,’ उनले भनेका छन्।नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले पनि मन्त्री गुप्ताले पदबाट राजीनामा दिएको जानकारी दिए।मन्त्री गुप्तालाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सोधपुछ गरेका थिए।

भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी 'डिल गरेको' अडिओ सार्वजनिक भएको भएपछि मन्त्री गुप्ताको राजीनामा माग भएको थियो।सत्तारूढ नेपाली कांग्रेसका नेता शेखर कोइराला, महामन्त्री गगन थापालगायतले मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

साथै एमालेका नेता राजन भट्टराईलगायतले पनि मन्त्री गुप्तालाई हटाउन माग गरेका थिए।गुप्ता एमालेका प्रतिनिधि सभा सांसद र केन्द्रीय सदस्य पनि हुन्।मन्त्री गुप्ताले भने आफ्नो आवाज परीक्षणका लागि तयार रहेको तथा पैसा आफ्नो र मन्त्रालय दुवैको खातामा नआएको दाबी गर्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?