सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई धक्का, संसद्को विशेष अधिवेशन आह्वान

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई धक्का, संसद्को विशेष अधिवेशन आह्वान

अर्थ चौतारी

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई धक्का, संसद्को विशेष अधिवेशन आह्वान

A A- A+

धनगढी – असार मसान्तसम्म बजेट पारित नभएपछि अप्ठ्यारोमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई अर्काे धक्का लागेको छ ।सुदूरपश्चिम प्रदेशसभा अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने तयारी मुख्यमन्त्री सोडारीले गरेका बेला संसद्को विशेष अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख नजीर मियाले साउन ८ गते संसद्को विशेष अधिवेशन बोलाएका छन् । यसअघि प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख मियाले बिहीबार राति १२ बजेबाट लागू हुने गरी संसद् अधिवशन अन्त्य गरेका थिए तर प्रदेश सभाका एकचौथाइ सदस्यहरूले हस्ताक्षरसहित विशेष अधिवेशन माग गरेपछि विशेष अधिवेशन आह्वान गरिएको छ । विशेष अधिवेशन आह्वान भएपछि मुख्यमन्त्री सोडारीले अब संसद्को सामना गर्नुपर्नेछ ।

केन्द्रमा नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका छन् । सोडारीले राजीनामा दिनुपर्ने नेपाली कांग्रेस र एमालेले माग गरेका छन् । तर मुख्यमन्त्री सोडारी राजीनामा नदिएर बजेट पारित गर्न नसकी पदमा टाँसिएर बसेका छन् । नयाँ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीसँग प्रदेश सभाको बहुमत छ । मुख्यमन्त्री सोडारीले अध्यादेशबाट प्रदेश चलाउन खोजेको भन्दै विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई आग्रह गरेका थिए । प्रदेश प्रमुख मियाले साउन ८ गतेका लागि विशेष अधिवेशन आह्वान गर्न सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका छन् । एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन असार २० गते फिर्ता लिइसकेको छ । सरकारले ल्याएको बजेट असारमा पास हुन नसकेपछि अहिले प्रदेशभर कर संकलनको कार्य बन्द भएको छ । यातायात, मालपोत र नापी, स्थानीय तहका लागि तोकिएका अधिकांश करहरू बन्द भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?