नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ सरकारमा पार्टीको नेतृत्व गरेर जाने प्रस्ताव अस्वीकार गरेका छन् ।
कांग्रेस र एमालेबीच १७ असारमै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । प्रतिनिधिसभामा भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ । उनले विश्वासको मत नपाए नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
कांग्रेसमा भने मन्त्रीहरु छनोट सुरु भइसकेको छ । स्रोतका अनुसार सभापति शेरबहादुर देउवाले सरकारमा पार्टीको नेतृत्व गरेर जाने नेताबारे छलफल गरेका छन् । नेताहरुका अनुसार दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ यसअघि प्रचण्ड सरकारमा गइसकेकाले नयाँ सरकारमा पठाउने सम्भावना छैन ।
स्रोतका अनुसार डा. शेखर कोइरालाले सरकारको नेतृत्व गरेर जाने रुचि सुरुमै देखाएनन् । त्यसैले देउवाले महामन्त्री गगन थापालाई सरकारमा पार्टीको नेतृत्व गरेर पठाउन चाहेका थिए । तर उनले सरकारमा नजाने बताएका छन् ।
बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले महामन्त्री र सांसदको काम गर्न आफूलाई भ्याइनभई रहेको बताएका छन् । ‘पार्टी सभापति सहितका नेताहरुलाई मैले गराउनुपर्ने जानकारी गराइसकेको छु,’ उनले भने, ‘पार्टीको महामन्त्रीको रुपमा यो बाँकी रहेको समय काम गर्छु ।’
संसदको दुई ठूला दल कांग्रेस र एमाले मिलेर बन्ने सरकारलाई शक्तिको दुरुपयोग नगर्न सचेत गराउन पनि आफू सरकारमा जान नहुने महामन्त्री थापाको तर्क छ ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि आफू अहिले सरकारमा नजाने बताइसकेका छन् ।
बुधबार झापा १ मा आयोजित कार्यक्रममा उनले भनेका थिए, ‘दुई ठूला दल मिल्दै गर्दा प्रतिपक्ष स्वर कमजोर हुन्छ भन्ने खालको बौद्धिक सर्कलको चासो र चिन्ता पनि छ । प्रतिपक्ष स्वर कमजोर हुन नदिन पनि सरकारमा म जान हुन्न ।’
सरकारमा कांग्रेसको नेतृत्व गर्ने सम्भावितमा राष्ट्रियसभा संसदीय दलका नेता कृष्ण सिटौला पनि थिए । पार्टी सभापतिको विश्वास जितेका र ओलीसँग सहज व्यवहार गर्नसक्ने सिटौला उपयुक्त हुने कांग्रेसका नेताहरुले बताएका थिए ।
सिटौला स्वयंमले सरकारमा जाने सूची नभएको बताए । अनलाइनखबसँग कुरा गर्दै सिटौलाले भनेका थिए, ‘अब बन्ने सरकारमा जाने मेरो रुचि छैन, अरुले चर्चा गरेर भएन ।’
प्रकाशमान निर्विकल्प ?
कांग्रेस नेताहरुका अनुसार सुरुमा मन्त्रीहरु मात्र पठाउने कि भनेर पनि छलफल भएको थियो । तर एमालेबाट विष्णु पौडेल सरकारमा आउँदा उपप्रधानमन्त्री दिनुपर्ने भएकाले कांग्रेसबाट पनि त्यही लिने गरी पठाउने तयारी छ ।
त्यसमा पूर्वमहामन्त्री प्रकाशमान सिंह निर्विकल्प जस्तै देखिएका छन् । केन्द्रीय सदस्य रामहरि खतिवडाले सिंहले नेतृत्व गरेर जानसक्ने सम्भावना रहेको बताए । ‘पार्टीबाट नेतृत्व गरेर जाने सम्भावित व्यक्तिमा उहाँको नाम आएको छ, उहाँकै नेतृत्वमा कांग्रेस सरकारमा जान पनि सक्छ,’ खतिवडाले भने ।
भारतमा उपचार गरेर फर्किएका उनलाई भेट्न सभापति देउवा, उपसभापति खड्का लगायतका नेताहरु चाक्सीबारी पुगेका थिए । सिंह भने बाहिर हिँडेका थिएनन् ।
तर बुधबार सभापति देउवा निवास बूढानीलकण्ठ पुगे । सिंहले देउवासामू सरकारका जाने इच्छा राखेका छन् । गत महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका सिंहले दोस्रो चरणको मतदानमा देउवालाई सघाएका थिए । त्यसको गुन तिर्न पनि सरकारमा नेतृत्व गरेर पठाउने सम्भावना रहेको नेताहरु बताउँछन् ।
सिंह निकट बागमतीका प्रदेश सांसद कञ्चन वादेले पार्टीबाट उनले नेतृत्व गरेर जानु सबभन्दा उपयुक्त हुने बताए । ‘उहाँको सम्भावना बलियो छ, अहिलेको आवश्यकता पनि हो’ बादेले भने,‘प्रकाशमान दाइको पक्षमा पार्टीमा सबै सकारात्मक भएजस्तो लाग्छ ।’

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच