तातोपानी गाउँपालिकामा एकल पुरुष भत्ता कार्यक्रम

तातोपानी गाउँपालिकामा एकल पुरुष भत्ता कार्यक्रम

अर्थ चौतारी

तातोपानी गाउँपालिकामा एकल पुरुष भत्ता कार्यक्रम

A A- A+

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले एकल पुरुष भत्ता कार्यक्रम लागू गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमा गाउँपालिकाभित्रका आर्थिक अवस्था कमजोर भएका, कुनै व्यवसाय नभएका एकल पुरुषको जीविकोपार्जन सहज बनाउन भत्ता कार्यक्रम लागू गरिएको हो ।पालिकाले ५० वर्षदेखि ६० वर्षसम्मका एकल पुरुषलाई वार्षिक रु चार हजारका दरले भत्ता दिने कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरेको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए । सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट लाभान्वित पुरुष बाहेक अन्य एकल पुरुषका लागि गरिएको उक्त कार्यक्रममा रु चार लाख बजेट विनियोजन गरिएको उनको भनाइ छ । किसानलाई व्यावसायिक पशु पालनतर्फ आकर्षित गर्न कम्तीमा एक सय भन्दाबढी भेडाबाख्रा पाल्नेलाई प्रोत्साहन भत्ता वितरण गर्नका लागि रु दुई लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए । उनका अनुसार पालिकाभित्रबाट एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गर्नेमध्ये एक जनालाई पहिलो वर्षको पढाइ खर्चबापत रु १५ लाख दिने गरी रकम विनियोजन गरेको छ । जेहेनदार तथा विपन्न विद्यार्थीलाई निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न रु १५ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष रेवती रावलले जानकारी दिइन् । सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न पालिकाभित्रका सबै विद्यालयमा शैक्षिक कचहरी कार्यक्रम सञ्चालनका लागि रु पाँच लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै, अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनस्वरूप रु २० हजार प्रदान गर्ने नीति तातोपानीले लिएको छ ।अति विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई पालिकाले निरन्तारता दिएको छ । सो बीमा कार्यक्रमका लागि रु १६ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष चौलागाईंले बताए । भौगोलिक रूपमा कठिन भएका वडाका ज्येष्ठ नागरिक, गर्भवती, बालबालिकालगायतको स्वास्थ्य परीक्षणका लागि घुम्ती शिविर सञ्चालन गर्न रु १० लाख बजेट नीति कार्यक्रमबाटट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?