शिक्षा क्षेत्रमा दुई खर्ब ११ अर्बभन्दा बढी विनियोजन, शिक्षक बैंकको व्यवस्था गरिने

वार्षिक अनुमान प्रस्तुत गर्नुहुँदै काठमाडौँ, १५ जेठः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२÷८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नुहुँदै । तस्बिरः नवीन पौडेल÷रासस

शिक्षा क्षेत्रमा दुई खर्ब ११ अर्बभन्दा बढी विनियोजन, शिक्षक बैंकको व्यवस्था गरिने

अर्थ चौतारी

शिक्षा क्षेत्रमा दुई खर्ब ११ अर्बभन्दा बढी विनियोजन, शिक्षक ...

A A- A+

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटबाट शिक्षा क्षेत्रमा २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिक्षा क्षेत्रको गुणस्तर सुधार गरिने र शिक्षा प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाइने बताए । प्रत्येक जिल्लामा कम्तीमा एक विद्यालय पर्नेगरी एक सय विद्यालयमा शैक्षिक नतिजामा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने र यस्ता विद्यालयले अन्य विद्यालयको नतिजा सुधार गर्नका लागि सहयोग गर्ने व्यवस्था मिलाइने पनि अर्थमन्त्री पौडेलले बताए । शैक्षिक नतिजामा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालनका लागि प्रति विद्यालय २५ लाख अनुदान प्रदान गरिने छ ।

त्यसैगरी, शिक्षक र विद्यार्थी संख्या तथा भौगोलिक दुरी र यातायात सुविधाका आधारमा विद्यालयको पुनः नक्साङ्कन गरिने, नक्साङ्कनको आधारमा विद्यालय गाभ्ने नीति लिइने र गाभिएका विद्यालयहरुका लागि प्रोत्साहन अनुदानको व्यवस्था गरिएको अर्थमन्त्री पौडेलले बताए । शिक्षक दरबन्दीको पुनरावलोकन गरिने, शिक्षकको क्षमता विकास गर्न आवधिक रुपमा तालिमको व्यवस्था गरिने, संस्थागत सामाजिक उत्तरदायित्वको दायरा विकास गरी विद्यालय शिक्षाको नतिजा र गुणस्तरमासमेत प्रयोग गर्न सकिने नीति लिइने पनि उनले बताए ।

सामुदायिक र संस्थागत विद्यालयका सफल व्यवस्थापन अभ्यासलाई अन्य सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि प्रयोग गरिने, सामुदायिक विद्यालयमा अग्रेजी, विज्ञान र गणित विषयका शिक्षकको अभाव हुन नदिन विश्वविद्यालयसँगको सहकार्यमा शिक्षक बैंकको स्थापना गरिनेसमेत उल्लेख छ । स्नातक तहका उत्तीर्ण विद्यार्थीलाई स्वयंसेवक शिक्षकको भूमिकामा परिचालित गरिने पनि अर्थमन्त्री पौडेलले बताए ।

त्यस्तै, कक्षा १५ सम्मका विद्यार्थीलाई उपलब्ध गराइदिने दिवा खाजाको रकम बृद्धि गरी १० अर्ब १९ करोड विनियोजन गरिएको र यसबाट २८ लाख विद्यार्थी लाभान्वित हुने बताइएको छ । निःशुल्क सेनिटरी प्याड कार्यक्रमलाई निरन्तरता, लक्षित समुदाय र विकट हिमाली जिल्लाका विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्तिलाई निरतन्तरता, मुसहर, डोम र चमार समुदायका विद्यार्थीलाई चिकित्सातर्फको अध्ययनमा उत्प्रेरणा छात्रबृत्ति उपलब्ध गराइनेलगायतका कार्यक्रमहरु बजेटमा समावेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?