उत्ताउला नेताहरुले संविधानमाथि खेलाची गरे, वर्तमान सरकार पनि संवैधानिक रुपले अवैध छः पूर्वन्यायाधीश केसी

उत्ताउला नेताहरुले संविधानमाथि खेलाची गरे, वर्तमान सरकार पनि संवैधानिक रुपले अवैध छः पूर्वन्यायाधीश केसी

अर्थ चौतारी

उत्ताउला नेताहरुले संविधानमाथि खेलाची गरे, वर्तमान सरकार पनि संवैधानिक ...

A A- A+

काठमाडौं, ३ असोज । सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले सरकारीस्तरमा संविधान दिवस मनाउनु हाँस्यास्पद रहेको टिप्पणी गरेका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संविधान दिवस सरकारले मनाउनु भन्दा पनि जनस्तरमा मनाइनुपर्ने बताएका हुन् । संविधान कार्यान्वयनको १० वर्षमा नै यसमाथि धेरै बदमासी गरिएको उनको आरोप छ । उक्त अवधिमा यो संविधानलाई धेरै पटक धक्का दिइएको उनको भनाइ छ । संसद् विघटन, वर्तमान सरकारको बनावटलगायतका घटनाहरु उल्लेख गर्दै उनले उत्ताउला नेताहरुले संविधानमाथि खेलाची गरेको बताए ।

पूर्व न्यायाधीश केसीले अहिले संविधान संशोधन गर्ने बेला नै नभएको बताए । अहिले कतिपय कानुन बन्न बाँकी नै रहेको र संविधानको सबै धारा क्रियाशील नै नभइसकेको अवस्थामा यसमा संशोधन गर्न नहुने उनको भनाइ छ ।

‘यो ९ वर्षमा यसलाई एक दर्जन पटक धक्का दिइसकियो । संसद् विघटन गरियो, अध्यादेश जारी गरियो, खेलवाड गरियो, अहिले पनि उपसभामुखप्रति षड्यन्त्र गरिँदैछ । यी सबै संविधान उल्लङ्घनका घटनाहरु हुन् । सबैभन्दा पुरानो संविधान अमेरिकाको हो, उ २४७ वर्ष पुग्यो । कतिराम्रोसँग स्याहार गरिराखिएको छ । हाम्रो भर्खर ९ वर्ष भयो । यसलाई खेलाची गरिराखिएको छ ।’ उनले भने, ‘आज हेर्नुभयो भने अहिलेको सरकार गठन पनि अवैध छ । संघीयता कार्यान्वयन गर्न दर्जनौं कानुन बन्न बाँकी छ । कति उत्ताउला हाम्रा नेताहरु छन् भने अहिले यो संविधान संशोधन गर्न पर्यो भन्छन् । संविधानका सबै धारा क्रियाशील भएर संविधान पूर्ण रुपमा लागू भइसकेपछि अनी कुरा गर्नु हो नि । कानुन बनाएर संघीयता लागू गर्न सकिएको छैन ।’

राजनीतिक रुपले वर्तमान सरकार बन्नु ठीक भएतापनि संवैधानिक रुपले यसलाई ठीक मान्न नसकिने उनको तर्क छ । संवैधानिक प्रजातन्त्रमा कहिले पनि संसद्का दुई ठूला दल मिलेर सरकार बनाउन नहुने उनले बताए । ‘आजको सरकार मैले यसलाई अवैध किन भन्छु भने राजनीतिक रुपले यो ठीक होला । तर, संवैधानिक रुपले यो ठीक छैन । दुई ठूला पार्टीले सरकार बनाएको छ । संवैधानिक संसदीय प्रजातन्त्रमा कहिले पनि दुई ठूला दलले सरकार बनाउन हुँदैन,’– उनले भने ।

संसदका दुई ठूला दल मिलेर चेक एण्ड ब्यालेन्स नहुने उनले बताए । सरकारलाई निरङ्कुश हुन नदिन सशक्त प्रतिपक्षी चाहिने उनले बताए । ‘हाम्रो यहाँ नाङ्गो नाच भइराखेको छ । यस्तो अवस्थामा सरकारी स्तरबाट संविधान दिवस मनाउनु हाँस्यास्पद हो । राम्रोसँग बच्चालाई हुर्काउनै सकेका छैनन्,’– पूर्व न्यायाधीश केसीले भने । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?