नवलपरासी, २० भदौ । बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित बनेका छन् ।
फलेकसीकाटोकाको सङ्क्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए ।
जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ सय बिघा जग्गामा व्यावसायिक केराखेती हुँदै आएको बताउँदै सुस्ता र प्रतापपुरमा केरा जोन कार्यक्रम सञ्चालन भइरहेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । प्राविधिक, केरा विज्ञसहितको टोलीले अध्ययन गरी केरामा देखिएको सङ्क्रमण फलेकसीकाटोका नामक किराका कारण लागेको पुष्टि भएको केन्द्रका प्रमुख डा रविन्द्रनाथ चौबेले जानकारी दिए ।
सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण विकास परियोजनाले तीन किसिमका विषादी उपलब्ध गराएको अध्यक्ष यादवले जानकारी दिए ।
भारतको महाराष्ट्रबाट केरा उत्पादनसम्बन्धी तालिम लिएपछि यहाँका किसानले व्यावसायिक रुपमा केरा खेती गर्न थालेका बताउँदै अहिले बोटमा सङ्क्रमण देखिन थालेपछि चिन्तित बनेका यादवले उल्लेख गरे । उनका अनुसार महाराष्ट्रका प्राविधिकको सुझाव र परियोजनामार्फत उपलब्ध औषधिको प्रयोग गरेपछि केही मात्रामा सङ्क्रमण नियन्त्रणमा आएको छ ।
यस क्षेत्रमा केराका बोटमा प्रत्येक वर्ष फलेकसीकाटोकाको सङ्क्रमण देखिने गरेको सङ्घका अध्यक्ष यादवले जानकारी दिए । केरा खेतीलाई रोगबाट बचाउन रोग पहिचान, उपचार विधि, व्यावसायिक उत्पादन तथा बजारीकरणमा सरकारले तालिम दिन जरुरी रहेको उनले उल्लेख गरे ।
केराको बिउ तथा औषधि बिक्री गर्ने एग्रोभेट क्षेत्रिय निर्देशनायल राख्न माग गर्दै आए पनि कार्यान्वयन नहुँदा किसानलाई सास्ती भएको यादवको भनाइ छ । स्थानीय सरकारसँग केरामा छर्ने औषधि तथा बिउ बिक्री गर्ने एग्रोभेट सञ्चालन लागि पटकपटक अनुरोध गरिएको बताउँदै सरोकार भएका निकायले चासो नदिँदा प्रत्येक वर्ष किसान पीडित हुने गरका उनले जानकारी दिए ।
केही समय परीक्षणका रुपमा केराखेती गरेका किसानले अहिले व्यावसायिक खेती थालेका भन्दै केरा उत्पादन सङ्घका अध्यक्ष यादवले किसानलाई सहजीकरण गर्न सङ्घ प्रयासरत रहेको बताए ।
स्थानीय सरकार, प्रधानमन्त्री कृषि आधुनिकीकरण विकास परियोजना, कृषि ज्ञान केन्द्रलगायत निकायले प्राविधिक र सीप उपलब्ध गराएर सहयोग गर्नुपर्नेमा उनले जोड दिए । फलेकसीकाटोकाको सङ्क्रमणले केरा बगानमा क्षति पु¥याएको भन्दै उत्पादनमा ह्रास आउनेमा चिन्ता लागेको सुस्ता‐४ का किसान लीला गुरुङले बताए । उनका अनुसार दुई सय बिघाबढी बगानमा किराको सङ्क्रमण फैलिएको छ ।
केराखेती गर्ने किसानलाई सहजीकरण गरी समास्या समाधान गर्ने उद्देश्यले बिउ, विषादी बिक्री गर्न र प्राविधिक सहयोग उपलब्ध गराउन एग्रोभेट सञ्चालनका लागि योजनाबद्ध रुपमा पहल भइरहेको प्रतापपुर गाउँपालिका कृषि शाखा अधिकृत सृजना न्यौपानेले जानकारी दिए ।
कृषि ज्ञान केन्द्रमार्फत परियोजनाबाट उपलब्ध गराइएको विषादी तथा औषधिले सङ्क्रमण नियन्त्रण हुँदै गएको केन्द्रका प्रमुख डा चौबेले बताए । उनले किसानलाई रोग पहिचान, उपचार विधिलगायत जानकारी दिने उद्देश्यले तालिमको आयोजना गर्ने योजना बनाइएको जानकारी दिए ।रासस

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच