टीकापुर घटनालाई संक्रमणकालीन न्यायमा सम्बोधन गरिनुपर्ने नाउपाको माग, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई चूनौति

टीकापुर घटनालाई संक्रमणकालीन न्यायमा सम्बोधन गरिनुपर्ने नाउपाको माग, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई चूनौति

अर्थ चौतारी

टीकापुर घटनालाई संक्रमणकालीन न्यायमा सम्बोधन गरिनुपर्ने नाउपाको माग, लाल ...

A A- A+

काठमाडौैं, ७ भदौ । नागरिक उन्मुक्ति पार्टी, बागमती प्रदेश समितिले टीकापुर हत्याकाण्ड सम्बन्धमा छानविन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसमक्ष आग्रह गरेको छ । आज (शुक्रबार) टीकापुर हत्याकाण्ड भएको ९ वर्षको अवसरमा रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी नाउपा बागमती प्रदेश समितिले उक्त प्रतिवेदन सार्वजनिक नाउपालाई उन्मुक्ति दिन माग गरेको हो ।

नाउपा बागमती प्रदेश समिति उपाध्यक्ष राजेश्वर दास श्रेष्ठले सरकारले राजनीतिक घटनालाई अपराधीकरण गरेको बताए । ‘राजनीतिक घटनालाई सरकारले अपराधीकरण गरी प्रस्तुत गर्यो । त्यसको पीडा हामीसँग छ,’– उनले भने ।

टीकापुर घटनाको वास्तविकता बाहिर ल्याउनका लागि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उनको माग छ । उनले टीकापुर हत्याकाण्डलाई ‘राज्यद्वारा घटाइएको बर्वतापूर्ण घटना’ को संज्ञा दिए ।

नाउपाका केन्द्रीय उपाध्यक्ष राजेश अधिकारीले तत्कालीन समयमा स्थानीय स्वायत्तसहितको प्रदेश पाउनुपर्छ भनेर नागरिकहरुले आवाज उठाउँदै गर्दा अखण्ड सुदूरपश्चिमको नाममा जनता विभाजित गराएर द्वन्द्वको अवस्था सिर्जना गराइएको बताए ।

‘केही व्यक्तिहरुले अखण्ड सुदूरपश्चिमको कुरा गर्दैथिए । कसैले थारूहटका कुरा गर्दैथिए । थारूहटका कुरा गर्दैगर्दा अखण्ड सुदूरपश्चिमवालाहरुसँग आक्षेपका कुराहरु आए, प्रहरीले पर्याप्तमात्रामा सुरक्षा दिन सकेन । प्रहरी प्रशासनले थप बलल पठाउनुपथ्र्यो । कुनै किसिमको तयारी नगरेको आवस्थामा प्रहरीले उपस्थितिमात्रै जनाउँदा दुर्भाग्यवस द्वन्द्व भयो । धेरै जनालाई सहादात प्राप्त गर्नुभयो । महिनौं महिनौं दिनसम्म राज्यपक्षबाट नै आतंक फैलाईयो,’– उनले भने ।

टीकापुर घटनापछि थारूहरुको ८४ वटा घर जलाइएको र थारू चेलीबेटीहरुमाथि राज्यपक्षबाट बालात्कारजस्ता निकृष्ट घटना घटाइएको उनको दाबी छ । उक्त घटनाबाट पीडित थारूहरुलाई राज्यले उचित सम्बोधन गरिनुपर्ने उनको माग छ ।

संविधान सभा सदस्य एवं नाउपाका संस्थापक सदस्य योगेन्द्र घिसिङले राज्यले टीकापुर घटनामा जोडेर रेशम चौधरीलाई खलनायक बनाएको भन्दै आपत्ति जनाए । उनले लाखौं जनताले रेशमलाई नायकको संज्ञा दिइरहेको दाबी गर्दै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई चुनौति दिए । लाल आयोगको प्रतिवेदन टेबलमुनि फ्याँकेर जबरजस्ती घटनालाई अपराधीकरण गर्न खोजिएको उनको आरोप छ ।

‘सरकारले भनिरहेको छ–टीकापुर घटना आपराधीक घटना हो । रेशम चौधरीलगायतका व्यक्तिहरु खलनायक हुन्, आपराधी हुन् । नेपालको अदालतले त्यो फैसला गरेको छ । फेरि पहिचानका पक्षधर लाखौं लाख जनताहरु रेशम चौधरी नायक हुन्, हिरो हुन् भनिरहेका छन्,’– उनले भने ।

नेता घिसिङले टीकापुर घटनमा रेशम चौधरीको संलग्नता नभएको दाबी गरे । उनले राज्यबाट रेमशसहित ५८ जना राजबन्दीलाई अनाहकमा मुद्दा लगाइएको बताए । टीकापुर घटनालाई पनि राज्यले संक्रमणकालीन न्याय (टीआरसी) जस्तै सहज ढङ्गबाट समाधान गर्नुपर्ने उनको भनाइ छ । ‘वास्तवमा टीकापुर घटनामा के भएको थियो ? त्यो कुरा गिरिशचन्द लालको नेतृत्वमा बनेको आयोगले वस्तुगत स्थितिको तथ्य स्पष्ट रुपमा तयार गरेको थियो । रेशम चौधरीलगायत ५८ जना राजबन्दीलाई मुद्दा लगाएर थुनियो । त्यो बेला उनीहरुको आन्दोलनमा भौतिक उपस्थिति थिएन्,’– नेता घिसिङले भने ।

बागमती प्रदेशका अध्यक्ष दलबहादुर तामाङ र नाउपा बागमती प्रदेश सदस्य एवं पार्टीको युवा संगठनका प्रमुख विश्वास लामाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राखेका थिए ।

२०७२ भदौ ७ गते आजकै दिन कैलालीको टीकापुरमा सात जना प्रहरी र एक जना बालकको ज्यान जानेगरी हत्या भएको थियो । उक्त विद्रोहमा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहितको टोलीमाथि खुर्पा, भाला, बञ्चरो, खुकुरी लगायतका घरेलु हतियारहरू प्रहार गरी हत्या गरिएको थियो ।

वरिष्ठ प्रहरी उपरीक्षक न्यौपाने, प्रहरी निरीक्षक बलराम विष्ट र केशव बोहरा, प्रहरी हवल्दार लक्ष्मण खडका, प्रहरी जवान लोकेन्द्र चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद र सशस्त्र प्रहरी जवान रामविहारी चौधरी र २ वर्षिय बालक टेकबहादुर साउद उक्त घटनामा मारिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?