नवलपरासीपूर्व दूध उत्पादनमा आत्मनिर्भर

नवलपरासीपूर्व दूध उत्पादनमा आत्मनिर्भर

अर्थ चौतारी

नवलपरासीपूर्व दूध उत्पादनमा आत्मनिर्भर

A A- A+

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) दूध उत्पादनमा आत्मनिर्भर बनेको छ । जिल्लाको जनसङ्ख्याका आधारमा आवश्यकता भन्दा बढी दूध उत्पादन भई बिक्रिका लागि जिल्ला बाहिर पठाउन थालिएको छ ।

उत्पादित दूधको तथ्याङ्कका आधारमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा विगत तीन वर्षदेखि आत्मनिर्भर बनेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र प्रमुख ऋषभ गुरागाईँले बताए ।

‘विश्व स्वास्थ्य सङ्गठनले विकास उन्मुख राष्ट्रमा एक व्यक्तिलाई एक वर्षमा ९१ लिटर दूध तय गरेको आधारमा जिल्लामा एक जनाका लागि एक सय ४६ लिटर दूध पुग्ने गरी उत्पादन भइरहेको छ’, उनले भने, ‘आर्थिक वर्ष २०८०–८१ मा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उत्पादन भएको दूधको आधारमा यहाँको कूल जनसङ्ख्यालाई आधार मान्दा एक जनालाई एक सय ४६ लिटर दूध पुग्ने देखिन्छ ।’

गत आवमा जिल्लामा ५५ हजार एक सय ७० मेट्रिक टन दूध उत्पादन भएको थियो । यसमध्ये गाईको दूध ३६ हजार सात सय ९५ मेट्रिक टन उत्पादन भएको थियो । भैँसीको दूध १८ हजार तीन सय ७५ मेट्रिक टन उत्पादन भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।जिल्लामा खपत भएर बाँकी दूध काठमाडौँ, पोखरा र चितवन बिक्रिका लागि पठाउने गरिएको प्रमुख गुरागाईँले जानकारी दिए । दूध उत्पादनमा जिल्ला आत्मनिर्भर भए पनि पछिल्लो तीन वर्षलाई तुलना गर्दा गत आवमा दूध उत्पादनमा कमी आएको छ ।

गत वर्ष पशुमा फैलिएको लम्पीस्किन, आर्थिक मन्दी, पशु आहाराको मूल्यवृद्धि, दूध बिक्रीको अस्थिर बजार र बजारीकरण पूर्वाधारको अभावले दूध उत्पादनमा कमी आएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?