स्वास्थ्य बीमा बोर्डका कर्मचारी आन्दोलनमा, कामकाज ठप्प

स्वास्थ्य बीमा बोर्डका कर्मचारी आन्दोलनमा, कामकाज ठप्प

अर्थ चौतारी

स्वास्थ्य बीमा बोर्डका कर्मचारी आन्दोलनमा, कामकाज ठप्प

A A- A+

काठमाडौं। स्वास्थ्य बीमा बोर्डका कर्मचारी आन्दोलित भएका छन् । बोर्डका कर्मचारीले आफ्ना माग सुनुवाइ नभएको भन्दै शुक्रबारदेखि कामकाज ठप्प पारेका हुन् ।

बोर्डमा कार्यरत शाखा अधिकृत शोभित रिजाल करारका कर्मचारीहरू माथि दुर्व्यहार गर्दै आएकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा काजफिर्ता नगरेका कारणले कर्मचारीहरु आन्दोलनमा उत्रिनु परेको जनाएका छन् ।

बोर्डका अधिकांश कर्मचारीले कार्यकारी निर्देशकलाई साउन ३ पत्रमा लेख्दै १५ दिनभित्र रिजालको काजफिर्ता नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए । बोर्डले यस विषयमा कुनै कामकारबाही नगरेपछि उनीहरु कामकाज नै ठप्प पारेर आन्दोलनमा उत्रिनुपरेको एक कर्मचारीले अनलाइनखबरलाई बताए ।

शुक्रबार बोर्डका कर्मचारीले एक प्रेस विज्ञप्ति जारी गर्दै रिजालले कर्मचारीलाई बारम्बार हप्काउने, धम्काउने, कार्यकक्षभित्र गई अपशब्द बोल्ने, अमर्यादित व्यवहार गर्ने जस्ता हर्कत गर्ने, जागिर खाइदिन्छु भनी धम्काउने, अपशब्द बोली कर्मचारीलाई मानसिक तनाव दिने गरेको आरोप लगाएका छन् ।

‘उहाँले कर्मचारीलाई गर्ने व्यवहार अमर्यादित छ । अरुका कुरा नसुन्ने आफूमात्रै जान्ने सोच्नुहुन्छ,’एक कर्मचारी भन्छन्,‘करारका कर्मचारीलाइ जागिर खाइदिन्छु भन्दै थर्काउने गर्दै आएका छन् ।’

बोर्डको कामकाज ठप्प हुँदा सेवा प्रदायक संस्थाले भुक्तानीका लागि पठाएको ‘क्लेम’ हेर्न बन्द भएको छ । रिजाललाई यसअघि पनि बोर्डले कारबाही गरेको थियो ।

२०७० बैशाखमा हालकै कार्यकारी निर्देशक डा.दामोदर बसौलाले रिजाललाई बोर्डको जिम्मेवारीबाट हटाएका थिए ।तर भएको केही ११ महिनापछि रिजाल बोर्डमा कामकाजमा आएका थिए ।

‘उहाँले पटक–पटक दुव्यवहार गर्नुभएका कारण केही कर्मचारीले जागिर समेत छोडेका छन्,’ बोर्डका अर्को एक कर्मचारी भन्छन्, ‘ बीमा काजमा पुनःआउनुले राम्रो नियत छैन भन्ने प्रष्टै देखिन्छ ।’

ती कर्मचारीका अनुसार अनुसार कार्यकारी बर्सौलाले रिजाललाई च्याप्दै आएका थिए। त्यही आडमा उनले कर्मचारी माथि आफ्नो हैकम देखाउँदै आएका उनको आरोप छ । हाल बोर्डका कार्यकारी निर्देशक डा. बर्सौला व्यक्तिगत कारणले बिदामा छन् ।

बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले कर्मचारीले उठाएको विषय भोलि (सोमबार) समधान गर्ने प्रतिक्रिया दिए । ‘उहाँहरुले उठाएको विषयको सम्पूर्ण जानकारी छैन । निर्देशक ज्यू पनि बिदामा हुनुहुन्छ,’ डा. लोहनीले  भने, ‘भोलि बसेर यस विषयको टुंगो लगाउछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?