चितवनमा रेलमार्ग सर्भे गर्न भन्दै आएको टोली स्थानीयको कब्जामा

चितवनमा रेलमार्ग सर्भे गर्न भन्दै आएको टोली स्थानीयको कब्जामा

अर्थ चौतारी

चितवनमा रेलमार्ग सर्भे गर्न भन्दै आएको टोली स्थानीयको कब्जामा

A A- A+

चितवन । पूर्वपश्चिम रेलमार्गको सर्भे गर्ने भन्दै आएको टोलीलाई चितवनको भरतपुर महानगरपालिका- ७ का बासिन्दाले नियन्त्रणमा लिएका छन् ।

सरकारबाट अनुमति लिएर आएको दाबी गर्ने आरएच कन्सल्टेन्सीको टोलीलाई स्थानीय बासिन्दाले गाडी र उपकरणसहित घेराउ गरेका हुन् ।उनीहरुले रेलमार्गको गुगल म्याप सर्भे गर्न आएको स्थानीयलाई बताएको रेल मार्ग पीडित संघर्ष समितिका सचिव दिव्य नेपालले जानकारी दिए ।सचिव नेपालका अनुसार सो टोलीले मंगलबार भरतपुर महानगरपालिका-८ मा सर्भे गरेको थियो । आज वडा नं. ७ मा सर्भे गर्दागर्दै २/३ सय जना स्थानीय भेला भएर सो टिमलाई नियन्त्रणमा लिएका हुन् ।उनीहरुसँग सोधपुछ भइरहेको र कागजात माग गरिएको संघर्ष समितिका सचिव नेपालले जानकारी दिए ।

‘हामीले सरकारबाट अनुमति पाएको कागजात देखाउ भनेर मागिरहेका छौं, उनीहरुले देखाउन सकिरहेका छैनन्’, सचिव नेपालले भने, ‘कागजात नल्याएसम्म सर्भे गर्न दिँदैनौं । पूर्वपश्चिम रेलमार्ग भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीय बासिन्दाले चरणबद्ध संघर्षका कार्यक्रम गर्दै आएका छन् ।’

बस्तीलाई उजाड बनाएर रेल मार्ग लैजान नदिने र अहिले गरिएको सर्भे नै परिवर्तन गर्नुपर्ने माग उनीहरुले गर्दै आएका छन् । चितवनमा रेलमार्गको प्रस्तावित रुट भरतपुर महानगरपालिकाको वडा नं ८, ७ र ४ हुँदै नवलपरासीतर्फ जानेछ ।

यसअघि, भरतपुर महानगरपालिकाको पहलमा महानगरपालिकामा नै संघर्ष समिति र रेल विभाग तथा अन्य सरोकारवाला सरकारी निकायहरुका बीचमा छलफलसमेत गरिएको थियो ।

त्यसबेला रेलमार्गको अहिले गरिएको सर्भेको रुट परिवर्तन गरेर बस्तीलाई कम क्षति गराउने विकल्पमा जाने सहमति भएको थियो । तर, अहिले फेरि रेलमार्गका नाममा सर्भे थालिएपछि यहाँका स्थानीयहरु सशंकित बनेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?