विश्वविजेता अर्जेन्टिनासामु ‘डार्क हर्स’ क्यानडाको चुनौती

विश्वविजेता अर्जेन्टिनासामु ‘डार्क हर्स’ क्यानडाको चुनौती

अर्थ चौतारी

विश्वविजेता अर्जेन्टिनासामु ‘डार्क हर्स’ क्यानडाको चुनौती

A A- A+

काठमाडौँ । विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिता ‘कोपा–अमेरिका’को ४८औँ संस्करणमा बुधबार बिहान पहिलो सेमिफाइनल खेल खेलिँदैछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार, बिहान ५ः४५ बजे सुरु हुनेछ । विश्व फुटबलमा क्यानडाभन्दा अर्जेन्टिना निकै बलियो टोली हो । यद्यपि, जारी प्रतियोगितामा क्यानडा पनि एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा पुगेको हो । इतिहास आफ्नो ठाउँमा छ तर, वर्तमानमा अर्जेन्टिनाका लागि क्यानडा सहज प्रतिद्वन्द्वी भने पक्कै होइन ।

अझ रमाइलो पक्ष त के हो भने, कोपा–अमेरिकाको जारी संस्करणमा अर्जेन्टिना र क्यानडा एउटै समूहबाट अगाडि बढेका हुन् । प्रारम्भिक चरणमा यी दुवै टोली समूह ‘ए’ मा रहेका थिए । त्यो समूहबाट अर्जेन्टिना पहिलो र क्यानडा दोस्रो हुँदै नकआउट चरणमा पुगेका हुन् ।

74165450007-getty-images-2157921773

समूहगत चरणमा अर्जेन्टिनाले आफूले खेलेको तीनवटै खेलमा जित हात पारेको थियो । अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा क्यानडालाई नै २–० गोलले हराएको थियो । अर्जेन्टिनाले दोस्रो खेलमा भने चिलीमाथि १–० गोलको जित हात पारेको थियो ।

आफ्नो तेस्रो खेलमा अर्जेन्टिनी टोलीले पेरुमाथि २–० गोलको जित हात पारेको थियो । समूहगत चरणको खेलमा अर्जेन्टिनाले कुल पाँच गोल गरेको थियो भने एक गोल पनि खाएको थिएन । यो तथ्याङ्कले भने वर्तमान समयमा पनि अर्जेन्टिनालाई बलियो देखाउँछ ।

अर्कोतिर, क्यानडाले समूहगत चरणमा आफूले खेलेको तीनमध्ये एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको थियो । क्यानडा आफ्नो पहिलो खेलमा अर्जेन्टिनासँग ०–२ गोलले पराजित भएको थियो ।

क्यानडाले आफ्नो दोस्रो खेलमा भने पेरुमाथि १–० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको थियो । तेस्रो खेलमा क्यानडाको टोली चिलीसँग गोलरहित बराबरीमा रोकिएको थियो । क्यानडाले समूहगत चरणमा एक गोल गरेको थियो भने दुई गोल खाएको थियो ।

JLM_6827

प्रतियोगिताको क्वार्टरफाइनलमा भने अर्जेन्टिना र क्यानडा दुवैले आ–आफ्नो खेल जित्न पेनाल्टी सुटआउटको सहारा लिनु परेको थियो । क्वार्टरफाइनल चरणमा अर्जेन्टिनाले इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको थियो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो ।

क्याडनाले भने क्वार्टरफाइनल खेलमा बलियो भेनेजुएलालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजयको स्वाद चखाएको थियो । यी दुई टोलीबिचको निर्धारित समयको खेल पनि १–१ गोलको बराबरीमा सकिएको थियो ।

स्मरण रहोस्, भेनेजुएला समूह ‘बी’ बाट तीनवटै खेल जित्दै अन्तिम आठमा पुगेको टोली थियो । त्यसैले क्वार्टरफाइनलमा भेनेजुएलालाई हराएपछि क्यानडाको मनोबल निकै बढेको छ । सेमिफाइनल खेलमा अर्जेन्टिनाले पनि क्यानडाको यो उपलब्धिलाई पक्कै बेवास्ता गर्ने छैन ।

विश्व फुटबल महासंघ (फिफा)द्वारा घोषित पछिल्लो वरीयतामा भने अर्जेन्टिनाभन्दा क्यानडा निकै पछाडि रहेको छ । पछिल्लो फिफा वरीयतामा अर्जेन्टिना पहिलो स्थानमा आसीन छ । क्यानडा भने वरीयताको ४८औँ स्थानमा छ ।

01j29nw2rtzg5mz71epk

कोपा–अमेरिका फुटबलको इतिहासमा अर्जेन्टिना सबैभन्दा सफल राष्ट्र हो । कोपा–अमेरिकामा अर्जेन्टिनाको यो ४४औँ सहभागिता हो । अर्जेन्टिनाले हालसम्म सर्वाधिक १५ पटक कोपा–अमेरिकाको उपाधि चुमिसकेको छ ।

अर्जेन्टिनाका अतिरिक्त उरुग्वेले मात्र १५ पटक उपाधि जित्न सकेको छ । अर्जेन्टिनाले सन् १९२१ मा पहिलो पटक उपाधि जितेको थियो । अन्तिम पटक भने अर्जेन्टिना सन् २०२१ मा च्याम्पियन बनेको थियो । यसका अतिरिक्त अर्जेन्टिना १४ पटक उप–विजेता पनि बनेको छ ।

यसको विपरीत, क्यानडा भने कोपा–अमेरिका फुटबलमा नितान्त नयाँ टोली हो । क्यानडाको यो पहिलो सहभागिता हो । पहिलो सहभागितामै सेमिफाइनलमा स्थान पक्का गरेर क्यानडाले प्रतिद्वन्द्वीलाई आफूसँग सचेत रहन गतिलो सन्देश पनि दिएको छ ।

कोपा–अमेरिकासँगै अर्जेन्टिना विश्वकपको पनि सफल टोली हो । अर्जेन्टिनाले हालसम्म तीनपटक फिफा विश्वकपको उपाधि चुमिसकेको छ । समकालीन विश्व फुटबलका महान् खेलाडी लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना कोपा–अमेरिकासँगै विश्वकपको पनि साबिक विजेता राष्ट्र हो ।

अर्जेन्टिना र क्यानडाबिच अन्तर्राष्ट्रिय फुटबलमा हालसम्म दुई खेलमात्र खेलिएको छ । ती दुवै खेलमा अर्जेन्टिनाले क्यानडालाई हराएको छ । सन् २०१० को मे २४ मा खेलिएको खेलमा अर्जेन्टिनाले क्यानडालाई ५–० गोलले हराएको थियो । सन् २०२४ को जुन २० मा खेलिएको खेलमा पनि अर्जेन्टिनाले क्यानडालाई २–० गोलले पराजित गरेको थियो ।

जारी कोपा–अमेरिकामा अर्जेन्टिनाका लाउटारो मार्टिनेज सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पहिलो स्थानमा आसीन छन् । उनले टोलीका लागि चार गोल गरिसकेको छन् । कोपा–अमेरिकाको जारी संस्करणमा अर्जेन्टिना लियोनल स्कोलोनीको प्रमुख प्रशिक्षकत्वमा रहेको छ ।

मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनी टोलीमा लुकास मार्टिनेज, फ्रान्को अर्मानी (गोलरक्षक), गोन्जालो मोन्टियल, जर्मन पेजेल्ला, रोड्रिगो डी पल, जुलियन अल्भारेज, एन्जल डी मारिया, क्रिस्टियन रोमेरो, निकोलस गोन्जालेज, निकोलस ओटामेन्डीलगायतका प्रभावशाली खेलाडी छन् ।

यसैगरी जारी कोपा–अमेरिकामा क्यानडाको टोली जेसी मार्सको प्रशिक्षकत्वमा रहेको छ । क्यानडाका कप्तान अलफोन्सो डेभिस हुन् । क्यानडाको टोलीमा एलिस्टियर जोन्सटन, कमाल मिल्लर, जोल वाटरम्यान, सामुएल पिएट्टी, जोनाथन डेभिड, टम म्याकगिल, अली अहमदलगायतका खेलाडी छन् । क्यानडाका लागि जोनाथन डेभिड र ज्याकोब साफेलबर्गले एक–एक गोल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?