प्रधानमन्त्री ओली र भारतीय मन्त्री खट्टरबीच भेटवार्ता, जलविद्युत सहकार्य विस्तारमा जोड

प्रधानमन्त्री ओली र भारतीय मन्त्री खट्टरबीच भेटवार्ता, जलविद्युत सहकार्य विस्तारमा जोड

अर्थ चौतारी

प्रधानमन्त्री ओली र भारतीय मन्त्री खट्टरबीच भेटवार्ता, जलविद्युत सहकार्य ...

A A- A+

काठमाडौँ। नेपाल भ्रमणमा रहेका भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार शिष्टाचार भेट गरेका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध सुदृढ पार्दै जलविद्युत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।

‘दुई नेताले नेपाल–भारतबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध पुनः पुष्टि गर्दै जलविद्युत क्षेत्रमा सहकार्य विस्तार गर्ने उपायहरूबारे छलफल गरेका थिए,’ काठमाडौँस्थित भारतीय दूतावासले सामाजिक सञ्जालमा लेखेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर मंगलबार खट्टर नेपाल आएका हुन्। खड्का र खट्टरले नेपाल–भारत ऊर्जा क्षेत्रीय सहकार्यसम्बन्धी द्विपक्षीय बैठकको संयुक्त अध्यक्षता गरेका थिए।

दुवै मन्त्रीहरूको उपस्थितिमा मंगलबार नेपाल विद्युत प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेशन लिमिटेडबीच संयुक्त लगानी कम्पनी गठन गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। यी कम्पनीहरू इनरुवा–न्यु पुर्णिया र दोदोहरा–बरेली गरी दुईवटा उच्च क्षमताका ४०० केभी डबल–सर्किट प्रसारण लाइन निर्माण गर्नेछन्।

मन्त्री खट्टरले भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत अवलोकनसमेत गरेका थिए। यस अवसरमा ऊर्जामन्त्री खड्का र भारतीय विद्युतमन्त्री खट्टरले आयोजनाको ‘युनिट–२’ को संयुक्त रुपमा उद्घाटन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?