परशुराम नगरपालिकाले प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि उपलब्ध गरायो शैक्षिक ऋण

परशुराम नगरपालिकाले प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि उपलब्ध गरायो शैक्षिक ऋण

अर्थ चौतारी

परशुराम नगरपालिकाले प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि उपलब्ध ...

A A- A+

काठमाडौं, ७ फागुन । डडेल्धुराको परशुराम नगरपालिकाले प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि ३० जना विद्यार्थीलाई शैक्षिक ऋण उपलब्ध गराउने भएको छ । नगरपालिकाको शैक्षिक ऋण निर्देशिका २०८१ बमोजिम शिक्षा समितिको सिफारिसअनुसार ३० जनालाई शैक्षिक ऋण उपलब्ध गराइने भएको हो । शैक्षिक ऋण प्राप्त गर्ने विद्यार्थीहरुले मञ्जुरीनामामा हस्ताक्षर गर्ने परिवारका सदस्य लिई १५ दिनभित्र नगरपालिकाको कार्यालयमा उपस्थित हुन भनिएको छ । नगरभित्रका विद्यार्थीलाई ५० हजारदेखि ५ लाखसम्म ऋण उपलब्ध गराइएको छ ।

नगरप्रमुख भरत बडायर जोशीका अनुसार शैक्षिक ऋण दिँदा अध्ययन गरिरहेको भन्दा तल्लो तहको सर्टिफिकेट धितो राखिन्छ । यसरी नगरले उपलब्ध गराएको ऋणमा कुनै व्याज लाग्ने छैन । विद्यार्थीले आफ्नो अध्ययनको अन्तिम वर्ष पूरा गरेको चार वर्षभित्र शैक्षिक ऋण तिरिसक्नुपर्ने छ । चार किस्तामा ऋण तिर्न सकिने व्यवस्था मिलाइएको पनि नगरप्रमुख जोशीले बताए ।

‘हामीले आवेदन परेको मध्यबाट ३० जनालाई शैक्षिक ऋण उपलब्ध गराउने निर्णय गरेका छौं । अध्ययनरत संस्थामा तिर्नुपर्ने शुल्कको आधारमा उनीहरुलाई कति ऋण उपब्ध गराउने भनी निर्धारण गरिएको हो । यसरी शैक्षिक ऋण लिँदा कुनै व्याज तिर्नुपर्दैन । अध्ययन सकिएको अन्तिम वर्षदेखि चार वर्षभित्र ऋण तिरिसक्नुपर्ने छ । विद्यार्थीले अध्ययन गरिरहेको तहभन्दा तल्लो तहको सर्टिफिकेट धितो राखेर ऋण दिइन्छ,’– रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा नगरप्रमुख जोशीले भने ।

जोशी २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट नगरप्रमुखमा निर्वाचित भएका थिए । जोशीले त्रिचन्द्र कलेजबाट फिजिक्समा स्नातक र चीनबाट एड्मोस्फेरिक फिजिक्समा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने उनको चुनावी एजेण्डा नै रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?