नेपालमा बाढी चल्दा भारतमा अत्यास, २४ घण्टे क्याम्प लगाउन निर्देशन

नेपालमा बाढी चल्दा भारतमा अत्यास, २४ घण्टे क्याम्प लगाउन निर्देशन

अर्थ चौतारी

नेपालमा बाढी चल्दा भारतमा अत्यास, २४ घण्टे क्याम्प लगाउन ...

A A- A+

काठमाडौं – दुई दिनदेखि परिरहेको अविरल वर्षाका कारण धनजनको क्षति भएपछि भारतमा अत्यास बढेको छ । बाढी चलेर नेपालका नदीको सतहले खतरातह पार गरेपछि विहारको जलसंशाधन विभागले सबै कर्मचारीहरूको बिदा नै रद्द गरिदिएको छ ।

२७ नोभेम्बर (बिहीबार) देखि नेपालमा निरन्तर अत्यधिक एवम्‌ अप्रत्याशित वर्षा जारी रहेकोले आउँदो २४ घण्टाभित्र नेपाल उद्‌गम रहेका गण्डकी, कोशी र महानन्दा लगायत नदीमा अत्यधिक जलप्रवाह हुनसक्ने सो विभागले जनाएको छ ।

बाढीको जोखिम बढेपछि विभागले उच्चस्तरीय बैठकमार्फत स्थितिको गम्भीरतालाई मध्यनजर गर्दै पूर्वतयारीको स्थिति र थप आवश्यक निर्णय लिएको सो विज्ञप्तिमा उल्लेख छ । अतिसम्वेदनशील तटबन्ध र संरचनाको सुरक्षा निम्ति आगामी २४ घण्टासम्म क्याम्प राखेर अलर्ट रहन पनि निर्देश गरेको छ ।

नेपाल र तिब्बत उद्गमविन्दु भएका नदीले तल्लो तटीय क्षेत्र भारतमा बर्खायाममा वर्षेनी वितण्डा मच्चाउने गर्छ । कुल ४५ हजार किलोमिटर लामो नेपालका ६ हजार नदीनालाको पानी भारतको विहार र उत्तर प्रदेश हुँदै गङ्गा नदीमा मिसिएर बङ्गालको खाडीमा पुग्छ ।

भारतलाई सबैभन्दा बढी दुःख नेपालको सप्तकोशी नदीले दिन्छ । कोशी नदी चतरा हुँदै भारततिर लाग्छ । विहारको भागलपुरस्थित कोटशीलाघाटमा पुगेर गंगा नदीमा मिसिन्छ । जलप्रवाह अर्थात पानी बग्ने हिसाबले सप्तकोशी नदी नेपालको सबैभन्दा ठूलो नदी हो ।

सप्तगण्डकी नदीलाई देवघाटमा त्रिशुली र कालीगण्डकी नदी मिसिएर अघि बढ्दा नारायणी नदी भनिन्छ । नेपाल–भारत सीमा भैंसेलोटन हुँदै सो नदी भारततर्फ बग्छ ।

भैंसेलोटनबाट अघि बढेको नदीलाई भारतीयहरुले गण्डक नदी भन्छन् । हाजीपुर अर्थात हरिहर क्षेत्रमा पुगेपछि गण्डक नदी गंगामा गएर मिसिन्छ । सप्तकर्णाली नदी नेपाल र भारतको सीमामा रहेको कटर्नीयाघाटबाट भारततर्फ लाग्छ ।

अविरल वर्षाका कारण नेपालका यी सबै नदीमा जलसतह बढेको छ । कोशी नदीले मात्रै १० स्टेशनमा खतराको तह पार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?