ओलीको जवाफ : दमक भ्यू टावरको लगानीलाई बालुवामा पानी हालेको नभनौँ

ओलीको जवाफ : दमक भ्यू टावरको लगानीलाई बालुवामा पानी हालेको नभनौँ

अर्थ चौतारी

ओलीको जवाफ : दमक भ्यू टावरको लगानीलाई बालुवामा पानी ...

A A- A+

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले दमक बजारनजिकै निर्मित बिजनेस कम्प्लेक्सलाई भ्यू टावर भन्न नहुने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा झन्डै दुई अर्बमा निर्मित संरचनाबारे प्रश्न उठेपछि जवाफमा यसो भनेका हुन् ।

‘व्यापारिक गतिविधिलाई सहयोग पुर्‍याउने उदेश्यले झापाजिल्लाको दमक नगरपालिका वडा नं. ३ मा करिब ५ विगाह क्षेत्रफलको जग्गामा दमक बिजनेस कम्प्लेक्सको रूपमा यस भवनको परिकल्पना गरिएको थियो’, उनले भने, ‘यो योजनाको नाम दमक भ्यूटावर भए पनि प्रमुख रूपले व्यापारिक तथा पर्यटकीय दृष्टिकोणले मिश्रित हिसाबले उपयोग गर्न सकिने गरी डिजाइन भएको छ ।’

उनले टावरको लागत १ अर्ब ७९ करोड ४८ लाख बताए । ‘सञ्चालन कार्यविधि निर्माण गरी यसलाई छिट्टै सञ्चालनमा ल्याउने सरकारको तयारी छ। यसभित्र व्यापारिक पसलहरू, कर्पोरेट अफिसहरू, सेमिनार हल, प्रदर्शनीकक्ष, विभिन्न स्थानीयजातिको संस्कृतिसँग सम्बन्धित संग्र्रहालय समेत रहनेगरि सञ्चालनमा ल्याइनेछ’, उनले भने, ‘निकट भविष्यमा यस क्षेत्र वरपर व्यवस्थित बस्ती विकासको माध्यमबाट स्थानीय तथा बाह्य क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिइएको छ।’

उनले दमक बजार, मोरङको उर्लाबारी, मधुमल्लालगायतबाट सहज आवतजावत हुने गरी सडक सञ्जालविकास गरिने पनि बताए । ‘आगामी दिनमा यस भवनको व्यापारिक उपयोग तथा सञ्चालनबाट यसको लागत असुली हुनाका साथै दीर्घकालीन रूपमा यसले स्थानीय रोजगारी सिर्जना गर्नेछ । यो निर्माणलाई नकारात्मक प्रचार गरेर बालुवामा पानी हालियो भन्ने कुरा यथार्थमा आधारित छैनन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?