गुगल, मेटा, एप्पल, नेटफ्लिक्ससहित १८ कम्पनी नेपालमा दर्ता, तिरे ३६ करोड कर

गुगल, मेटा, एप्पल, नेटफ्लिक्ससहित १८ कम्पनी नेपालमा दर्ता, तिरे ३६ करोड कर

अर्थ चौतारी

गुगल, मेटा, एप्पल, नेटफ्लिक्ससहित १८ कम्पनी नेपालमा दर्ता, तिरे ...

A A- A+

काठमाडौं । नेपालमा सेवा दिइरहेका तर दर्ता नभएका विदेशी कम्पनीबाट सरकारले करिब ३६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गएको आर्थिक वर्ष २०८०/०८१ मा ठूला करदाता कार्यालयमा डिजिटल सेवा कर (डिजिटल सर्भिस ट्याक्स) तिर्ने गरी दर्ता भएका १८ कम्पनीले सरकारलाई उक्त राजस्व तिरेका हुन् ।

ठूला करदाता कार्यालयका अनुसार, नेपालमा विद्युतीय माध्यमबाट शुल्कसहितको सेवा दिइरहेका र डिजिटल सेवा कर तिर्न दर्ता भएका कम्पनीको संख्या १८ पुगेको हो । ती कम्पनीले गएको आर्थिक वर्षमा ३५ करोड ८२ लाख ५० हजार रुपैयाँ कर सरकारलाई बुझाएका हुन् ।

डिजिटल सेवा करसम्बधी कार्यविधि, २०७९ अनुसार नेपालमा इन्टरनेटका माध्यमबाट शुल्कसहितको सेवा दिने र २० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्ने विदेशी कम्पनी ठूला करदाता कार्यालयमा दर्ता हुनुपर्छ । त्यस्ता कम्पनीले नेपालबाट गरेको आफ्नो आम्दानीको २ प्रतिशत कर सरकारलाई तिर्नुपर्छ । सोहीअनुसार ती कम्पनीले कर तिरेका हुन् ।

एडोबी, नेटफ्लिक्स, जोहो, गुगल डिजिटल, प्रोमेट्रिक जापान, इब्को इन्टरनेसनल, एसएससीए, पियर्सन एजुकेसन, एनसीएच, एप्पल डिस्ट्र्ब्यिुसनलगायत कम्पनी गएको आर्थिक वर्ष नेपालमा दर्ता भएका उक्त कार्यालयका प्रमुख कर प्रशासक जनकराज शर्माले जानकारी दिए । त्यसअघि नै गुगल एसिया, एनसीएच पियर्सन, लिंक्डइन सिंगापुर, मेटा र माइक्रोसफ्ट नेपालमा दर्ता थिए ।अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा दर्ता रहेका कम्पनीबाट सरकारले करिब १० करोड रुपैयाँ कर प्राप्त गरेको थियो । दर्ता हुने कम्पनीको संख्या वृद्धि हुँदा सरकारले प्राप्त गर्ने राजस्व रकम पनि बढेको उनले जानकारी दिए ।

नेपालबाट गरेको कारोबारका आधारमा कम्पनीले सरकारलाई विवरण दिने र त्यसैको २ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था छ । डिजिटल सेवा करका निम्ति दर्ता हुने कम्पनी नेपालमा कार्यालय नभएका हुन् । नेपालमा दर्ता भएर विदेशी लगानी भित्र्याएर कारोबार गर्ने कम्पनीका हकमा भने यो कर नभई प्रचलित कानुनानुसारकै व्यवस्था लागु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?