जब बुकायो साकाको खुसीयाली मनाउने शैलीले २८ वर्षअघिको घटना सम्झायो

जब बुकायो साकाको खुसीयाली मनाउने शैलीले २८ वर्षअघिको घटना सम्झायो

अर्थ चौतारी

जब बुकायो साकाको खुसीयाली मनाउने शैलीले २८ वर्षअघिको घटना ...

A A- A+

काठमाडौँ । ५६ वर्षदेखि युरोकपमा सहभागिता जनाउँदै आए पनि इङ्ल्यान्डले हालसम्म उपाधिको स्वाद चाख्न पाएको छैन । सन् १९६८ मा सम्पन्न तेस्रो संस्करणदेखि इङ्ल्यान्डले युरोकपमा सहभागिता जनाउँदै आएको छ ।
विश्व फुटबलको दोस्रो ठूलो प्रतियोगितामा युरोकपमा इङ्ल्यान्ड फाइनलभन्दा अगाडि बढ्न सकेको छैन । इङ्ल्यान्ड अघिल्लो संस्करणको फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित भएको थियो ।

यसपटक पनि लयमा देखिएको इङ्ल्यान्ड प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ । क्वार्टरफाइनल खेलमा इङ्ल्यान्डले स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ५–३ गोलले हरायो । समूहगत चरणमा पनि अपराजित रहँदै इङ्ल्यान्ड सेमिफाइनलमा पुगेको हो ।

Nabil bank
यसपटक इङ्ल्यान्डको प्रदर्शनबाट युवा समर्थक बढी नै उत्साही र आशाबादी छन् । इङ्ल्यान्डका लागि यो संस्करणको कथा सन् १९९६ को संस्करणसँग धेरै हदसम्म मिल्दो–जुल्दो छ । सन् १९९६ को क्वार्टरफाइनलमा पनि इङ्ल्यान्ड पेनाल्टी सुटआउटमै विजयी हुँदै सेमिफाइनलमा पुगेको थियो ।

त्यतिबेला इङ्ल्यान्डले क्वार्टरफाइनलमा बलियो स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको थियो । ठुला प्रतियोगिताको पेनाल्टी सुटआउटमा इङ्ल्यान्डले हालसम्म केवल दुईपटक आफूले गरेको सबै प्रहारलाई गोलमा परिणत गर्न सकेको छ ।

दोस्रो पटक, शनिबार राति स्विट्जरल्यान्ड विरुद्धको क्वार्टरफाइनलमा र त्यसअघि पहिलो पटक, सन् १९९६ को युरोकपको क्वार्टरफाइनलमा स्पेनविरुद्ध । त्यतिबेला इङ्ल्यान्डको टोलीमा रहेका खेलाडी स्टुअर्ट पियर्स र वर्तमान टोलीमा रहेका खेलाडी बुकायो साकाको कथा पनि मिल्दो–जुल्दो छ ।

सन् १९९६ को क्वार्टरफाइनलमा तेस्रो नम्बरमा पेनाल्टी प्रहार गर्न आएर गोल गरेका थिए भने शनिबार राति साकाले पनि त्यही इतिहास दोहो-याए । २८ वर्षअघि गोल गर्दा स्टुअर्टले जसरी खुशी मनाएका थिए शनिबार राति साकाले पनि त्यसरी नै आफ्नो खुशी ब्यक्त गरे ।

त्यतिबेला स्टुअर्टको खुसीयाली मनाउने शैलीलाई युवा समर्थकले जसरी निकै मन पराएका थिए त्यसरी नै अहिले साकाको खुसीयाली मनाउने शैलीलाई पनि युवा समर्थकले निकै रुचाएका छन् । यी दुबै खेलाडीको जीवनसँग एउटा नमिठो संयोग पनि जोडिएको छ ।

यी दुबै खेलाडीले आफ्नो सक्रिय खेलजीवनमा नमिठो क्षणको सामना गरेका थिए । खासमा स्टुअर्ट पियर्सले सन् १९९० को विश्वकपको सेमिफाइनलमा पेनाल्टी प्रहारको अवसरलाई खेर फालेका थिए । सोही कारणले इङ्ल्यान्डको टोली तात्कालीन पश्चिम जर्मनीसँग पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित भएको थियो ।

स्टुअर्टकै कारण त्यतिबेला इङ्ल्यान्डका लाखौँ समर्थक निराश बनेका थिए । त्यसैले त्यसको ६ वर्षपछि सन् १९९६ को युरोकपको क्वार्टरफाइनलमा स्पेनविरुद्ध पेनाल्टी सुटआउटमा गोल गरेपछि स्टुअर्ट पियर्स निकै खुसी देखिएका थिए ।

सन् २०२० को युरोकपको फाइनलमा साकाले स्टुअर्ट पियर्सकै जस्तो गल्ती दोहो¥याएका थिए । साकाले इटालीविरुद्धको फाइनल खेलमा पेनाल्टी प्रहारको अवसरलाई खेर फालेका थिए । उनको त्यही गल्तीका कारण इङ्ल्यान्डको टोली पहिलो पटक युरोकप जित्नबाट चुकेको थियो । फाइनल खेलमा इटाली पेनाल्टी सुटआउटमा ३–२ गोलले विजयी भएको थियो ।

त्यसैले शनिबार राति स्विट्जरल्यान्डविरुद्ध ट्रेन्ट एलेक्जेन्डर अर्नोल्डले निर्णायक गोल गर्नासाथ साका टोलीका साथीसँग खुसीयाली साटासाट गर्नुको सट्टा एक्लै खुसीयाली मनाउन तल्लिन थिए । अर्नोल्डको निर्णायक गोललगत्तै साकाले घुँडा टेकेर हात फैलाउँदै सबैप्रति आभार ब्यक्त गरे ।

त्यसपछि मात्र उनले टोलीका साथीहरुसँग खुसी साटासाट गरेका थिए । साकाको खुसीयाली मनाउने यो शैलीले इङ्ल्यान्डका धेरै समर्थकलाई २८ वर्षअघिको क्षणलाई सम्झाएको थियो । सन् १९९६ को युरोकपको क्वार्टरफाइनलमा स्पेनविरुद्ध खेल्दा स्टुअर्ट पियर्सको मनोदशा पनि ठिक यस्तै थियो ।

‘यो जितले मेरो खेलजीवनमा निकै ठुलो अर्थ राख्छ । सन् २०२० को युरोकपदेखि आफ्नो काँधमा म जुन बोझ बोकेर आइरहेको थिएँ त्यसबाट म धेरै हदसम्म मुक्त भएको छु,’ साका भन्छन्, ‘यो जितले मेरो आत्मविश्वास पनि निकै बढाएको छ ।’

सन् २०२० को फाइनलमा इटालीवरुद्ध पेनाल्टी प्रहारको अवसर खेर फालेपछि साकाले आफ्नै समर्थकबाट जातीय दूब्र्यवहारको सामना पनि गुर्न परेको थियो । त्यसयता पटक–पटक खेल मैदानमा उनीमाथि रंगभेदी ब्यवहार पनि भएको थियो । साकामात्र होइन, मार्कुस रासफोर्ड जाडन सान्चोजस्ता प्रभावशाली खेलाडीले पनि यसको भागिदार बन्नु परेको थियो ।

सन् २०२० को युरोकपको फाइनलमा पेनाल्टी प्रहारको अवसर खेर फाल्दा साका केवल १९ वर्षका थिए । त्यतिबेला उनी पाँचौँ नम्बरमा पेनाल्टी प्रहार गर्न आएका थिए । तर, उनको प्रहारलाई इटालीका गोलरक्षक जियानलुइगी डोनारुमाले विफल पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?